आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

नीलगिरि जलविद्युत् आयोजना अन्तिम चरणमा, ८२ प्रतिशत काम सकियो

मंगलबार, असार २६ २०८०
नीलगिरि जलविद्युत् आयोजना अन्तिम चरणमा, ८२ प्रतिशत काम सकियो

नीलगिरि खोला हाइड्रोपावरले चार वर्षअघि एकैसाथ निजी क्षेत्रको लगानीबाट दुवै आयोजना निर्माण सुरु गरेको थियो। यो जिल्लामै ठूलो आयोजना हो। कठिन भूगोलका अक्करे पहाडलाई छिचोलेर आयोजनाका संरचनाहरु निर्माण गरिएका  छन्।

गलेश्वर- जलविद्युतको जिल्ला भनेर चिनिने म्याग्दीमा निर्माणाधीन नीलगिरि जलविद्युतको ८२ प्रतिशत काम सम्पन्न भएको छ।

अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा नीलगिरि जलविद्युत् आयोजनाले निर्माण गर्न लागेको ३८ मेगावाटको नीलगिरि पहिलो र ७१ मेगावाटको नीलगिरि दोस्रो गरी एक सय नौ मेगावाट क्षमताको निलगिरि जलविद्युत् आयोजनाको ८२ प्रतिशत निर्माण पूरा भएको नीलगिरि जलविद्युत् आयोजनाले जनाएको हो।

नारच्याङमा १६ अर्ब रूपैयाँको लागतमा एक सय नौ मेगावाटका दुई जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाका आवासीय इन्जिनियर रत्नबमजन तामाङले जानकारी दिए। उनका अनुसार असार तेस्रो सातासम्म दुवै जलविद्युत् आयोजनाको ८२ प्रतिशत निर्माण सम्पन्न भएको छ।

नीलगिरि खोला हाइड्रोपावरले चार वर्षअघि एकैसाथ निजी क्षेत्रको लगानीबाट दुवै आयोजना निर्माण सुरु गरेको थियो। यो जिल्लामै ठूलो आयोजना हो। कठिन भूगोलका अक्करे पहाडलाई छिचोलेर आयोजनाका संरचनाहरु निर्माण गरिएका  छन्।

आयोजनाका अनुसार दुवै आयोजनाको बाँधस्थल, सुरुङ खन्ने र विद्युतगृह निर्माण काम सकिएको छ। नीलगिरि पहिलोको दुई हजार मिटर र दोस्रोको चार हजार दुई सय मिटर सुरुङ खन्ने काम सकिएर ढलानको काम थालिएको इन्जिनियर तामाङले जानकारी दिए। पेनस्टक र टनेल खन्ने काम सकिएर पहिलोको आठ सय मिटर र दोस्रोको एक हजार पाँच सय मिटर पेनस्टक पाइप जडानको काम थालिएको छ।

तामाङका अनुसार नीलगिरि पहिलोको विद्युतगृहबाट निस्कने पानीलाई बाँध बनाएर नीलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण गरिएको छ। नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युतगृह निर्माण गरिएको छ। क्यासकेडको विद्युतगृहदेखि नीलगिरि पहिलोको बाँध हुमखोलासम्म १४ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ।

करिब १६ अर्ब रूपैयाँ लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन्। नीलगिरिखोलाबाट उत्पादन भएको बिजुली दुई सय २० केभिए क्षमताको दाना सबस्टेसनबाट केन्द्रीय ग्रिडमा जोडिने छ।

छोटेपा-दोबिल्ला हुँदै दाना सबस्टेसन जोड्ने आठ दशमलव पाँच किलोमिटर दुरीको दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि २४ वटा मध्ये २३ वटा टावर निर्माण गरी तार तान्ने काम सकिएको आयोजनाले जनाएको छ।

दुवै आयोजनाका लागि निर्माण गरिने विद्युतगृहको सिभिल स्ट्रक्चरको काम सकिएर इलेक्ट्रोमेकानिकलको काम थालिएको छ। भौगोलिक विकटताका भएर पनि आयोजना निर्माणले तीव्रता पाएको इन्जिनियर लामाले बताए। आगमी छ महिनाभित्रमा दुवै आयोजना एकसाथ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ थियो। रासस


प्रकाशित : मंगलबार, असार २६ २०८००९:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend