काठमाडौं- जेठ १५ गते सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्यायो। उक्त बजेटमा केही मालवस्तुका करको दरमा हेरफेर भयो। त्यसमा विद्युतीय सवारीको करसमेत मोटर क्षमताका आधारमा केहीमा बढ्यो भने केहीमा घट्यो।
बजेटमा विद्युतीय कारमा कर बढ्दैछ भन्ने कुरा यसरी फैलिएको थियो कि उक्त कुराबारे सामाजिक सञ्जालमा अल्झिने जो कोही जानकार थिए। जेठ १५ गते आएको बजेटले उक्त कुरालाई पुष्टी गर्यो र सरकारले शून्यदेखि ५० किलोवाट मोटर क्षमता भएको विद्युतीय कारमा १० प्रतिशत भन्सार लगायो। यसअघिको बजेटमा शून्यदेखि १ सय किलोवाटलाई गणना गरिँदै आएकोमा यो वर्षको बजेटमा उक्त ब्रेकडाउन गरिएको हो।
५० देखि १ सय किलोवाट मोटर क्षमता भएका विद्युतीय कारमा भने सरकारले ५ प्रतिशत भन्सार बढाएर १५ प्रतिशत कायम गर्यो भने अन्तःशुल्क नभएको यो क्षमताको विद्युतीय कारमा १० प्रतिशत अन्तःशुल्क लगायो। यता १ सयदेखि २ सय किलोवाटससम्म मोटर पिकपावर भएका विद्युतीय कारको कर भने सरकारले घटाइदियो।
यो पिकपावर भएको विद्युतीय कारमा चालु आवको बजेटमा ३०/३० प्रतिशत भन्सार र अन्तःशुल्क रहेकोमा आगामी आर्थिक वर्षको बजेटमा यसलाई १०/१० प्रतिशत घटाएर भन्सार र अन्तःशुल्क क्रमशः २०/२० प्रतिशत कायम गरियो। यसले महँगा र बढी पावरका विद्युतीय कारको मूल्य यसअघिको तुलनामा उल्लेख्य रुपमा घटायो।
त्यस्तै सरकारले २ सयदेखि ३ सय किलोवाट मोटर पिकपावर भएका विद्युतीय कारमा ४५/४५ प्रतिशत रहेको भन्सार र अन्तःशुल्कलाई ५ प्रतिशत भन्सार घटाएर ४० प्रतिशत भनाएर अन्तःशुल्क ४५ प्रतिशत यथावत नै राखेको छ। ३ सय किलोवाटभन्दा बढी पिक पावर भएको विद्युतीय कारको कर दर भने यथावत नै राखिएको छ। यो क्षमताका विद्युतीय कार नेपाली बजारमा भित्रिएका छैनन्।
यसरी ५० देखि १ सय किलोवाट पिकपावर भएको मोटर क्षमता जडित विद्युतीय कारमा कर बढ्ने सूचना चुहिएर बजेट आउनुपूर्वका १४ दिनमा अस्वभाविक संख्यामा विद्युतीय कार आयात भएको चर्चा चलेको छ। यसरी चलेको गलत तथ्यांकको चर्चाले विद्युतीय कार आयात गर्ने व्यवसायीहरू अचम्मित भएका छन्।
बजेट आउनुपूर्व जेठ १ देखि १४ गतेसम्म देशभरका नाकाबाट ८ सय ८३ वटा विद्युतीय कार भित्रिएको तथ्यांक बिजनेस न्युजले प्राप्त गरेको छ। कुन कम्पनीले कति मोटर क्षमताका, कति संख्यामा र कुन कुन भन्सार बिन्दुबाट जाँचपास भएभन्ने तथ्यांक उपलब्ध छ।

२०८० को बैशाखमा विभिन्न देशबाट नेपालमा ५ सय ४ वटा विद्युतीय कार भित्रिएको छ। साउनदेखि बैशाखसम्ममा भने कुल २ हजार ९ सय ५५ वटा विद्युतीय कार आयात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा छ। तर जेठ १ देखि १४ गतेसम्म चीन, भारतलगायत विभिन्न देशबाट ८ सय ८३ वटा विद्युतीय कार भित्रिएको यथार्थ तथ्यांक हुँदाहुँदै गलत तथ्यांक उल्लेख गरेर कर छलीको आरोप व्यवसायीलाई लगाउने आपत्तिजनक भएको एक विद्युतीय सवारी आयातकर्ताले बताए।
‘जेठमा विद्युतीय कार आयातको तथ्यांक हेर्दा स्वभाविक नै छ। १४ दिनमा ८ सय ८३ वटा विद्युतीय कार आउनु अन्यथा होइन। कुनै कम्पनीले एकै लटमा ५०, १०० वा २ सय वटासम्म कार ल्याउने गरेका छन्,’ ती आयातकर्ताले भने, ‘सूचना चुहाएर कार आयात गरेको भए त हजारभन्दा बढी विद्युतीय कार एकै व्यवसायीले ल्याउन सकिहाल्थे नि। यस्तो अनावश्वक हौवा किन र कसरी फैलाइयो, अचम्मित छौं।’ व्यवसायीले भनेजस्तै वास्तविक तथ्यांकले भने अस्वभाविक संख्यामा विद्युतीय कार आयात भएको देखाउँदैन।
चालु आर्थिक गएको साउनदेखि बैशाख मसान्तसम्म २ हजार ९ सय ५५ वटा विद्युतीय कार नेपाल भित्रिएका थिए।
चालु आर्थिक वर्षको साउनमा २ सय ११ वटा, भदौमा २ सय ३ वटा, असोजमा २ सय ९१ वटा, कात्तिकमा ३ सय १३ वटा, मंसिरमा ३ सय ३५ वटा, पुसमा ३ सय ९६ वटा र माघमा २ सय ६० वटा विद्युतीय कार आयात भएका छन्। त्यस्तै फागुनमा १ सय ८९ वटा, चैतमा २ सय ५३ वटा, बैशाखमा ५ सय ४ वटा र जेठ १४ गतेसम्म २ सय १९ वटा विद्युतीय कार आयात भएको छ।

चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा १ सय किलोवाटसम्म मोटर पावर भएका विद्युतीय कारको कर नबढाइएकाले यो क्षमताका विद्युतीय कारको आयात उल्लेख्य संख्यमा बढेको थियो।
जेठ १ देखि १४ गतेसम्म दैनिक रुपमा जाँचपास भएका विद्युतीय कारको संख्यामा १ गते सबैभदा धेरै २ सय ५६ वटा र जेठ ७ गते सबैभन्दा कम ५ वटा विद्युतीय कार जाँचपास भएको भन्सारको तथ्यांक छ। त्यस्तै जेठ १२ गते २ सय ४३ र जेठ १४ गते १ सय ५३ वटा विद्युतीय कार नेपाल भित्रिएका थिए।
