आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

भारत निर्यात गरेर होइन, विद्युत प्राधिकरणको सिस्टमको समस्याले बिजुलीको आपूर्तिमा समस्या : कुलमान घिसिङ 

आइतबार, असार ३ २०८०
भारत निर्यात गरेर होइन, विद्युत प्राधिकरणको सिस्टमको समस्याले बिजुलीको आपूर्तिमा समस्या : कुलमान घिसिङ 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले पीपीए गरेका आयोजनाको बिजुलीमा ठूलो पैसा तिर्नुपर्ने भन्दै सिस्टमको समस्याले प्राधिकरणलाई समेत ठूलाे घाटा लागेको समेत बताए।

काठमाडौं-  विद्युत् प्राधिकरणको सिस्टममा आएको गडबडीले केही दिन देखि विद्युत् आपूर्तिमा समस्या आएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्।

पूर्व-पश्चिम र धेरै सबस्टेसनमा समस्या आएकाले धेरै ठाउँको सिस्टम दिनमै ११ पटकसम्म गएको उनले बताए। 'सिस्टमको समस्याले आपूर्तिमा समस्या आएको हो, भारतमा निर्यात गरेर होइन,' घिसिङले भने।  

अहिले धेरै स्थानको ट्रान्सर्फमर समेत पड्किएका कारण धेरै समस्या आएको घिसिङले बताए। उनका अनुसार अहिले पनि पिक समयबाहेक अन्य समयमा बिजुली खेर जाने अवस्था समेत आएको छ। प्राधिकरणले पीपीए गरेका आयोजनाको बिजुलीमा ठूलो पैसा तिर्नुपर्ने भन्दै उनले सिस्टमको समस्याले प्राधिकरणलाई समेत ठूलाे घाटा लागेको समेत बताए।

अहिले अधिकांश समस्या समाधान भएको र मर्मतको कार्यमा अहिले पनि प्राविधिकहरु लागि परिरहेको आइतबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलन उनले जानकारी दिए। 'सिस्टमको समस्याले निर्यातमा समेत समस्या भएको छ, बढी भएको मात्रै निर्यात गर्ने भएकोले यता काटेर उता पठायो भन्नु गलत प्रचार हो', घिसिङले भने।

अहिले २००० मेगावाट आयोजनाले दिन थालेको र अब बढ्दै जाने भएकाले अब केही दिनमा २७ सय मेगावाट पुग्ने उनले बताए। राति र दिउँसो दैनिक १२ सय मेगावाट बिक्री गर्नुपर्ने समेत घिसिङले जानकारी दिए। अहिले पनि हाम्रो प्रसारण लाइन १३२ केभीको मात्रै रहेकाले ओभरलोड भइरहेको उनले बताए।

अहिले गर्मी बढेका कारण पनि लोड बढेको घिसिङले बताए। अहिले सिस्टम स्थिर बनाउन प्राधिकरण लागिरहेको उनले जानकारी दिए। 'एसी  र फ्यानले अचानक एकैपटक ३० मेगावाट लोड थपिन फेरि १० मिनेटमै १० मेगावाटमा झर्ने हुन्छ, यसले पनि समस्या आइरहेको छ,' घिसिङले भने। 

प्रसारण लाइन र सबस्टेसन निर्माणमा अवरोध हुँदा समस्या आएको घिसिङले बताए। वनको ऐन कानूनका साथै जनताको गलत धारणाले ४ सय र २ सय केभी लाइन निर्माणमा समस्या आउँदा लोडमा समस्या आएको उनले बताए।


प्रकाशित : आइतबार, असार ३ २०८००८:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend