सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

समपूरक अनुदानमार्फत झापासहित कोशीका सात सडकको स्तरोन्नति

शनिबार, जेठ २७ २०८०
समपूरक अनुदानमार्फत झापासहित कोशीका सात सडकको स्तरोन्नति

दुई चरणमा निर्माण गरिने सडकको अहिले स्तरोन्नति कार्य जारी छ। पहिलो खण्ड झन्डै आठ किलोमिटरको सडकको स्तरोन्नति भएको छ।

सुरुंगा- झापाको सुरुंगादेखि भारतको सीमा नाका डिगल बैंकसम्म २४ किलोमिटर सडकको स्तरोन्नतिका लागि १९ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ। समपूरक अनुदानतर्फ कोशी प्रदेश सरकारमार्फत निर्माण गरिने सडकका लागि नेपाल सरकार राष्ट्रिय योजना आयोगले सडकको स्तरोन्नतिका लागि सो रकम विनियोजन गरेको हो।

क्रमागत योजनामा राखेर आर्थिक वर्ष २०८०/८१ मा सो सडकलाई स्तरोन्नति गर्न बजेट विनियोजन गरिएको छ। सडक दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ। नालासहित ५० फिट चौडाइ रहने सडकको स्तरोन्नतिका लागि यसअघि तत्कालीन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका थिए।

दुई चरणमा निर्माण गरिने सडकको अहिले स्तरोन्नति कार्य जारी छ। पहिलो खण्ड झन्डै आठ किलोमिटरको सडकको स्तरोन्नति भएको छ। सो सडकको स्तरोन्नति कनकाई आशिष जेभी र दोस्रो खण्ड १८ किलोमिटर सडकको स्तरोन्नतिका लागि तुँदी-रोशन-मैनाचुली जेभीले तीन वर्षभित्रमा काम सक्ने गरी सम्झौता गरेको थियो। 

झापाको पुरानो सदरमुकाम झापा बजार जोड्ने अमरपथ सडकखण्ड निर्माण सम्पन्न भएसँगै कुमरखोद नाका हुँदै भारतीय बजार दिघल बैंकसम्मको आवागमन सहज हुने विश्वास गरिएको छ।

यता प्रदेश सरकारअन्तर्गत भद्रपुर-ज्यामिरगढी, धुलाबारी, गुर्जाबस्ती, मागुरमाडी, शान्तिनगर-इरौटार सडकको स्तरोन्नति गरिने भएको छ। सडक स्तरोन्नतिका लागि ४० करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ। 

कोशी प्रदेशअन्तर्गत निर्माण सम्पन्न हुने सात आयोजनामध्ये दुई आयोजना झापाका हुन्। अन्य पाँच आयोजना धनकुटा र भोजपुरमा दुई/दुई रहेका छन् भने इलाममा एउटा आयोजना रहेको छ।

भोजपुरमा सञ्चालन हुने आयोजनामध्ये मैनामैनी-हसनपुर-चुहार सडकको स्तरोन्नतिका लागि १२ करोड र तुर्केपुल-झ्याउपोखरी-साङपाङ हुँदै फालिदोबाटो सडकको स्तरोन्नतिका लागि १५ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ।

धनकुटामा सञ्चालन हुने आयोजनामा हिले-उत्तरपानी-छिन्ताङ-अदुवा-त्रिवेणी सडकको स्तरोन्नतिका लागि १२ करोड र बिहीबारे-हटिया-कर्मिटार-बञ्चरे-ताङ्वुवा-तेलिया-परेवादिन-शुत्रलबारे सडकको स्तरोन्नतिका लागि पाँच करोड रूपैयाँ बजेट विनियोजन गरिएको हो। रासस


प्रकाशित : शनिबार, जेठ २७ २०८००७:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend