मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

टेस्लाको सुपरचार्जर नेटवर्क एक खर्ब डलरको हुने 

सोमबार, असार ४ २०८०
टेस्लाको सुपरचार्जर नेटवर्क एक खर्ब डलरको हुने 

वार्षिक २ करोड कार उत्पादन गर्न टेस्लाले कुल १ सय ५० अर्बदेखि १ सय ७५ अर्ब अमेरिकी डलर लगानी गर्नुपर्ने अनुमान गरिएको छ। हालसम्म टेस्लाले कार उत्पादनका लागि २८ अर्ब डलरभन्दा बढी लगानी गरिसकेको छ। 

काठमाडौं- विद्युतीय कारमात्र उत्पादन गर्नेगरL स्थापना भएको अमेरिकी कम्पनी टेस्ला इंक कार उत्पादनदेखि चार्जिङ पूर्वाधार विस्तारसम्म आक्रामक छ। सिंगो अटोमोबाइल उद्योगलाई झकझक्याउने गरी चार्जिङ पूर्वाधार विकासमा टेस्लाले ठूलो लगानी गर्दैछ। 

टेस्लाले चार्जिङ नेटवर्कमा विस्तार गरिरहेको लगानी र आगामी दिनको योजनाबाट प्रभावित भएर दुई भेट्रान अटोमोबाइल कम्पनी फोर्ड र जीएमले टेस्लासँग चार्जिङ साझेदारीको सम्झौता गरिसकेको छन्। यी दुई कम्पनीले टेस्लाका चार्जिङ नेटवर्कमा आफ्ना विद्युतीय कार चार्ज गर्न सक्नेछन्। टेस्लाले विकास गरेको नर्थ अमेरिकन चार्जिङ स्ट्यान्डर्ड (एनएसीएस) दुई कम्पनीका लागि खुला हुनेछ। 

योसँगै एनएसीएस उत्तर अमेरिकी क्षेत्रका लागि विद्युतीय सवारी चार्जिङमा नयाँ मानक नै बन्ने अनुमान गरिएको छ। उत्तर अमेरिकी क्षेत्रमा एनएसीएस चर्चित हुँदा यहाँ कम्बाइन्ड चार्जिङ सिस्टम (सीसीएस) क्रमिक रुपमा ओझेल पर्ने अनुमान हुन थालेको इनसाइडईभीज्ले लेखेको छ। उत्तर अमेरिकी क्षेत्रमा टेस्लासँगको साझेदारीमा र सीसीएस दुवै प्रयोग गर्छु भन्ने कार उत्पादकहरुलाई भने लाभ हुने छैन। 

फोर्ड र जीएमले टेस्लासँगको साझेदारीमा हाल अमेरिका र क्यानडामा गरेर १२ हजार वटाभन्दा बढी चार्जरमा सहज एक्सेस पाएका छन्। टेस्लाकै कार प्रयोगकर्ताको तुलनामा जीएम र फोर्डका कार प्रयोगकर्ताले टेस्लाको चार्जरबाट चार्ज गर्दा केही महँगो शुल्क तिर्नुपर्ने छ। 

टेस्लाले आफैले उत्पादन गरेको कार र अन्य कम्पनीसँग गरेको सम्झौताका आधारमा हुने कार चार्जिङबाट २०३० सम्म करिब ३ अर्ब डलर आम्दानी गर्ने अनुमान छ। यो टेस्लाले गर्ने वार्षिक आम्दानी हो। यस्तैमा मोरगन स्टेनलेले टेस्लाले विस्तार गर्ने सुपरचार्जरको मूल्य बारे अनुमान सार्वजनिक गरेको छ। 

मोरगन स्टेनलेका आदम जोनासले गरेको अनुमानअनुसार टेस्लाको सुपरचार्जरको मूल्य १ खर्ब डलरभन्दा बढीको हुनेछ। टेस्लाको विद्युतीय कारसँग सम्बन्धित सबै उत्पादन र चार्जिङ नेटवर्क उक्त मूल्यमा समावेश गरिएको छ। यसमा कर पछिको सञ्चालन नाफाको अनुमानलाई समेत राखिएको छ। 

टेस्लाले २०३० सम्म पुग्दा सवारी चार्ज गर्नका लागि आफ्नै सोलार स्टोरसमेत बनाइसक्नेछ। यी सबैको मूल्यांकन १ खर्ब डलरभन्दा बढीको हुनेछ। टेस्लाको सुपरचार्जरको मूल्यांकन हुन्डाई, बीएमडब्लूलगायत केही सवारी उत्पादनको कुल मूल्यांकन भन्दा बढी हुनेछ। यो मूल्यांकन एक विज्ञको मात्र राय हुने भएपछि वास्तविक भएको र समयले त्यसलाई प्रमाणित गर्नेे जोनासले बताएका छन्। 

टेस्लाको महत्वाकांक्षी योजना 

हाल टेस्लासँग विभिन्न स्थानमा गरेर वार्षिक २० लाख कार उत्पादन गर्ने क्षमता भएका प्लान्ट सञ्चालनमा रहेका छन्। हाल टेस्लाका प्लान्ट क्यालिफोर्निया, सांघाई, अस्टिन र बर्लिनमा रहेका छन्। मेक्सिकोमा खुल्ने प्लान्ट टेस्लाको अमेरिका बाहिर रहेको तेस्रो प्लान्ट हुनेछ।

टेस्लाले वार्षिक २ करोड कार उत्पादन गर्ने महत्वाकांक्षी योजना लिएको छ। सोही अनुसार टेसलाले उत्पादन प्लान्ट विस्तारलाई उच्च प्राथमिकता दिएको छ। टेस्लाले २०२२ मा १३ लाख कार उपभोक्तालाई हस्तारन्तरण गरेको थियो। विश्वको सबैभन्दा धेरै कार बिक्री गर्ने टोयोटाले २०२२ मका विश्वभर १ करोड कार बिक्री गरेको थियो। 

टेस्लाले पछिल्लो पटक मेक्सिकोमा स्थापना गर्ने भनेको प्लान्टमा करिब १ अर्ब अमेरिकी डलर लगानी गर्ने बताएको छ। टेस्लाले वार्षिक २ करोड वटा कार उत्पादन गर्न ठूलो लगानीसमेत गर्नुपर्ने छ।

वार्षिक २ करोड कार उत्पादन गर्न टेस्लाले कुल १ सय ५० अर्बदेखि १ सय ७५ अर्ब अमेरिकी डलर लगानी गर्नुपर्ने अनुमान गरिएको छ। हालसम्म टेस्लाले कार उत्पादनका लागि २८ अर्ब डलरभन्दा बढी लगानी गरिसकेको छ। 

टेस्लाका कार विश्वको धेरै देशमा पुगिसकेको छ। प्रविधि र विलासीता तथा विद्युतीय कार भएकाले धेरैको रोजाइमा टेस्ला ब्रान्ड पर्ने गरेको छ। तर उपलब्धता र महँगो मूल्यका कारण धेरैले खरिद गर्न सकिरहेका छैनन्। 

टेस्ला भारतमा पनि प्लान्ट लिएर आउन करिब तयार भएको छ। सुरुमा कार बिक्री गर्ने र बजारको विश्लेषण गरेर उत्पादन प्लान्टबारे निर्णय गर्ने योजनामा रहेको टेस्लालाई भारत सरकारले सहज रुपमा लिएन। भारतले सुरुमै प्लान्ट लिएर आउनु पर्ने अडान नछाडेपछि टेस्ला प्लान्ट लिएरै भारत आउने मनस्थितिमा पुगेको हो। 

टेस्लाका विद्युतीय कार नेपाली बजारमा समेत उपलब्ध रहेको छ। विद्युतीय कारमा सरकारले कर सहुलियत दिएकाले टेस्लाका विद्युतीय कार नेपाली बजारमा उपलब्ध हुन सकेका छन्। हालसम्म नेपाली बजारमा करिब ३ दर्जन विद्युतीय कार बिक्री भइसकेको छ। टेस्लाको मोडल थ्री र मोडल वाई नेपाली बजारमा बिक्रीका लागि उपलब्ध रहेको छ। आगामी आर्थिक वर्षको बजेटबाट सरकारले महँगा विद्युतीय कारमा केही कर घटाएसँगै टेस्लाका कारको समेत मूल्य घटिसकेको छ। 


प्रकाशित : सोमबार, असार ४ २०८००७:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend