सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

बाढीको त्रास : पानी पर्न थालेपछि अत्यावश्यक सामान पोको पार्न थाल्छन् भजनीवासी

images
सोमबार, साउन १ २०८०
images
बाढीको त्रास : पानी पर्न थालेपछि अत्यावश्यक सामान पोको पार्न थाल्छन् भजनीवासी
फाइल तस्बिर

भजनीमा पथरैया, मोहना, काढा र कन्द्रा नदीले क्षति पुर्‍याउने गरेको छ। बाढी आउँदा केही परिवार उच्च घर, केही विद्यालयमा आश्रय लिन्छन् भने अधिकांशले हुलाकी राजमार्गलाई आश्रयस्थल बनाउँछन्।

images
images

टीकापुर- बर्खा लागेपछि कैलालीको भजनीका नागरिकलाई बाढीको त्रासले सताउने गरेको छ। भजनीमा हरेक वर्ष बर्खामा आउने बाढीले हजारौँ नागरिक विस्थापित हुनुका साथै धनजनको क्षति हुने गर्दछ।

images
images
images

बाढीले भजनीका प्रायः सबै वडा प्रभावित हुन्छन्। बाढीले बढी जोखिममा वडा नं ३ र ८ रहेका छन्। पछिल्ला दुई वर्ष यी दुई वडामा धेरै क्षति भएको छ। भजनीकी सुनितादेवी राजी बर्खा लागेपछि राम्ररी सुत्न सकेकी छैनन्। उनलाई सामान्य वर्षा हुँदा पनि बाढी आउँछ कि भन्ने पिरले सताउँछ। पानी पर्न थालेपछि सुनिताले अत्यावश्यक सामानको पोको पार्न थाल्छिन्।

images
images

गत वर्ष बाढी आउँदा आफ्नो एक वर्षीय बच्चासहित बसेकी सुनिताको घरखेत सबै बगेपछि कठिन भएको थियो। यस वर्ष पनि सुनिता बाढीको त्रासमा छिन्। 'पोहोर आएको बाढीले घरखेत बगाउँदा सानो बच्चा बोकेर भागेको बिर्सेकी छैन', उनी भन्छिन्, 'घर छोडेर एक साता आश्रयस्थलमा बसेका थियौँ। यस वर्ष पनि ठूलो वर्षा भएमा घर जोगिने छैन।'

images
images

सुनिताको घरमा बाढी आउने त्रासले अत्यावश्यक सामान पोको पारेर राखिएका छन्। धेरै वर्षा भएमा सुरक्षित स्थानमा जानुपर्छ भनी उनीहरु पूर्वतयारीमा बस्ने गरेका छन्। 'गत वर्ष घरका केही सरसामान पनि रहेनन्, हरेक वर्ष जोडेको सामान त्यही पानीमा मिसिन्छ', उनी गुनासो गर्छिन्, 'अन्त जाने ठाउँ पनि छैन, बाढीले हरेक वर्ष सबै बगाएर सक्छ।'

वडा नं ८ का खेमराज जैसीले पनि बाढीले अघिल्ला वर्ष आँखैअगाडि मानिस बगेको बिर्सिएका छैनन्। बादल गड्गडाउन थालेपछि खेमराजको मन पनि विचलित हुन्छ। खेमराज र उनका छिमेकी ठूलो वर्षा भएपछि भाग्नुपर्छ भनी पूर्वतयारीमा बस्ने गरेका छन्। 'जब बादल लाग्छ, आकाश गड्गडाउन थाल्छ, मन निकै विचलित हुन्छ', उनी भन्छन्, 'वर्षा नभए खेतीपाति राम्रो हुन्न तर हामीलाई थाहा छ तर बाढीको त्रासले पानी नै नपरोस् भन्ने लाग्छ।'

गत वर्षको बाढीले वडा नं ८ का सबै टोलमा क्षति पुगेको थियो। बाढीले वडा नै तहसनहस भएको थियो। 'बाढी नआएको कुनै वर्ष छैन, कुन वर्ष कति क्षति भयो भन्नेमात्र हो', उनी भन्छन्, 'गत वर्ष त धेरै क्षति भयो। बाढीबाट बच्न भागिरहेका मानिस बाढीमै मिसिए, त्यसैले यस वर्ष हामी बढी त्रासमा छौँ।'

भजनीकी पुष्पा राजी पनि गत वर्ष बाढी आउँदा गर्भवती थिइन्। बाढीले पुष्पाको पनि घरखेत बाढीले बगाएको थियो। बाढीपछि उनी पाँच दिन स्नेह आश्रयस्थलमा गएर बसेकी थिइन्। उनले त्यो बेला भोगेका पीडा भुलेकी छैनन्। अहिले पनि उनलाई बाढी आउँछकी भन्ने त्रासले सताइरहन्छ। 'गर्भवती थिए, हिँडडुल गर्नै गाह्रो भइरहेका बेला बाढीले घर बगायो, घर छोडेर आश्रयस्थलमा बस्नुपर्‍यो', पुष्पाले भनिन्, 'आश्रयस्थलमा त खान, बस्न समस्या भएन, घर फर्केपछि बगेको घर पुनःनिर्माण, खाद्यान्न अभावजस्ता कुराले सतायो।'

पुष्पाको बच्चा अहिले आठ महिनाको छ। पुष्पालाई बाढीको डर रातिको समयमा बढी लाग्छ। 'सुतेको बेला बाढी आएर थाहै नपाइ बगिन्छ कि भन्ने डर लाग्छ', उनी भन्छिन्, 'दिउँसो भए त भाग्न सकिन्छ, राति बच्चासहित भाग्न पनि कठिन हुन्छ।' भजनीमा वडा नं ८ को कृष्णनगर, काढाढिक, सोनाफाटा, जनकपुर, खैरागोड्चौरा, छच्छरहवा, बहादुरपुर, दैलेखीटोल, भर्खान टोल, कालिका टोल बाढीको जोखिममा रहेका टोल हुन्।

त्यस्तै वडा नं ३ को बर्दवाफाटा, नयाँबस्ती, ढुसी, पकरिया डाडा, जवलपुर, कन्हैयापुर, कसुमघाट, वडा नं ५ को कौवाखेडा, दुदुवाफाटा, पगियापसार, कर्मदेव, लालबोझी, ७ को चर्रा, हिम्मतपुर, २ को पल्टुपुर, मोहनपुर र कटानपुर, वडा नं ४ र ९ को कुडीमा समेत बाढीले क्षति पुर्‍याउने गरेको छ। 

भजनीमा पथरैया, मोहना, काढा र कन्द्रा नदीले क्षति पुर्‍याउने गरेको छ। नगर प्रमुख केवल चौधरी पूर्वतयारीका कार्य भइरहेका, विपद् व्यवस्थापन समितिसँग छलफल भइरहेको बताउँछन्। 'संघसंस्थाको सहयोगमा पालिकाले पलियापुरमा १६ परिवारका उच्च घर निर्माण गरिदिएको छ', नर प्रमुख चौधरी भन्छन्, 'हरेक वर्ष बाढी आउँछ। सोह्र परिवारलाई ढुक्क भयो। अन्य ठाउँमा बाढी आएपछि भाग्नैपर्छ।'

भजनीमा बाढीले विस्थापित हुने सयौँ परिवारले हुलाकी सडकको आश्रय लिनुपर्ने बाध्यता छ। बाढी आउँदा केही परिवार उच्च घर, केही विद्यालयमा आश्रय लिन्छन् भने अधिकांशले हुलाकी राजमार्गलाई आश्रयस्थल बनाउँछन्।

पालिकाले बाढीबाट बच्न पूर्वतयारी, पूर्वकार्यका कार्य समुदायमा सिकाएको छ। पालिकाले नदी नियन्त्रणको काम गर्न नसक्ने भएकाले पूर्वतयारी, खोज तथा उद्धार, बाढीपछि राहत वितरणजस्ता कार्य गर्दै आएको छ। भजनीमा गत वर्ष आएको बाढीले सात हजार ९६ परिवार विस्थापित भएका थिए। उनीहरु करिब एक महिनापछि घर फर्किएका थिए। रासस


प्रकाशित : सोमबार, साउन १ २०८००६:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend