आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

४४ मेगावाटको सानी भेरी जलविद्युत् आयोजनाको पीपीए सम्पन्न, २०८४ भित्रै उत्पादनको लक्ष्य

बुधबार, असार २७ २०८०
४४ मेगावाटको सानी भेरी जलविद्युत् आयोजनाको पीपीए सम्पन्न, २०८४ भित्रै उत्पादनको लक्ष्य

रुकुमपूर्वको पुथा उत्तरगंगा र सिस्ने गाउँपालिकामा निर्माण हुने आयोजना सानी भेरी खोलामा निर्माण हुनेछ। आयोजना निर्माणको अनुमानित लागत ९ अर्ब रूपैयाँ रहेको छ।

काठमाडौं- रुकुम पूर्वमा निर्माण हुने ४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत् आयोजनाको विद्युत् खरीदबिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ। आयोजनाको प्रवर्द्धक एक्सपर्ट हाइड्रो इन्भेष्टमेन्ट प्रालि र नेपाल विद्युत् प्राधिकरणबीच बुधवार पीपीएमा हस्ताक्षर भएको हो।

आयोजनाले उत्पादन गरेको विद्युत् हिउँदयाममा ८ रूपैयाँ ४० पैसा र वर्षायाममा ४ रूपैयाँ ८० पैसामा विद्युत् प्राधिकरणले खरीद गर्ने गरी सम्झौता भएको छ। आयोजनाका तर्फबाट एक्सपर्ट ग्रुपका अध्यक्ष जयराम अर्याल र विद्युत् प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले सम्झौतामा हस्ताक्षर गरेका छन्। एक्सपर्ट ग्रुपमा अष्ट्रेलियामा बसेर शैक्षिक क्षेत्रमा काम गर्दै आएका व्यवसायीहरूको लगानी रहेको छ।

रुकुमपूर्वको पुथा उत्तरगंगा र सिस्ने गाउँपालिकामा निर्माण हुने आयोजना सानी भेरी खोलामा निर्माण हुनेछ। १४५ मिटर हेड रहेको आयोजनाको डिजाइन डिस्चार्ज ३६.८ घनमिटर/प्रतिसेकेण्ड रहेको छ। आयोजनामा ४ हजार ३०० मिटर सुरुङमार्ग र ३१० मिटर पेनस्टक पाइप प्रयोग हुनेछ।

आयोजनाले आयोजनाको विद्युतगृहदेखि नेपाल विद्युत् प्राधिकरणको बाफिकोट सबस्टेसनसम्म १३२ केभी क्षमताको २० किलोमिटर प्रसारणलाइन निर्माण गर्नुपर्ने छ। त्यस्तै १० किलोमिटर पहुँचमार्गको पनि स्तरोन्नति गर्नुपर्ने आयोजनाले जनाएको छ। आयोजना निर्माणको अनुमानित लागत ९ अर्ब रूपैयाँ रहेको छ।

यसैवर्षभित्र आयोजनाको वित्तीय व्यवस्थापन सकेर निर्माणमा जाने तयारी रहेको एक्सपर्ट हाइड्रोका अध्यक्ष जयराम अर्यालले जानकारी दिए। आयोजनाको विद्युत् उत्पादन गर्नुपर्ने मिति २०८४ पुषभित्र रहेको छ। आयोजनाबाट वार्षिक रुपमा २८३.३७ गिगावाट आवर विद्युत् ऊर्जा उत्पादन हुनेछ।


प्रकाशित : बुधबार, असार २७ २०८०१०:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend