काठमाडौं- आर्थिक वर्ष २०७९/८० मा नेपालले १६ खर्ब १२ अर्ब रूपैयाँको वस्तु आयात गरेको छ।
भन्सार विभागले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा १६ प्रतिशतले घटेको हो।
२०७८/७९ मा नेपालले १९ खर्ब २० अर्ब रूपैयाँको आयात भएको थियो। एक वर्षमा १६ प्रतिशतले आयात घटेको ४८ वर्षको इतिहासमा पहिलोपटक हो। नेपाल राष्ट्र बैंकले संकलन गरेको तथ्यांकअनुसार हालसम्म नेपालमा सबैभन्दा धेरै १५ प्रतिशतले आयात घटेको थियो। कोरोना महामारी सुरु भएको वर्ष २०७६/७७ मा १५ प्रतिशतले आयात घटेको थियो।
तर गएको आर्थिक वर्षमा नेपालमा हालसम्मकै उच्च दरले आयात घटेको हो।

२०४६ सालपछि नेपालमा उच्चदरमा ३७ प्रतिशतले वृद्धि भएको थियो। २०४६ पछि पाँच वर्षमात्र आयात ऋणात्मक भएको थियो। २०५४, ५५, २०५८, २०७२ र २०७६ मा भन्दा गएको वर्ष हालसम्मकै उच्च दरले आयात ऋणात्मक भएको छ।
आयात ऋणात्मक हुनुका पछाडि आयातमा लगाइएको सीमित प्रतिबन्धलाई कारण देखाउने गरिएको छ। जबकी गएको वर्षको छ महिनामात्र त्यस्तो प्रतिबन्ध थियो।
आयात प्रतिबन्धका नाममा फस्टाएको तस्करी, भन्सार विभागले लक्ष्यको ५८.५ प्रतिशतमात्र उठायो राजस्व
भन्सारका अधिकारीहरूका अनुसार प्रतिबन्धको बहाना बनाएर बढेको तस्करीले आयात खस्किएको देखिएको हो। आयात खस्किँदा राजस्व पनि घटेको छ। लक्ष्य भेटाउनेभन्दा पनि उल्टो २२ प्रतिशतले ऋणात्मक भएको छ।
त्यस्तै निर्यात पनि २१ प्रतिशतले घटेको छ। २०७८/७९ मा २ खर्ब पुगेको निर्यात गत वर्ष घटेर फेरि १ खर्ब ५७ अर्बमा सीमित भएको छ। नेपालबाट निर्यात हुने तेललगायतका वस्तुमा भारतले नीति परिवर्तन गरेपछि प्रभावित भएको हो।