आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

पूर्वी नेपालको बाढी : ४६३ मेगावाटका ३० आयोजनामा साढे ८ अर्ब क्षतिको प्रारम्भिक अनुमान

शुक्रबार, असार ८ २०८०
पूर्वी नेपालको बाढी : ४६३ मेगावाटका ३० आयोजनामा साढे ८ अर्ब क्षतिको प्रारम्भिक अनुमान

काठमाडौं- पूर्वी नेपालमा आएको बाढीले अहिलेसम्म ३० जलविद्युत आयोजनामा साढे ८  अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ।

यहि असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढीले ४६३ मेगावाट क्षमताका ३० ओटा जलविद्युत आयोजनामा क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को प्रारम्भिक अध्ययनले देखाएको हो।

 

उत्पादनमा रहेका १३२ मेगावाटका १३ आयोजनामा करिब ६ अर्बको क्षति

पूर्वी नेपालमा आएको अप्रत्याशित बाढीका कारण १३२ मेगावाट विद्युत उत्पादन गरिरहेका १२ ओटा आयोजनामा करिब ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको इप्पानले जनाएको छ।

विद्युत उत्पादन गरिरहेको सबैभन्दा ठूलो आयोजना २५ मेगावाटको काबेली बी-१ मा ५० करोड रुपैयाँ बराबरको क्षति भएको छ।

उत्पादनमा रहेका आयोजना मध्ये सबैभन्दा धेरै क्षति २२.१ मेगावाट क्षमताको तल्लो हेवा खोला जलविद्युत आयोजनामा १ अर्ब रुपैयाँ बराबरको क्षति भएको आयोजनाका अध्यक्ष सिताराम तिमल्सिनाले जानकारी दिए।

bidhhut badi (2).jpg

भौतिक हिसाबले सबैभन्दा धेरै क्षति भएको ४.७ मेगावाटको अपर पिलुवा-२ जलविद्युत आयोजनामा ९० करोड बराबरको क्षति भएको मेन्छियाम हाइड्रोपवारका अध्यक्ष एवं संखुवासभाबाट प्रतिनिधिसभा सदस्य माननीय दीपक खड्काले बताए। 

उनका अनुसार उक्त आयोजनामा हेडवर्क्स, पाइप अलाइनमेन्ट, पावर हाउस लगायतका भौतिक संरचना पूर्णरुपमा क्षति भएर आयोजनाको पुनर्निर्माणको लागि २ वर्षभन्दा बढी समय लाग्ने देखिएको छ।

त्यस्तै १४.९ मेगावाट क्षमताको हेवा खोला ए जलविद्युत आयोजनामा ९५ करोड रुपैयाँ बराबरको क्षति भएको आयोजनाका प्रवर्द्धक पुष्पज्योति ढुङ्गानाले जानकारी दिए।

bidhhut badi (3).jpg

निर्माणाधिन ३२७ मेगावाटका १७ आयोजनामा साढे २ अर्ब बढीको क्षति 

बाढीका कारण पूर्वी नेपालका ४ जिल्लामा निर्माणाधिन १७ जलविद्युत आयोजनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ।

निर्माणाधिन आयोजनामध्ये सबैभन्दा धेरै क्षति सुपर हेवा खोला जलविद्युत आयोजनामा ८० करोड रुपैयाँ बराबरको भएको छ।

उक्त आयोजना निर्माणका खटिएका १८ जना मजदूरलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो । त्यसमध्ये अहिलेसम्म ४ जनाको मात्र शब भेटिएको छ। 

bidhhut badi (4).jpg

९० प्रतिशत निर्माण पूरा भइसकेको आयोजनामा बाढीले क्षति पुर्‍याउँदा आयोजनाको पुनर्निर्माणमा डेढदेखि दुई वर्षसम्म थप समय लाग्ने आयोजनाका अध्यक्ष हर्कबहादुर तामाङले बताए।

त्यस्तै ९७.५ मेगावाटको इसुवाखोला जलविद्युत आयोजनामा ५० करोड रुपैयाँ बराबरको क्षति भएको आयोजनाका अध्यक्ष विरेन्द्रबहादुर न्यौपानेले जानकारी दिए। ९.७ मेगावाटको इङ्ग्वा खोलामा पनि ५० करोड बराबरको क्षति भएको आयोजनाका प्रवर्द्धक सतिष न्यौपानेले जानकारी दिए।

bidhhut badi (5).jpg

प्रभावित आयोजनाका बारेमा प्रधानमन्त्रीसँग छलफल गर्दै इप्पान

इप्पानले बाढीले प्रभावित आयोजनाका वारेमा इप्पानले प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जा मन्त्री, राष्ट्र बैंकका गभर्नर र बीमा प्राधिकरणका अध्यक्षलाई एक ठाउँमा राखेर जानकारी दिने तयारी गरेको छ।

इप्पान अध्यक्ष गणेश कार्कीले शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेख्दै सम्बद्ध सबै मन्त्रालयका मन्त्री र कार्यकारी प्रमुखलाई एक ठाउँमा राखेर प्रभावित आयोजनाका बारेमा प्रस्तुतीकरणको लागि समय माग गरेका छन्।


प्रकाशित : शुक्रबार, असार ८ २०८०१३:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend