सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

बीआरआई कार्यान्वयनमा छलफल भइरहेको छ : परराष्ट्रमन्त्री

images
बिहीबार , असार २८ २०८०
images
बीआरआई कार्यान्वयनमा छलफल भइरहेको छ : परराष्ट्रमन्त्री

नेपाल र चीनबीच सन् २०१७ मा बीआरआईसम्बन्धी सम्झौता भएको थियो। यद्यपि बीआरआईका कुन-कुन परियोजनालाई कसरी अघि बढाउने भन्ने विषयमा भने कुनै निर्णय हुन सकेको छैन।

images
images

काठमाडौं- सरकारले सन् २०१७ मा चीनसँग भएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) को कार्यान्वयबारे छलफल भइरहेको जानकारी गराएको छ। राष्ट्रियसभाको आजको बैठकमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले भने, 'दुई देशबीच बीआरआई कार्यान्वयन योजनामा छलफल जारी छ।'

images
images
images

नेपाल र चीनबीच सन् २०१७ मा बीआरआईसम्बन्धी सम्झौता भएको थियो। यद्यपि बीआरआईका कुन-कुन परियोजनालाई कसरी अघि बढाउने भन्ने विषयमा भने कुनै निर्णय हुन सकेको छैन।

images
images

यसअघि गत पुस १७ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका क्रममा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले बीआरआई अन्तर्गतको परियोजना कार्यान्वयन भएको दाबी गरेका थिए। परराष्ट्रमन्त्री साउदले भने यसअघि पनि बीआरआईको कुनै पनि परियोजना अघि बढ्न नसकेको बताएका थिए।

images
images

चीनका तत्कालीन विदेशमन्त्री वाङ यीको मार्च २०२२ मा सम्पन्न नेपाल भ्रमणमा हस्ताक्षर भएअनुसार केरुङ-काठमाडौं रेलवेको सम्भाव्यता अध्ययन तथा दुई देशबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइनको सम्भाव्यता अध्ययन भइहेको पनि परराष्ट्रमन्त्री साउदको भनाइ छ।

परराष्ट्रमन्त्री साउदले गुण र दोषका आधारमा अन्तर्राष्ट्रिय सम्बन्धमा स्वतन्त्र धारणा बनाउने नेपालको कूटनीतिक प्रयास भएको उल्लेख गर्दै भने, 'गुण र दोषका आधारमा अन्तर्राष्ट्रिय मुद्दामा स्वतन्त्र धारणा बनाउने, मतदान गर्ने तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई न्यायपूर्ण, निष्पक्ष, उत्तरदायी र सहयोगात्मक बनाउने दिशामा नेपालको कूटनीतिक प्रयास उन्मुख छ।'

राष्ट्रियसभामा विनियोजन विधेयक, २०६० अन्तर्गत परराष्ट्र मन्त्रालय एवम् मातहतका निकायका लागि विनियोजन गरिएको बजेट तथा कार्यक्रममाथि भएको छलफलको क्रममा पूर्वपरराष्ट्रमन्त्री विमला पौड्याल राईले नेपाल असंलग्न परराष्ट्र नीतिबाट विचलित भएको हो कि भन्ने जिज्ञासा राखेकी थिइन्।

परराष्ट्र नीति सञ्चालनका मूलभूत आधार नेपालको संविधानले निर्दिष्ट गरेको र असंलग्नता ती आधारमध्ये प्रमुख आधार रहिआएको छ। नेपालले सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा छिमेकीलगायत अन्य मुलुकसँगको सम्बन्धलाई सुदृढ र विस्तार गर्दै आएको भन्दै नेपालको स्वतन्त्र, सन्तुलित, निष्पक्ष र वस्तुनिष्ठ दृष्टिकोणका कारण विश्व जगतमा विश्वसनीयता र सम्मान आर्जन हुनसकेको पनि परराष्ट्रमन्त्री साउदको भनाइ छ।

परराष्ट्रमन्त्री साउद हालै मात्र पनि जुलाई ३ देखि ६ सम्म अजरबैजानको बाकुमा सम्पन्न असंलग्न आन्दोलनको सम्मेलनमा सहभागी भएर फर्किएका हुन्। उक्त बैठकलाई आफ्नो सम्बोधनबारे पनि परराष्ट्रमन्त्री साउदले राष्ट्रियसभालाई जानकारी गराएका हुन्। रासस


प्रकाशित : बिहीबार , असार २८ २०८००८:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend