मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

भारतीय बजारमा नेपालको बिजुली निर्यात : एकै दिन ९६ पटक मूल्य तलमाथि

बिहीबार , कात्तिक २५ २०७८
भारतीय बजारमा नेपालको बिजुली निर्यात : एकै दिन ९६ पटक मूल्य तलमाथि

नेपालमा अहिले पनि दैनिक ५ सय मेगावाट बिजुली खेर गइरहेको छ। अहिले जडित क्षमता २१ सय मेगावाट पुगेको छ।

काठमाडौं- नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएसँगै एक सातादेखि ३९ मेगावाट बिजुली निर्यात भइरहेको छ। नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत बिक्री गर्न अनुमति पाएको थियो। 

नुवाकोटमा सञ्चालनमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत गृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स)मा बिक्री भइरहेको छ। प्राधिकरणले रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत निर्यात गरिरहेको छ। 

नेपालमा अहिले पनि दैनिक ५ सय मेगावाट बिजुली खेर गइरहेको छ। अहिले जडित क्षमता २१ सय मेगावाट पुगेको छ। नेपाली उपभोक्तालाई महँगोमा बिजुली बिक्री गरेर भारतलाई सस्तोमा दिएको भन्दै प्राधिकरणको आलोचनासमेत भइरहेको छ। यता उद्योगीहरूले पनि बिजुली नपाउँदा डिजेलको प्रयोग गर्न परेको बताउँदै आएका छन्।  

‘भारतको एक्सेन्च बजारमा बिजुलीको मूल्य एकै दिन ९६ पटकसम्म फेरवदल हुन्छ,’ नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले भने। सम्झौता गरेर कुनै कम्पनीको लिँदा मात्रै मूल्य फिक्स हुने नत्र तलमाथि भइरहने भट्टराईले बताए। भारतमा कोइलाको मूल्य बढ्दा एक्सचेन्ज मार्केटमा प्रतियुनिट विद्युतको मूल्य २८ भारतीय रुपैयाँ (भारु)सम्म पुगेको थियो। 

इन्डियन एक्सचेन्ज मार्केटमा विद्युत् बेच्नका लागि हरेक १५ मिनेटमा मूल्य तलमाथि हुन्छ। एकैदिनमा पनि हरेक १५ मिनेटको ९६ वटा ब्लकमा फरक–फरक मूल्य तोकिने हुँदा कुनै ब्लकमा सस्तो र कुनैमा महँगो पर्न जाने प्रवक्ता भट्टराईले बताए। 

गत साता मंगलबार राति १२ बजेबाट ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत निर्यात भएको छ। ‘गत १७ बैशाखबाट आवश्यक परेको बेला आईआईएक्समार्फत प्रतिस्पर्धी दरमा विद्युत निर्यात गरेका हौँ,’ भट्टराईले भने।  

एक्सचेन्ज रेटमा आयात गर्दा र निर्यात गर्दा दुवै रेट तलमाथि हुने गरेको समेत उनले जानकारी दिए। नेपालले औसत प्रतियुनिट ४ रुपैयाँ ३३ पैसामा भारतलाई विद्युत् बेचेको छ। प्राधिकरणले निजी क्षेत्रसँग वर्षायामका लागि प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदयामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ। 

अहिले प्राधिकरणले निजी क्षेत्रसँग वर्षायामको दर अर्थात् ४ रुपैयाँ ८० पैसामा विद्युत् किनिरहेको छ। प्राधिकरणले अहिले किनिरहेको विद्युत्को मूल्य र बेचिरहेको मूल्यको अन्तर मात्रै प्रतियुनिट ४७ पैसा बराबर देखिन्छ।

प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ६९ मेगावाटको मर्स्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युतगृहबाट उत्पादित विद्युतको भारतीय बजारमा बिक्रीको लागि प्रस्ताव गरेको प्रवत्ता भट्टराईले जानकारी दिए। 

नेपाल–भारतबीचको विद्युत व्यापारका लागि लामो समयको प्रयासपछि नेपालको विद्युत भारतीय बजारमा निर्यात सुरु भएसँगै नेपालका जलविद्युत विकासको ठूलो ढोका खुलेको छ। भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालले विद्युत बिक्री भइहेको छ। 

प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धामा पठाइरहेको छ। ‘विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुने हो,’ भट्टराईले भने।  


प्रकाशित : बिहीबार , कात्तिक २५ २०७८१०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend