सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

२१ लाख लागतमा देवघाटमा ढुंगेधारा निर्माण

images
बुधबार, साउन ३ २०८०
images
२१ लाख लागतमा देवघाटमा ढुंगेधारा निर्माण

ढुंगेधारामा तीन किलोमिटर टाढाबाट मुहानको पानी ल्याइएको छ। यो क्षेत्रमा खानेपानीको धारा नहुँदा समस्या भएको थियो।

images
images

भरतपुर- पवित्र धार्मिक तीर्थस्थल देवघाटमा ढुंगेधारा निर्माण गरिएको छ। भरतपुर महानगरपालिका-१ को आँपटारी चोकदेखि देवघाट जाने बाटोको बीच क्षेत्रमा ढुंगेधारा निर्माण गरिएको हो। ढुंगेधारा निर्माण गरिएको ठाउँ मान्छेको मृत्यु भएपछि शव लैजाँदा विश्राम गर्ने स्थल हो।

images
images
images

बागमती प्रदेश सरकारको लगानीमा ढुंगेधारा निर्माण गरिएको हो। आर्थिक वर्ष २०७९/८० को कार्यक्रमअन्तर्गत करिब २१ लाख रूपैयाँको लागतमा ढुंगेधारा निर्माण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन नं १ हेटौँडाका इन्जिनियर हरिराम पौडेलले जानकारी दिए। उनका अनुसार कार्यालयले हेटौँडा र चितवन दुवै जिल्लामा खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्छ।

images
images

ढुंगेधारामा तीन किलोमिटर टाढाबाट मुहानको पानी ल्याइएको छ। यो क्षेत्रमा खानेपानीको धारा नहुँदा यात्रु र वन्यजन्तुले सहजरुपमा पानी खान पाएका थिएनन्। 'यो बाटो प्रयोग गर्ने बटुवा, मर्निङ वाकमा जाने स्थानीय र मलामीलाई खानेपानीको अभाव थियो', इन्जिनियर पौडेलले भने, 'ढुंगेधारा निर्माणपछि बाँदरलगायतका वन्यजन्तुले पनि पानी खान पाउनेछन्।'

images
images

आँपटारी चोकदेखि देवघाटसम्मको बाटोमा कहीँ पनि पानीको व्यवस्था नभएका कारण ढुंगेधारा निर्माण गरिएको उनले बताए। ढुंगेधारा निर्माणपछि यात्रुले मूलको पानीले प्यास मेटाउन पाउने छन् भने देवघाटको पवित्र जल लैजान पाउने छन्। ढुंगेधारामा मूर्ति निर्माणलगायतका केही काम निर्माण गर्न बाँकी रहेको उनले बताए। ढुंगेधारामा काठमाडौंबाट ढुंगा ल्याइएको हो भने मकवानपुरका कालीगढले काम गरेका हुन्। इन्जिनियर पौडेलका अनुसार यो चितवनकै पहिलो र एकमात्र ढुंगेधारा हो।

खानेपानी तथा सरसफाइ डिभिजन नं १ हेटौँडाका कार्यालय प्रमुख सन्तोषकुमार श्रेष्ठले प्रदेश सरकारले नियमितरुपमा ढुंगेधारा निर्माणको कामलाई अघि बढाएको बताए। उनले यो आवमा पनि मागका आधारमा विभिन्न क्षेत्रमा ढुंगेधारा निर्माण गरिने जानकारी दिए। कार्यालयले भक्तजनलाई नै लक्षित गरेर आँपटारी र देवघाटमा सार्वजनिक शौचालय निर्माण गरिसकेको बताए।

देवघाट क्षेत्रमा नियमितरुपमा मर्निङ वाक गर्दै आएका युवा व्यवसायी चन्दन अग्रवालले ढुंगेधारा निर्माणपछि निकै खुसी लागेको बताए। उनले भने, 'यो क्षेत्रमा पानीको निकै समस्या थियो, ढुंगेधारा निर्माणपछि पानीको समस्या समाधानसँगै आकर्षकसमेत देखियो।' उनले ढुंगेधाराले नेपालको परम्परा र संस्कृति जोगाउने भन्दै यसले देवघाटधाममा आउने भक्तजनलाई आनन्द प्रदान गर्ने बताए। योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका अध्यक्ष नवराज ढकालले  ढुंगेधाराले देवघाटको सांस्कृतिक महत्वलाई थप टेवा प्रदान गरेको बताए। रासस


प्रकाशित : बुधबार, साउन ३ २०८००५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend