आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सेती जलविद्युत् आयोजना अन्तिम चरणमा, १३ वटा टावरमध्ये ११ वटामा काम हुँदै

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ २१ २०८०
सेती जलविद्युत् आयोजना अन्तिम चरणमा, १३ वटा टावरमध्ये ११ वटामा काम हुँदै

सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट पावर हाउसमा खसालेर विद्युत उत्पादन गर्ने योजना छ।

कास्की- कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको हो। आयोजना माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलामा बनिरहेको छ। विसं २०७७ भदौदेखि विद्युत आयोजना निर्माण सुरु भएको थियो।

आयोजनाको  सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन(प्रसारण लाइन) निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए।

उनका अनुसार ढिलोमा पनि आगामी मङ्सिरभित्रमा आयोजना सम्पन्न भएर व्यावसायिकरुपमा विद्युत उत्पादन हुनेछ। स्थानीयवासी, स्थानीय सरकार र प्रशासनको सहयोगबाट नै आयोजना तोकिएको समयमा सम्पन्न हुन लागेको अध्यक्ष पोखरेलले बताए।

उनले भने, 'जलविद्युतमा २५ मेगावाट सानो परियोजना होइन। धेरै मानिस जोडिनुभएको छ। एक हजार पाँच सय जना प्रवर्द्धकको लगानी छ, सुरुवाती लागत बढेको छैन। पारदर्शीरुपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका छौँ, छिट्टै सफलता मिल्नेमा आशावादी छौँ।'

सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट पावर हाउसमा खसालेर विद्युत उत्पादन गर्ने योजना छ। पाइपमार्फत लगिएको पानी पावर हाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा खसालिने छ। सो आयोजना नदी जलप्रवाहमा आधारित छ।

कोरोना कहरकाबीच सुरु भएको आयोजनामा सुरुवाती चरणमा काममा असर पुगेकाले एक वर्ष म्याद थप भएको अध्यक्ष पोखरेलले बताए। आयोजनाको म्याद विसं २०८१ साउनसम्म रहेको छ। उनले भने, 'कोरोनाले काममा असर गर्दा एक वर्ष म्याद थप गर्नुपरेको हो। स्थानीय सरकार, स्थानीयवासी तथा सबैको साथ सहयोगले आयोजना सम्पन्न हुने चरणमा छ। अबको पाँच महिनाभित्रमा आयोजना सम्पन्न भएर विद्युत् उत्पादन हुनेछ।' 

सेती जलविद्युत् आयोजनामा रु पाँच अर्ब लगानी रहेको छ। यसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन्। अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपियो जारी गरेर पूरा गरिने आयोजनाले जनाएको छ।

आयोजनाका इन्जिनियर उपेन्द्र घिमिरेले हेडबक्र्सको काम सकिएर पानी पठाउन सुरु भएको बताए। त्यसैगरी पाइपलाइनतर्फ एक सय ५० मिटर जति मात्र काम बाँकी छ। 'पावर हाउसको सिभिलको काम सकिएको छ। स्विचयार्डको काम भइरहेको छ र इलेक्ट्रोमेकानिकलको केही सामान आउन बाँकी रहेको छ', घिमिरेले भने, 'सबै क्षेत्रतर्फ गर्नुपर्ने मुख्य काम सकिएको छ। केही सानातिना काम पूरा गर्नुपर्नेछ।'

सेती आयोजनाबाट उत्पादित विद्युत् चार किमी दूरीमा लाहाचोकमा रहेको नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमा जोडिनेछ। विद्युत्गृहबाट सवस्टेशनसम्म प्रसारण लाइन निर्माण भइरहेको  छ। प्रसारण लाइमा १३ वटा टावर रहनेमा हालसम्म ११ वटामा काम भइरहेको इन्जिनियर घिमिरेले बताए। 

आयोजनाको सञ्चालकसमेत रहनुभएका सामाजिक क्षेत्र निर्देशक बमबहादुर गुरुङले स्थानीय जनताको सहयोगबाटनै आयोजना सम्पन्न हुने चरणमा पुगेको बताए। निर्माणका क्रममा आउने सानातिना समस्या छलफलका माध्यमबाट समाधान गर्दै आयोजनाबाट निकट भविष्यमा विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको उनले उल्लेख गरे। आयोजनाबाट देशको ऊर्जा क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास गुरुङको छ। रासस


प्रकाशित : आइतबार, जेठ २१ २०८००४:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend