मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

टाटा ग्रुपले ब्याट्री सेल उत्पादन गर्न बेलायतमा ४ अर्ब पाउण्ड लगानी गर्ने

बिहीबार , साउन ४ २०८०
टाटा ग्रुपले ब्याट्री सेल उत्पादन गर्न बेलायतमा ४ अर्ब पाउण्ड लगानी गर्ने

४ अर्ब पाउण्ड लगानी हुने स्टेसअफ आर्ट प्रविधिमा आधारित सो ब्याट्री प्लान्ट बेलायतमा हुनेछ। यसले सवारीसाधनलाई विद्युतीयमा परिणत गर्न ठूलो सहयोग पुग्ने विश्वास चन्द्रशेखरनको छ। 

काठमाडौं- भारतीय व्यावसायिक घराना टाटा समूहले बेलायतमा विद्युतीय सवारीका लागि चाहिने ब्याट्री उत्पादन गर्न ठूलो लगानी गर्ने घोषणा गरेको छ। समूहले बलायतमा गिगाफ्याक्ट्री स्थापना गरेर ब्याट्री सेल उत्पादन गर्न ४ अर्ब पाउण्ड लगानी गर्ने बताएको हो। 

विद्युतीय सवारीतर्फ आक्रामक रुपमा लम्किएको टाटा समूहको उक्त घोषणाले नयाँ आयाम थपेको छ। यसले बेलायतको ग्रिन टेक इकोसिस्टमको विकासमा समेत ठूलो योगदान पुग्ने छ। बेलायतमा स्थापना हुने ब्याट्री प्लान्टले २०२६ देखि ज्यागुअर ल्यान्ड रोभर र टाटा मोटर्सलाई ब्याट्री सेल सप्लाइ गर्नेछ। 

बेलायतसँगै भारतीय समूहको स्वामित्वमा रहेको ज्यागुअर ल्यान्ड रोभरको स्पेनमा बन्ने नयाँ प्लान्टबाट उत्पादन हुने सवारीका लागि समेत ब्याट्री सेल सप्लाइ हुनेछ। 

टाटा ग्रपले बेलायतमा स्थापना गर्न लागेको ब्याट्री प्लान्ट युरोपकै ठूलो हुने टाटा सन्सका अध्यक्ष ए चन्द्रशेखरनले बताएका छन्। ४ अर्ब पाउण्ड लगानी हुने स्टेसअफ आर्ट प्रविधिमा आधारित सो ब्याट्री प्लान्ट बेलायतमा हुनेछ। यसले सवारीसाधनलाई विद्युतीयमा परिणत गर्न ठूलो सहयोग पुग्ने विश्वास चन्द्रशेखरनको छ। 

एउटै परियोजनामा एकैपटक भारतीय कम्पनीबाट बेलायतमा भएको यो लगानी नै सबैभन्दा ठूलो लगानी हो। टाटा समूहले स्टील, पावर, एभिएसन, केमिकल, सफ्टवेयर तथा सेवा क्षेत्रमा लगानी गरेको छ। 

बुधबार टाटा सन्सका अध्यक्ष तथा बेलायती प्रधानमन्त्री ऋषि सुनकबीच भेटसमेत भएको थियो। भेट तथा छलफलपछि सुनकले टाटा समूहले बेलायतमा ब्याट्री सेलको गिगाफ्याक्ट्री स्थापना गर्ने निर्णयको सराहना गरेका थिए। 

टाटा ग्रुपको यो लगानीको निर्णयले बेलायतमा आफ्नो व्यवसाय विस्तारमा नयाँ आयाम थपिएको टाटा सन्सका अध्यक्ष चन्द्रशेखरनको भनाइ थियो। बेलायतमा टाटा समूहअन्तर्गको प्रविधि, सेवा, स्टील, केमिकल तथा अटोमोबाइल क्षेत्रमा लगानी रहेको छ। 

टाटा समूहले भारतमा पनि विद्युतीय कारका लागि आवश्यक पर्ने ब्याट्री उत्पादनमा लगानी गर्ने बताएको छ। टाटाले भारतमै ब्याट्री उत्पादन प्लान्टमा १ अर्ब ६० करोड डलर लगानी गर्ने योजना अघिसारेको छ। 

भारतीय सवारी उत्पादकहरु विद्युतीय सवारीमा केन्द्रित हुन थालेका छन्। हाल भारतको विद्युतीय कार बजारमा टाटा मोटर्सको सबैभन्दा धेरै बजार हिस्सा रहेको छ। टाटा मोटर्सले २०२० मा एसयूभी सेगमेन्टको नेक्सनलाई विद्युतीय भर्सनमा ल्याएको थियो। त्यसपछि कम्पनीले टिगोर र टियागो कारलाई विद्युतीय भर्सनमा ल्याएको थियो। टाटाले पन्च, ह्यारियर, कर्भलगायत विद्युतीय कार बजारमा ल्याउने तयारी गरेको छ। 


प्रकाशित : बिहीबार , साउन ४ २०८००६:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend