आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

४३९ मेगावाटको वेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको लागत कति?

बिहीबार , असार २८ २०८०
४३९ मेगावाटको वेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको लागत कति?

आयोजनाबाट प्रभावित परिवार संख्या ३ सय ८४ रहेको छ। आयोजनाको निर्माण अवधि ५ वर्ष हुने रिपोर्टमा उल्लेख छ।

काठमाडौं- सञ्चय कोषले लगानी गर्ने ४३९ मेगावाटको वेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना अगाडि बढ्ने भएको छ। वन तथा वातावरण मन्त्रालयले वेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन राय सुझावका लागि भन्दै सार्वजनिक गरेको छ। रिपोर्टमा आयोजनाको लागत ८८ अर्ब १८ करोड ३३ हजार ९ सय ५५ रूपैयाँ अनुमान गरिएको छ। यो रकम आईडीसी पछाडिको रकम हो।

आयोजनाको आईडीसी अगाडिको लागत भने ७४ अर्ब १५ करोड १२ लाख ५५ हजार ९ सय ७८ रूपैयाँ रहेको छ। यसैगरी आयोजनाको लागत वित्तीयतर्फ १० करोड ८ लाख ८५ हजार ७ सय ३० रूपैयाँ प्रतिमेगावाट रहेको छ।

आयोजनाको प्रतिवेदन पेस गर्ने निकाय वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ। उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय विद्युत् विकास विभागमार्फत प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस भएको थियो। 

आयोजना निर्माणमा  ४४ हजार १ सय ९१ वटा रुख कटानी हुनेछ भने आयोजनाले ओगट्ने वन क्षेत्र ३ सय हेक्टर रहेको छ। आयोजनाका लागि कुल ६ सय ९२ हेक्टर जग्गा आवश्यक पर्नेछ। जसमा ९३ हेक्टर निजी र बाँकी ५ सय ९८.८८ हेक्टर वन क्षेत्र घाँसे मैदान, रुख र बुट्यानले ढाकिएको र कर्णाली नद‍ी/बगर क्षेत्र रहेको रिपोर्टमा उल्लेख छ।

आयोजनाबाट प्रभावित परिवार संख्या ३ सय ८४ रहेको छ। आयोजनाको निर्माण अवधि ५ वर्ष हुने रिपोर्टमा उल्लेख छ।

आयोजनामा ६ वटा टेलरेस सुरुङ निर्माण हुनेछ। आयोजनाको विद्युत् जडित क्षमता ४ सय ३९ मेगावाट र डिजाइन बहाव सुक्खा समयमा ५३६ घनमिटर प्रतिसेकेन्ड वर्षामा ५५१.३३ घनमिटर प्रतिसेकेन्ड हुनेछ। प्रस्तावित आयोजनको कुल हेड ९९.१३ मिटर मुख्य पावरहाउसबाट र ७८.३ मिटर वातावरणीय बहावबाट रहेको छ।

आयोजनाको बाँध मालुमेलाबाट करिब २ किलोमिटर तल्लो भागमा र बाँधको उचाई नदी पिँधबाट ९० मिटर र बाँधको आधारबाट १४० मिटर रहेको हुनेछ।

आयोजनामा हेडरेस सुरुङ संख्या ३ वटा रहने छ। आयोजनाको विद्युतगृह भूमिगत २०२ मिटर लम्बाई र २३.५ मिटर चौडाई ५४.४८ मिटर उचाई  रहने वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ।

आयोजनाबाट सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ६ र ७  तथा तुर्मखाँद गाउँपालिकाको वडा नम्बर ३,४ र ५ प्रभावित हुने छ। यसैगरी आयोजनाबाट नै कर्णाली प्रदेशको सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ४,५, ६ र पञ्चपूरी नगरपालिका वडा नम्बर वडा नम्बर ७ समेत प्रभावित हुने रिपोर्टमा उल्लेख छ।  


प्रकाशित : बिहीबार , असार २८ २०८००५:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend