सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

श्रमदानबाट पुल निर्माण गर्दै इच्छाकामना

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार १० २०८०
श्रमदानबाट पुल निर्माण गर्दै इच्छाकामना

पुल निर्माणपछि गर्दास र स्याङ्दीका बासिन्दा लाभान्वित हुने छन्। हरेक वर्ष मस्याङ्दी खोलामा आउने बाढीका कारण विद्यालय जाने विद्यार्थी र स्थानीयले सास्ती खेप्दै आएनुपरेको थियो।

चितवन- चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण सुरु गरेको छ। इच्छाकामना गाउँपालिका-७ को गर्दास र स्याङ्दी जोड्ने पुल श्रमदानबाट निर्माण गर्न सुरु गरिएको हो।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शनिबार श्रमदान गरेर पुल निर्माणको काम शुभारम्भ गरे। उनले गाउँघरमा श्रमदान गरेर विकास निर्माणका काम गर्ने परम्परा हराउन थालेको भन्दै पालिकाले श्रमदानमा जुट्न स्थानीयलाई प्रोत्साहन गरेको बताए। उनले श्रमदानका लागि जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दालाई आह्वान गरिएको जानकारी दिए।

'तीसदेखि ४० प्रतिशत श्रमदानबाट पुल निर्माणको काम गर्नेछौँ', उनले भने, 'प्राविधिक र निर्माण सामग्रीका लागि आवश्यक बजेट गाउँपालिकाले व्यवस्था गरेको छ।'

उनले पुल निर्माणका लागि गाउँपालिकाले १५ लाख बजेट विनियोजन गरेको जानकारी दिए। असार महिनाभित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको भन्दै उनले पालिकाले नियमित निगरानी गर्ने बताए।

यसअघि हरिपुर खोलामा राखिएको बेलीब्रिजको संरचना प्रयोग गर्ने गरी स्याङ्दी खोलमा पुल निर्माण गर्न लागिएको इच्छाकामना-७ का वडाध्यक्ष बमबहादुर रानामगरले जानकारी दिए। हरिपुर खोलामा अहिले पक्की पुल निर्माण भइसकेको छ। उनले बेलीब्रिज राख्नका लागि वडावासीले श्रमदान गर्ने बताए। उनले पुल निर्माणपछि गर्दास र स्याङ्दीका बासिन्दा लाभान्वित हुने जानकारी दिए। हरेक वर्ष स्याङ्दी खोलामा आउने बाढीका कारण विद्यालय जाने विद्यार्थी र स्थानीयले सास्ती खेप्दै आउनुपरेको थियो। रासस


प्रकाशित : आइतबार, असार १० २०८००४:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend