मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

भारतीय प्रधानमन्त्री मोदी र टेस्ला सीईओ मस्कबीच भेट, मस्क अर्को वर्ष भारत आउने‍

भारतमा प्लान्ट स्थापनाका लागि लगानी गर्न टेस्ला तयार

बुधबार, असार ६ २०८०
भारतीय प्रधानमन्त्री मोदी र टेस्ला सीईओ मस्कबीच भेट, मस्क अर्को वर्ष भारत आउने‍

विश्वको सबैभन्दा ठूलो अमेरिकी विद्युतीय कार उत्पादन कम्पनी टेस्ला इंकका सीईओ भारतमा उत्पादन प्लान्ट लिएरै आउन तयार भएको गत मेमा जनाएका थिए।

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो अमेरिका भ्रमणका क्रममा टेस्लाका सीईओ एलन मस्कसँग भेटवार्ता गरेका छन्। मोदीले मस्कलाई यो दोस्रो पटक भेटेका हुन्।

तयारी कारमा कर घटाएर बिक्रीका लागि आउने टेस्लाको योजनामा भारतले सहमति नदिएपछि टेस्ला उत्पादन प्लान्ट लिएरै भारत आउन तयार भएको संकेत गरेको हो। सोहीअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममा टेस्ला र भारतबीच उत्पादन प्लान्ट स्थापना गर्ने प्रारम्भिक सम्झौता हुने अनुमान थियो। तर मोदी र मस्कबीच भएको भेटमा के कुरा भयो बाहिर आएको छैन। मोदी र टेस्ला सीईओ मस्कबीच बुधबार साइडलाइन वार्ता भएको थियो। 

विश्वको सबैभन्दा ठूलो अमेरिकी विद्युतीय कार उत्पादन कम्पनी टेस्ला इंकका सीईओ भारतमा उत्पादन प्लान्ट लिएरै आउन तयार भएको गत मेमा जनाएका थिए। यसअघि उनी पहिले अन्यत्र उत्पादन भएका कार बिक्री गर्ने र त्यसको प्रतिक्रियापछि मात्र भारतमा उत्पादन प्लान्ट राख्नेबारे निर्णय लिने बताउँदै आएका थिए। 

भारत सरकारले भने बिक्रीका लागिमात्र नभइ सुरुमै उत्पादन प्लान्ट लिएर आउन आग्रह गरिरहेको थियो। तर टेस्लाका सीईओ मस्कले भने तयारी विद्युतीय कारको कर घटाइदिन आग्रह गर्दै आएका थिए। मस्कको उक्त प्रस्तावमा भारत सरकार टसमस भएन। अन्ततः अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला इंक र सीईओ मस्क कार उत्पादन गर्नेगरि नै भारत आउन तयार भएका हुन्। 

टेस्लाले भारतमा विद्युतीय सवारीका साथै ईभी ब्याट्रीसमेत उत्पादन गर्ने योजना रहेको छलफलमा बताएको थियो। भारत विश्वको छैटौँ ठूलो अटोमोबाइल बजार हो। सबैजसो अटोमोबाइल कम्पनीहरु भारतमा सवारी उत्पादन/एसेम्बल गर्ने गरी आएका छन्। केही सीमित कम्पनीहरुले मात्र आयात गरी सवारी बिक्री गरिरहेका छन्।

धेरै हिसाबले भारत उदीयमान बजार हो। त्यहाँ मध्यवर्गीय जनसंख्या उल्लेख्य रुपमा बढ्दै गएको छ। त्यसैले संसारभरका अटोमोबाइल उत्पादकहरुको ध्यान भारतमा केन्द्रित भएको छ। चिनियाँदेखि यूरोपेली तथा एसियन कार उत्पादकहरु भारतमा प्लान्ट स्थापनाका लागि अर्बौँ डलर लगानी गरिसकेका र गर्दै पनि छन्। 

विद्युतीय कार उत्पादक कम्पनी टेस्ला भने जसरी पनि भारत आउन चाहन्छ। त्यसैले टेस्लाले ३ वर्षभन्दा अघि भारतको बैंलोरमा कम्पनीले दर्ता गरिसकेको छ। विश्वभरका सडकमा टेस्लाका विद्युतीय कार कुदाउने चाहना कम्पनीका संस्थापक तथा सीईओ एलन मस्कलाई छ।

त्यसैले अमेरिकासँगै विभिन्न देशमा टेस्लाका प्लान्टहरु खुल्नेक्रम बढेको छ। अमेरिका पछि टेस्लाको दोस्रो र अमेरिका बाहिर पहिलो टेस्ला गिगा चीनको सांघाईमा खुलेको थियो। त्यसपछि टेस्लाले जर्मनी र अमेरिकामै दोस्रो प्लान्ट स्थापना गरिसकेको छ। 

चिनियाँ बजारलाई केन्द्रित गरेर सांघाईमा टेस्लाको प्लान्ट स्थापना गरेका मस्क एसियाली बजारमा कार बिक्री गर्न अर्काे प्लान्ट स्थापना गर्न चाहिरहेका छन्। त्यसका लागि उनले भारतलाई उपयुक्त मुलुक मानेका थिए, आन्तरिक बजार र निर्यात सहजताका कारण। त्यसैले मोदीको यही अमेरिका भ्रमणका क्रममा टेस्लाले भारतमा प्लान्ट स्थापना गर्नेगरि प्रारम्भिक समझदारी गर्न सक्छ।

२०१४ मा पनि भारतीय प्रधानमन्त्री मोदी अमेरिका भ्रमणमा जाँदा मस्कलाई भेटेका थिए। मस्कले मोदीसँगको भेटपछि संक्षिप्त प्रतिकृया दिँदै आफूले आगामी वर्ष भारतको भ्रमण गर्ने बताएका थिए। भारतमा लगानीको सम्भावना अधिक रहेकाे समेत मस्कले बताएका थिए।  


प्रकाशित : बुधबार, असार ६ २०८००५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend