मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

झिनियाँबाटै एक सिजनमा छ लाख आम्दानी

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक १९ २०७८
झिनियाँबाटै एक सिजनमा छ लाख आम्दानी

म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटका उद्यमी महिला तिहारका लागि उत्पादन गरेको झिनिया घाममा सुकाउँदै। तस्बिर : सन्तोष गौतम/रासस

गलकोट- तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन बागलुङ नगरपालिका–२ स्थित मरेपिपल निवासी मीरा श्रेष्ठलाई भ्याइनभ्याइ छ।

 मीरासँगै उनका श्रीमान् र छोराले दसैं अघिदेखि रात दिन नभनेर झिनियाँसहित चिनी, फिनी, भेली र नमकिन बनाइरहेका छन्। 
तिहारको समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि मीरासहित अन्य बागलुङका घरेलु उद्यमीलाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ।

उनले दसैं अघिदेखिबाट चार लाख रुपैयाँको झिनियाँ र तयारी अन्य रोटी बिक्री गरिसकेको बताइन। तीन घण्टामा सय दर्जन झिनियाँ उत्पादन गर्दै आएको मीराको भनाइ छ । 

‘पहिलेजस्तो नाफा त छैन तर सातरआठ वर्षदेखि झिनियाँ बनाउँदै आएकी छु एकै सिजनमा ८ लाख रुपैयाँ सम्म कारोबार गरेको थिएँ, पछिल्ला वर्षमा झिनियाँको व्यापार केही घटेको छ, अहिले एकै सिजनमा ६ लाखको कारोबार हुने अपेक्षा छ,’ मीराले भनिन, ‘ ४ लाख रुपैयाँको बिक्री भइसक्यो, दुई लाखका झिनियाँ र तयारी रोटी बिक्रीका लागि तयारी भइरहेको छ।’

 नेपाली समाजमा तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीका रूपमा दाजुभाइलाई खुवाउने परम्परा रहे पनि अन्य चाडबाडमा पनि झिनियाँको माग बढ्न थालेपछि अन्य समयमा समेत झिनियाँ, चिनी, फिनीलगायत रोटी बनाउन भ्याइनभ्याइ हुने गरेको छ।

 बागलुङका उद्यमीले दसैँ तिहारलाई लक्षित गरी दुई महिना अगाडिदेखि नै झिनियाँ रोटी बनाउन थालेका छन्। 
विशेषगरी तिहारको बेलामा झिनियाँको माग अत्यधिक हुने भएकाले आफूले दुई महिनादेखि झिनियाँ रोटी बनाइराखेको मीराको भनाइ छ।

बागलुङ बजारको मरेपिपलमा वर्षौंदेखि परम्परागतरूपमा झिनियाँ बनाउँदै आएकी मीराले बागलुङ बजारमा मात्रै आफूजस्ता दर्जनौँ महिला झिनियाँ रोटी बनाएर आयआर्जन गर्दै आइरहेको बताउँछिन। 

अहिले आधुनिक उपकरणको सहायताले ठूलो मात्रामा झिनियाँ उत्पादन गर्न सकिन्छ। मीराले तीन वर्षदेखि १ लाखको लागतमा झिनियाँ निर्माण गर्ने आधुनिक विद्युतीय उपकरणसमेत खरिद गरेकी छिन्।

 तिहारमा दाजुभाइलाई सप्तरङ्गी टीकासँगै सप्तरङ्गी झिनियाँसमेत खुवाउने परम्परा रहेकाले उद्यमी विभिन्न रङका झिनियाँ निर्माण गर्न व्यस्त छन। उद्यमी मीराले मरेपिपलामा अन्य महिलाले झिनियाँ बनाउन विस्तारै छोड्दै गए पनि आफूले व्यवसायलाई विस्तार गर्दै लगेको बताउँछिन।

उनका अनुसार थोकमा मूल्यमा सोना चामललाई एक हजार ३७० खरिद गर्ने गरिएको छ। एक बोरा चामलबाट करिब दुई हजार ५०० देखि तीन हजारसम्मको झिनियाँ उत्पादन गर्न सकिन्छ।
थोक मूल्यमा झिनियाँको एक दर्जनको सय रुपैयाँ र फुटकर १ सय ५० रुपैयाँ  मा बिक्री गर्दै आइरहेका उद्यमी यतिबेला झिनियाँ तयार गरेर सुकाउनमा व्यस्त देखिन्छन्। रासस

 


प्रकाशित : शुक्रबार, कात्तिक १९ २०७८०५:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend