सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

विद्युत् ‘ट्रिपिङ’ ले उपभोक्ता समस्यामा

images
बिहीबार , असार २८ २०८०
images
विद्युत् ‘ट्रिपिङ’ ले उपभोक्ता समस्यामा

झ्याप्प-झ्याप्प विद्युत् कटौती हुँदा विद्युतीय उपकरण बिग्रने गरेको जिल्लावासीको गुनासो छ। 

images
images

नवलपुर- नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा पूर्वसूचनाबिना विद्युत् जाँदा स्थानीय उपभोक्ता समस्यामा परेका छन्। दैनिक २० पटकसम्म विद्युत् ट्रिपिङ (झ्याप्प-झ्याप्प विद्युत् कटौती) हुँदा विद्युतीय उपकरण बिग्रने गरेको जिल्लावासीको गुनासो छ।  

images
images
images

मध्यविन्दु-३ का रामचन्द्र पौडेलले बिना सूचना झ्याप-झ्याप्प विद्युत् कटौती हुँदा विद्युतीय उपकरणमा समस्या देखिने गरेको बताए। 'सूचनाबिना विद्युत् कटौती हुने गरेको छ। यसरी झ्याप्प बत्ती जाने र आउने गर्दा धारामा जडान गरिएको मोटर नै बिग्रियो', उनले भने, 'जिल्लावासीले दैनिक २० पटकभन्दा बढी विद्युत् ट्रिपिङको समस्या खेप्नुपरेको छ।' कहिले कम तथा कहिले अधिक भोल्टेजका कारण पंखा, फ्रिज, मोटरलगायतका विद्युतीय उपकरणमा बिग्रने गरेको उनले बताए।

images
images

'लोडसेडिङ कटौती भयो भन्नुमात्रै भएको छ', उनले भने, 'तर लोडसेडिङको तालिका भने नदिँदा अहिले कुन बेला बत्ती जाने हो, कुन बेला आउने हो पत्तै हुँदैन, यसको मार विद्युतीय उपकरणमा परेको छ।' उनले दैनिक आठ-नौ घण्टासम्म लोडसेडिङ हुन थालेको बताए।

images
images

गैँडाकोट-१० का सीता रेग्मीले हावाहुरी चल्नेबित्तिकै बत्ती जाने गरेको गुनासो गरिन्। 'सानो हावाहुरी वा पानी पर्‍यो भने बत्ती जान थालेको छ', उनले भनिन्, 'बत्ती जाने र आउने समयको कुनै ठेगान नभएपछि छिमेकमा धेरैले इन्भर्टर जडान गर्न थालेका छन्।' 

नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रका इन्जिनियर तिलकराम थनेतले जिल्लामा आपूर्तिभन्दा विद्युतको माग बढी हुँदा ट्रिपिङको समस्या देखिएको बताए। 'भरतपुर-बर्दघाट १३२ केभी प्रसारण लाइन ओभरलोड भइरहेको छ', उनले भने, 'यहाँ प्रवाह हुने विद्युतले नधान्दा इलेक्ट्रिसिटी ट्रिपिङ भइरहेको छ।' भरतपुर-बर्दघाट प्रसारण लाइनको विकल्पमा अर्को प्रसारण लाइन सञ्चालनमा नआएसम्म जिल्लामा ट्रिपिङको समस्या समाधान गर्न कठिनाइ भएको उनको भनाइ छ।

'भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन चार्ज भएको छैन', उनले भने, 'यो प्रसारण लाइन चार्ज भएपछि भने उपभोक्ताले सहजरुपमा विद्युत् उपभोग गर्न पाउँछन्।' अहिले गर्मी महिनामा विद्युतको माग अत्यधिक हुने भए पनि विद्युत् प्रवाह हुने रुट (प्रसारण लाइन) को क्षमता थोरै हुँदा उपभोक्ताले ट्रिपिङको समस्या झेल्नुपरेको उनको भनाइ छ। 

'पूर्व-पश्चिममा विद्युत् प्रवाह नियमित भइरहेको छ', उनले भने, 'माग अत्यधिक भएको गण्डकी र लुम्बिनी प्रदेशमा भने उपभोक्ताले ट्रिपिङको समस्या खेप्नुपरेको छ।' उपभोक्ताको समस्या आफूहरुले बुझे पनि जिल्लाबाट समस्या समाधान गर्न सम्भव नभएकाले केन्द्रसँग समन्वय गरिरहेको उनले बताए। 'अहिले मागभन्दा आपूर्ति कम भइरहेको छ', उनले भने, 'बिजुली बग्ने हाइवे भएन। ट्रान्समिसन लाइन पर्याप्त नभएपछि साँघुरो रुटमा थोरैमात्रै विद्युत् प्रवाह हुन्छ।'

हेटौँडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको काम तीव्ररुपमा भइरहेकाले उपभोक्ताको समस्या चाँडै नै समाधान हुने उनले बताए। नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा ट्रान्समिसन लाइनको टावर निर्माण पश्चात हेटौँडा-भरतपुर-बर्दघाट प्रसारण लाइन सञ्चालनमा आउने उनको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , असार २८ २०८००८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend