आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

भारतीय खुला बजारमा नेपालले अब दैनिक ७५२ मेगावाट बिजुली निर्यात गर्न पाउने

प्राधिकरण भन्छ - भदौयता दैनिक ४६० मेगावाटभन्दा बढी पठाउन बिजुली छैन

बिहीबार , असार २८ २०८०
भारतीय खुला बजारमा नेपालले अब दैनिक ७५२ मेगावाट बिजुली निर्यात गर्न पाउने

काठमाडौं- नेपालले अब भारतमा दैनिक ७ सय ५२ मेगावाट बिजुली निर्यात गर्न पाउने भएको छ। नेपालले भारतको बिहार राज्यसँग जोडिएका १ सय ३२ केभीका चार अन्तरदेशीय प्रसारण लाइन प्रयोग थप तीनसय मेगावाट निर्यातको अनुमति पाएसँगै ७ सय ५२ मेगावाट बिजुली निर्यातको ढोका खुलेको हो। भारतको विद्युत् व्यापार कम्पनी पीटीसी इन्डिया र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) भइसकेको छ।

नेपालले रामनगर-गण्डक, रक्सौल-परवानीपुर, कटैया-कुसाह र कटैया-कुसाह-२ गरेर चार अन्तरदेशीय प्रसारण लाइनबाट बिजुली भारतीय इनर्जी एक्सचेन्ज मार्केटमा पठाउने सहमति आएपनि पूरै खाका तयार नभएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले बताए।

अहिले ७ सय ५२ मेगावटको अनुमति भएपनि पठाउने क्षमता ४ सय ६० मेगावाट भन्दा बढी नभएको उनले बताए। ‘अहिले बाढीले कतिपय उत्पादन बन्द भएको तथा संरचनाको समस्याले ठूलो बिजुली निर्यात गर्ने अवस्था छैन, भदौदेखि ७ सयभन्दा बढी मेगावाट निर्यात हुनेछ,’ प्रवक्ता भट्टराईले भने। अहिले बिजुली नै नभएकोले दैनिक ७ सय मेगावाट बिजुली निर्यात गर्न सक्ने अवस्था नरहेको समेत भट्टराई बताउँछन्। 

नेपाल विद्युत् प्राधिकरणले भारतीय इनर्जी एक्सचेन्ज मार्केटमा बोलकबोलमार्फत ४ सय ५२ मेगावाट विद्युत् बिक्री गर्दै आएको छ। त्यसका लागि ४०० केभीको ढल्केवर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन प्रयोग भइरहेको छ। 

नेपालबाट ४५२ मेगावाट बिजुली अहिले दैनिक निर्यात भइरहेको छ। खपत १६ सय मेगावाट मात्रै हो तर विभिन्न कारणले अहिले २१ सय मेगावाट मात्रै उत्पादनमा रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा १० वर्षभित्र १० हजार मेगावाट बिजुली भारत निर्यात गर्नेगरी सम्झौता भइसकेको छ। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष १२ सय मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य रहेको बताउँदै आएका छन्।  अहिले ढल्केबरबाट मात्रै पनि ८ सय मेगावाट निर्यात गर्न सक्ने क्षमतामा प्राधिकरण रहेको छ। 

नयाँ १४ वटा आयोजनाको बिजुली निर्यात गर्ने सूची भारत पुगिसकेको छ। गत वर्ष ११ अर्ब आम्दानी गरेको प्राधिकरणले यो वर्ष २५ अर्बको निर्यात गर्ने लक्ष्य राखेको छ। 


प्रकाशित : बिहीबार , असार २८ २०८०११:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend