मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

विश्वमा पहिलो पटक कारले पायो उडान अनुमति, पूर्णविद्युतीय उड्ने कारको रेन्ज कति?

शनिबार, असार १६ २०८०
विश्वमा पहिलो पटक कारले पायो उडान अनुमति, पूर्णविद्युतीय उड्ने कारको रेन्ज कति?

सडकमा गुडाउँदा यो विद्युतीय कारले एक पटकको फुल चार्जमा ३ सय २२ किलोमिटर र उडाउँदा १ सय ७७ किलोमिटर दुरी तय गर्न सक्ने दाबी कम्पनीले गरेको छ। 

काठमाडौं- केही वर्षअघि कार पनि उड्ने हुन्छ भन्दा धेरैले पत्याउँदैन थिए। सडकमा गुडिरहेको कार ट्राफिक जाम छल्न उडाउने र फेरि सडकमा गुडाउन सकिने कुरा असम्भव जस्तै लाग्थ्यो। 

तर अब भने यो कुरा सम्भव हुने भएको छ। यसअघि परिक्षणमात्र भइरहेको उड्ने विद्युतीय कारका लागि अमेरिकी सरकारले उडान अनुमति नै दिएको छ। अमेरिकाको क्यालिफोर्नियामा रहेको एक कम्पनीले बनाएको उड्ने विद्युतीय कारले उडान अनुमति पाएको हो।

क्यालिफोर्नियामा २०१५ मा स्थापना भएको दियो विद्युतीय परिवहन कम्पनी अलिफ एरोनेटिक उड्ने विद्युतीय कारले उडानको अनुमति पाएको हो। उड्ने कारका लागि अनुमति पाउने यो नै विश्वको पहिलो कम्पनी हो। 

स्थापनाको ७ वर्षपछि कम्पनीले गत वर्षको अक्टोबरमा उड्ने कारको प्रोटोटाइप सार्वजनिक गरेको थियो। हालै उडान अनुमति पाएको उड्ने विद्युतीय कार २०२५ अगावै बजारमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ। 

अलिफको उड्ने विद्युतीय कार ‘मोडल ए’का लागि अमेरिकी सरकारले उडान अनुमति दिएको हो। अलिफको मोडल एले यूएस फेडरल एभिएसन एडमेनिस्ट्रेसन (एफएए)बाट स्पेसल एयरवर्दिनेस सर्टिफिकेट पाएको छ। यो प्रकारको सवारीले उडान अनुमति पाएको यो पहिलो पटकसमेत हो। 

एफएएले हाल सवारीसाधनका लागि इलेक्ट्रिकल भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ (ईभीटीओएल) सम्बन्धी नीति बनाइरहेको छ। एफएएले ईभीटीओएलसँगै यस्ता सवारीका लागि आवश्यक पर्ने जमिन पूर्वाधारबारे समेत काम गरिरहेको छ। यो कारका लागि उडान भर्न रनवे चाहिँदैन। कार जहाँ छ त्यहीँबाट सिधै उड्न सक्छ। यसअघि एक चिनियाँ कम्पनीले बनाएको यस्तै उड्ने कारको परीक्षण खाडी मुलुकमा भएको थियो। तर औपचारिक रुपमा उडान अनुमति भने दिइएको छैन। 

First-electric-flying-car.PNG

अलिफले पाएको स्पेसन एयरवर्दिनेस सर्टिफिकेटले भने सबै ठाउँमा उक्त विद्युतीय कार उडाउन पाउने छैन। निश्चित स्थान र प्रयोजनका लागि मात्र उडाउन पाउनेगरि कम्पनीले अनुमति पाएको हो। 

अलिफको मोडल ए सडकमा गुड्न र ट्राफिक जाममा उड्न पनि सक्छ। सडकमा गुडाउँदा यो विद्युतीय कारले एक पटकको फुल चार्जमा ३ सय २२ किलोमिटर र उडाउँदा १ सय ७७ किलोमिटर दुरी तय गर्न सक्ने दाबी कम्पनीले गरेको छ। 

यो कार फ्युचरिस्टिक फ्लोय सेपमा डिजाइन गरिएको छ। यो कारमा ८ वटा प्रोपेलर्सहरु छन्। हाल यो कारमा दुईजनासम्म बसेर उड्न सक्ने बनाइएको छ भने भविष्यमा थप यात्रु अटाउने गरि बनाउन सकिने कम्पनीले जनाएको छ। 

अलिफका अनुसार मोडल एका लागि थुप्रै अर्डरहरु आएका छन्। त्यस्ता अर्डरहरु व्यक्तिगत तथा संस्थागत दुवै छन्। सामान्य इच्छा राखेर प्रिअर्डर गर्नेहरुसँग कम्पनीले १ सय ५० डलर टोकन मूल्य लिएर बुकिङ गरिरहेको छ भने प्राथमिकता दिएर प्रिअर्डर गर्नेहरुसँग १ हजार ५ सय डलर लिएर बुकिङ गरिरहेको छ। 

अलिफको उड्ने विद्युतीय कार मोडल एको मूल्य २ लाख ९९ हजार ९ सय ९९ अमेरिकी डलर हुने अनुमान गरिएको छ। कम्पनीले यो वर्षको अन्त्यसम्ममा साढे ४ सयभन्दा बढी बुकिङ हुने अनुमान गरेको छ। 

त्यस्तै कम्पनीले मोडल एसँगै चार जना अट्ने सेडान सेगमेन्टको मोडल जेड कार समेत तयारी गरिरहेको छ। यो कार बजारमा आउन भने समय लाग्ने छ। मोडल जेडका लागि उपभोक्ताले २०२५ सम्म कुर्नुपर्ने छ। 


प्रकाशित : शनिबार, असार १६ २०८००६:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend