सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

हुलाकी सडक : साढे छ वर्षमा पनि निर्माण सकिएन

शुक्रबार, असार १ २०८०
हुलाकी सडक : साढे छ वर्षमा पनि निर्माण सकिएन

कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडकको काम ३० महिनामा सक्नुपर्ने साढे छ वर्ष बित्न लाग्दा पनि उस्तै छ। कञ्चनपुरको पूर्व क्षेत्रमा पर्ने डोकेबजारबाट बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक विसं २०७३ फागुनमा सम्झौता भएर निर्माण सुरु भएको थियो।

काठमाडौं- कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडकको काम ३० महिनामा सक्नुपर्ने साढे छ वर्ष बित्न लाग्दा पनि उस्तै छ। कञ्चनपुरको पूर्व क्षेत्रमा पर्ने डोकेबजारबाट बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक विसं २०७३ फागुनमा सम्झौता भएर निर्माण सुरु भएको थियो। निर्माणाधीन योजनाअन्तर्गतको दोस्रो र तेस्रो चरण (प्याकेज) को काम अझै सकिएको छैन।

हुलाकी राजमार्ग योजना कार्यालयका इन्जिनियर दीपक सुनारले कुल ६२ किलोमिटर सडकमध्ये २५ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको बताए। ‘पहिलो प्याकेज सकिए पनि दोस्रो र तेस्रो प्याकेजको काम अझै बाँकी छ’, उनले भने, ‘बेलौरीबाट बेल्डाडीसम्मको दोस्रो प्याकेजको २० किलोमिटरमा साढे नौ किलोमिटर मात्रै कालोपत्र भएको छ।’

इन्जिनियर सुनारले कार्यालयबाट दोस्रो प्याकेजको ठेक्का बदर गर्ने चरणमा पुगिसकेको बताए। ‘उक्त प्याकेजको लागत रू ४१ करोड ४१ लाख छ’, उनले भने, ‘त्यसमा ५० प्रतिशतमात्रै काम निर्माण कम्पनी बाबा हंस–सिद्धीसाई जेभीले गरेको छ।’ उनले पाँचौँपटक म्याद थप्दा पनि निर्माण कम्पनीले काम सम्पन्न नगरेको बताए। 

‘दोस्रो र तेस्रो प्याकेजको अवधि अब एक महिनामात्रै बाँकी छ’, सुनारले भने, ‘लगातार ताकेता गर्दैछौँ। समयमा निर्माण सम्पन्न नगरे बदरको प्रक्रियामा जाने चेतावनीसमेत दिइसकेका छौँ।’

हुलाकी सडकको ६२ किलोमिटर सडक तीन प्याकेजमा ठेक्का दिएर काम थालिएको थियो। पहिलो प्याकेजअन्र्गत डोकेबजारबाट बेलौरीसम्मको २० किलोमिटर सडक निर्माणका लागि शर्मा–राजेन्द्र जेभी कम्पनीले ३६ करोड ४७ लाखमा सम्झौता गरेको थियो।

दोस्रो प्याकेजको पचुँइ क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्र गर्न असहमति जनाउँदै आएको छ.। त्यस्तै, हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २२ किलोमिटर सडकमध्ये नौ किलोमिटर मात्रै कालोपत्र भएको इन्जिनियर सुनारले जानकारी दिए।  ‘निर्माण व्यवसायीले सम्झौताअनुसार निर्धारित समयभित्रै कार्य पूरा नगर्दा सडक निर्माणको कार्य निकै ढिलाइ भएको हो’, उनले भने।


प्रकाशित : शुक्रबार, असार १ २०८०१०:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend