आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

६१४ मेगावाट विद्युत उत्पादन गर्न विभिन्न आयोजनामा १ खर्ब ११ अर्बभन्दा बढी लगानी प्रतिबद्धता

निर्माणको चरणमा १६ सय मेगावाट

बुधबार, साउन ३ २०८०
६१४ मेगावाट विद्युत उत्पादन गर्न विभिन्न आयोजनामा १ खर्ब ११ अर्बभन्दा बढी लगानी प्रतिबद्धता

काठमाडौं- आर्थिक वर्ष २०७९/८० मा ६१४.३ मेगावाट विद्युत उत्पादनका लागि ४१ वटा कम्पनीमार्फत १ खर्ब ११ अर्ब ६० करोड १० लाख ४ हजार ७ सय ६१ रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। जसमा सबैभन्दा बढी लगानी तामाकोशी जलविद्युत कम्पनी लिमिटेड (तामाकोशी पाँचौँ) जलविद्युत आयोजनामा हुने छ।

तामाकोशी पाँचौँ जलविद्युत आयोजनाको कामका लागि १६ अर्ब ४५ करोड ९८ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। उक्त आयोजनाबाट कुल ९९.८ मेगावाट विद्युत उत्पादन हुने छ। 

दोस्रो धेरै लगानी प्रतिबद्धता कार्बोनलेस इनर्जी फण्ड प्रालिमार्फत आएको छ। यसमार्फत ३०.४ मेगावाट विद्युत उत्पादनका लागि ५ अर्ब ९६ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। 

४० मेगावाट विद्युत उत्पादनकै लागि डायनामिक हाइड्रो इनर्जी प्रालिमार्फत ५ अर्ब ९१ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।

३०.५९ मेगावाट विद्युत उत्पादनका लागि यारु हाइड्रोपावर प्रालिमार्फत ५ अर्ब ८१ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।

३० मेगावाट विद्युत उत्पादनका लागि ट्रष्ट इनर्जी लिमिटेडमार्फत ५ अर्ब ३८ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। 

दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेड (म्याग्दी खोला ए जलविद्युत आयोजना) मा पनि ५ अर्ब १७ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। यसबाट २३.७ मेगावाट विद्युत उत्पादनको लक्ष्य लिइएको छ। 

इसुवा ईनर्जी प्रालि (इसुवा खोला क्यास्केड जलविद्युत आयोजना) मा ५ अर्ब ६ करोडको लगानी प्रतिबद्धता आएको छ। यो आयोजनाबाट ४०.१ मेगावाट विद्युत उत्पादन गरिने छ।

निर्माणको चरणमा १६ सय मेगावाट

पछिल्लो १८ महिनामा २१ वटा हाइड्रोपावरको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टसमेत तयार भइ कतिपयको कामसमेत सुरु भएको छ।

२१ वटा हाइड्रोपावरमा ३ खर्ब २१ अर्ब ८० करोडको लागत अनुमान भएको छ। यी २१ वटा हाइड्रोपावरबाट १६ सय मेगावाटभन्दा बढी विद्युत उत्पादनको लक्ष्य लिएइको छ।

हाल नेपालमा वर्षातमा जडित उत्पादन क्षमता २८ सय पुगेको छ। खपत १७ सय मेगावट मात्रै रहेको छ। नेपाल विद्युत प्राधिकरणले हाल ४५२ मेगावट बिजुली भारतमा निर्यात भइरहेको जनाएको छ। भदौदेखि थप ७५२ मेगावट बिजुली भारत निर्यात हुने छ।


प्रकाशित : बुधबार, साउन ३ २०८००९:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend