मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

‘२०३५ अघि विद्युतीय कारको मूल्य पेट्रोलियम कारकै तहमा आउँदैन’

शनिबार, जेठ २० २०८०
‘२०३५ अघि विद्युतीय कारको मूल्य पेट्रोलियम कारकै तहमा आउँदैन’

हालैमात्र फोर्डले अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला इंकसँग टेस्लाले बनाएको सुपरचार्जर नेटवर्कमा फोर्डका विद्युतीय कारसमेत चार्ज गर्न सकिनेगरि सम्झौता गरेको छ।

काठमाडौं- विद्युतीय सवारीको उत्पादन लागत निकै महँगो छ। विद्युतीय कारमा प्रयोग हुने ब्याट्रीको उत्पादन लागत महँगो हुँदा कारको लागत बढी भएको हो। गएको ५ वर्षको तुलनामा ब्याट्री उत्पादन लागतमा कमी आएको भए पनि पेट्रोलियम कारसँग प्रतिस्पर्धा गर्नेसक्ने मूल्यमा आइपुगेको छैन। 

विद्युतीय कारको लागत नै महँगो भएकाले संसारभरका सरकारहरुले उत्पादकदेखि उपभोक्तासम्मलाई प्रत्यक्ष सहुलियतदेखि कर सहुलियसम्म दिँदै आएका छन्। सहुलियतको सीमा क्रमशः कम हुँदै गइरहेको छ। त्यसैले विद्युतीय कारको लागत उपभोक्ताका लागि महँगो परिनै रहेको छ। 

यस्तैमा अमेरिकी कार उत्पादक कम्पनी फोर्डका प्रमुख कार्यकारी अधिकृत जिम फर्लेले २०३० भन्दा अघि विद्युतीय कारको लागत घट्न नसक्ने बताएका छन्। २०३० देखि २०३५ सम्ममा भने विद्युतीय कारको उत्पादन प्रक्रिया सामान्यीकरण हुने र श्रमिक लागत कम हुने भएकाले २०३५ पछिमात्र विद्युतीय कारले मूल्य पेट्रोलियम कारसँग प्रतिस्पर्धा गर्ने अवस्था आउने उनको भनाइ छ। 

लगानीकर्ताहरुको भेलामा फोर्ड सीईओ जिमले सबैजसो कार उत्पादकका लागि पेट्रोलियम कार बनाउनभन्दा विद्युतीय कार बनाउन महँगो गरिरहेको बताएका हुन्। ‘अहिले विद्युतीय कारको पहिलो पुस्ता उत्पादन भइरहेको छ,’ उनले भने, ‘यो दशकको अन्त्यसम्ममा विद्युतीय कारको दोस्रो वा तेस्रो पुस्तासम्म उत्पादन हुन सक्छ। त्यो मास उत्पादनमा जाँदामात्र विद्युतीय कारले मूल्यमा पेट्रोलियम कारसँग प्रतिस्पर्धा गर्ने अवस्था आउँछ।’ 

तर विश्लेषकहरुले भने फोर्ड सीईओले भनेजस्तो विद्युतीय कार र पेट्रोलियम कारले मूल्यमा प्रतिस्पर्धा गर्न २०३० पछि नै कुर्नुपर्ने अवस्था नआउने बताएका छन्। उनीहरुको दाबीलाई मान्ने हो भने २०२५ कै वरिपरी विद्युतीय कारले पेट्रोलियम कारसँग मूल्यमा प्रतिस्पर्धा गर्न सक्नेछन्।

२०३० देखि २०३५ को बीचमा विद्युतीय सवारी उत्पादनमा श्रम शक्ति न्यून हुने र कमभन्दा कम पार्टसको प्रयोगमा विद्युतीय सवारी बन्ने अवस्था आउनेछ। त्यस्तैगरि उक्त समयसम्म पुग्दा ब्याट्री उत्पादनमा अहिले भइरहेको लगानीको परिणम आउने हुँदा ब्याट्रीको मूल्य समेत घट्ने भएकाले विद्युतीय कार प्रतिस्पर्धी मूल्यमा आउने फोर्ड सीईओ जिमले बताएका हुन्। 

उक्त समयसम्म पुग्दा विद्युतीय सवारी अनलाइनबाट बिक्री हुने र डिस्ट्रिब्युुसन लागत कम हुने तथा सफ्टवेयर निर्देशित सेवा बिक्री गर्दा आम्दानी समेत बढ्ने विश्वास जिमको छ। फोर्डको सफ्टवेयर सर्भिसमा हाल ६ लाख सब्सक्राइबर छन् यो अघिल्लो वर्षको तुलनामा तेबरले बढी हो। २०३० पछि यो उल्लेख्य रुपमा बढेको भइसक्ने फोर्डले जनाएको छ। 

विद्युतीय सवारीका लागि चाहिने चार्जिङ स्टेसन पनि अहिले पर्याप्त संख्यामा बनिसकेका छैन। अबको ५/७ वर्षमा यो पर्याप्त संख्यामा बन्ने भएकाले उपभोक्तामा विद्युतीय सवारी प्रति थप विश्वास बढ्नेछ। 

हालैमात्र फोर्डले अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला इंकसँग टेस्लाले बनाएको सुपरचार्जर नेटवर्कमा फोर्डका विद्युतीय कारसमेत चार्ज गर्न सकिने गरि सम्झौता गरेको छ। फोर्ड सीईओ जिमले विद्युतीय सवारीको युगमा सहकार्य जरुरी भएको बताएका छन्।


प्रकाशित : शनिबार, जेठ २० २०८००९:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend