आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

६० मेगावाट क्षमताको माथिल्लो तमोर 'ए' को लागत कति?

मंगलबार, साउन २ २०८०
६० मेगावाट क्षमताको माथिल्लो तमोर 'ए' को लागत कति?

आयोजनाको कुल वार्षिक उर्जा उत्पादन ३३३.८२२ गिगावाट घण्टा रहेको छ। जसमा सुख्खायाममा  १००.३७ गिगावाट र वर्षा यामका २३३.५१५ गिगावाट हुने रिपोर्टमा उल्लेख छ। 

काठमाडौं- ताप्लेजुङमा निर्माण हुने ६० मेगावाट क्षमताको माथिल्लो तमोर 'ए' जलविद्युत् आयोजना निर्माणका लागि वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक गरेको छ।

आयोजनाको प्रस्तावक युनियन हाइड्रोपावर रहेको छ। आयोजना ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नम्बर (साबिकको ओलाङचुङगोला गाउँ विकास समिति) मा कञ्चनजंघा संरक्षण क्षेत्रभित्र पर्दछ।

आयोजना क्षेत्रको टोपोग्राफिक सर्वेक्षण सम्पन्न भइसकेको छ। आयोजनाको अध्ययनअनुसार यस आयोजनाको ग्रस हेड ९६८ मिटर रहेको छ। प्रस्तावित आयोजनाको हेडवर्क्स क्षेत्रअनुसार जलविज्ञान विश्लेषण गर्दा डिजाइन जलप्रवाह ७.५ घन मिटर प्रतिसेकेण्ड र आयोजनाको जडित क्षमता ६० मेगावाट हुने देखिएको रिपोर्टमा उल्लेख छ।

आयोजनाको हेडवर्क्स र विद्युतगृहबीचको पानी सिँचाइलगायतको कुनै पनि कार्यमा प्रयोग नहुने भएको छ। यस आयोजनाको माथिल्लो तटीय क्षेत्रमा कुनै पनि जलविद्युत् आयोजना प्रस्ताव गरिएको छैन र तल्लो तटीय क्षेत्रमा दुई जलविद्युत् आयोजना (सुपर तमोर जलविद्युत् आयोजना र याङमा खोला जलविद्युत् आयोजना) प्रस्तावित रहेको छ।

यस जलविद्युत् आयोजना निर्माणका लागि आयोजनास्थलमा कर्मचारी आवास, निर्माण संरचनाहरु, मर्मत व्यवस्था, निर्माण सामाग्री भण्डारण गर्ने ठाउँ, ऊर्जा व्यवस्था, सञ्चार प्रणाली, जग्गा प्राप्तिजस्ता कार्यहरु पूरा गर्न आवश्यक रहेको रिपोर्टमा उल्लेख छ।

आयोजनाको लागत आईडीसीबाहेकको ११ अर्ब ५७ करोड ७० लाख रूपैयाँ र आईडीसीसहितको लागत १२ अर्ब ८५ करोड ९० लाख रूपैयाँ हुने अनुमान गरिएको छ। आयोजनाको लागतमा प्रतिमेगावाट २२ करोड २१ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ। आयोजनाको निर्माण अवधि ३ वर्ष हुनेछ।

आयोजनाको कुल वार्षिक उर्जा उत्पादन ३३३.८२२ गिगावाट घण्टा रहेको छ। जसमा सुख्खायाममा १००.३७ गिगावाट र वर्षा यामका २३३.५१५ गिगावाट हुने रिपोर्टमा उल्लेख छ। 

आयोजनामा टर्वाइन संख्या ३ वटा छ। प्रतिटर्वाइन २० मेगावाट क्षमताको जडान हुने छ। आयोजनाको काम गर्दा १ हजार ८ सय ५५ रुख कटान हुनेछ। आयोजनास्थल वन क्षेत्र स्थायी ११.५९२  हेक्टर र अस्थायी ७.५८२ प्रयोग हुनेछ।


प्रकाशित : मंगलबार, साउन २ २०८०१०:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend