सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

कान्ति राजमार्ग : समस्या रहेको खण्डबाहेकको निर्माण यसै आवमा सकिने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १९ २०८०
कान्ति राजमार्ग : समस्या रहेको खण्डबाहेकको निर्माण यसै आवमा सकिने

सरकारको प्राथमिकतामा परेसँगै सडकको स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेको छ। सरकारले सो सडकलाई पहिलो प्राथमिकताको योजनाका रुपमा राखेसँगै योजना कार्यालयको स्थापना भएको थियो।

काठमाडौं- संघीय राजधानीलाई बागमती प्रदेशको राजधानीसँग जोड्ने छोटो राजमार्गका रुपमा रहेको कान्ति राजमार्गमा समस्या रहेको खण्डबाहेकको सडक यस वर्ष सम्पन्न हुने भएको छ।

बर्सेनि पहिरो आउने पाँच किमी खण्डबाहेकको सडक आगामी असारसम्ममा कालोपत्र सकिने गरी काम भइरहेको छ। जम्मा ९० किमी लम्बाइको सो राजमार्गमा यस वर्ष साढे चार किलोमिटर सडक कालोपत्र सकिएको र तीन किमीमा काम भइरहेको कान्ति राजमार्ग योजना कार्यालयले जनाएको छ।

यो आर्थिक वर्षमा विगतमा काम नभएका (क्रोनिक ठेक्का) को काम भइरहेको योजना प्रमुख सुरेश न्यौपानेले बताए। उनका अनुसार यो आवमा अहिलेसम्म साढे चार किमी कालोपत्र (अस्पाल) सकिएको छ। तीन किमी कालोपत्र भइरहेकामा यो आवमा सकिने उनले बताए। विभिन्न समस्याका कारण ठेक्का लागेको लामो समयसम्म पनि नसकिएका ठेक्का तीन छन्। उनले भने, 'गत वर्ष विभिन्न कारणले काम हुन नसकेका क्रोनिक ठेक्काको अहिले काम भइरहेको छ।'

ललितपुरमा दुई र मकवानपुर एक गरी तीन ठेक्का अवधि सकिएको लामो समय हुँदा पनि अझै सम्पन्न भइसकेका छैनन्। यी ठेक्का सम्पन्न भएपछि समस्या भएको क्षेत्र (पाँच किमी) बाहेक अरु सकिने प्रमुख न्यौपानेले बताए।

ललितपुरतर्फका सम्पन्न हुन बाँकी ठेक्का बिरुवा एसएल सुनकोशी जेभी र सूर्य वाइवा कन्स्ट्रक्सनका छन्। झण्डै आठ वर्ष पहिले यी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। मकवानपुरमा नागार्जुन सर्वशक्ति कम्पनीले पनि काम सकेको छैन। सो कम्पनीसँग आव २०७४/७५ मा ठेक्का सम्झौता भएको योजनाले जनाएको छ।

मकवानपुरको चुच्चेखोलामा लामो समयसम्म नागरिकले घर नहटाएकाले काम हुन नसकेको भए पनि अहिले काम भइरहेको प्रमुख न्यौपानेले बताए। सम्पन्न नभएका तीन वटै ठेक्कामा कहिले कोभिडका कारण र कहिले सार्वजनिक खरिद नियमावली संशोधन हुँदा नियमावलीको व्यवस्थाका कारणले काम नहुँदा पनि अवधि थप हुँदै आएको  थियो।

यो आवमा निर्माण कम्पनीले सक्नैपर्ने र यदि नसकिएमा ठेक्का तोडिने गरी तयारी अघि बढाइने उनले बताए। उनका अनुसार अहिले यी कम्पनीले काम गरिरहको छन्। निर्माण सुरु गर्दा ९० किमी लम्बाइ रहेको सो राजमार्गको लम्बाइ अहिले ८६ किमी छ। पहिले राजमार्गको सुरु विन्दु हेटौँडाको बुद्धचोक तथा अन्तिम विन्दु पहिले सातदोबाटो भए पनि अहिले रेखाङ्कन परिवर्तन भएर अन्तिम विन्दु नख्खु (चक्रपथ) भएको छ।

रेखाङ्कन परिवर्तन हुँदा लम्बाइ कम भएको छ। राजमार्गको छ किमी सडक निर्माण डिभिजन सडक कार्यालयले गरिहरहेको छ। योजनाले टीकाभैरवबाट बुद्धचोकसम्म ७९ किमी सडक निर्माण गरिरहेको छ। त्यसमध्ये ५१ किमी सडक ललितपुर र २८ किमी मकवानपुर जिल्लामा पर्छ।

विसं २०७२/७३ पछि सरकारको प्राथमिकतामा परेसँगै सडकको स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेको छ। सरकारले सो सडकलाई पहिलो प्राथमिकताको योजनाका रुपमा राखेसँगै योजना कार्यालयको स्थापना भएको थियो। सरकारले एक दशकयता बर्सेनि राजमार्गका लागि बजेट विनियोजन गर्दै आएको छ । अझै पनि विनियोजित बजेट कम रहेको योजनाले बताउँदै आएको छ।

निर्माणाधीन सो राजमार्गलाई हेटौँडाबाट मुग्लिन हुँदै काठमाडौँसम्मको दुई सय २६ किमी लम्बाइको र हेटौँडाबाट पालुङ हुँदै काठमाडौँ आउने एक सय ३६ किमी सडकको विकल्पका रुपमा समेत हेरिएको छ। ट्रयाक खुलेको लामो समय हुँदा पनि सो सडक कालोपत्र हुन सकेको थिएन। झण्डै एक दशक पहिलेदेखि भने स्तरोन्नतिको काम भइरहेको छ ।

बागमती प्रदेशको राजधानी हेटौँडा तोकिएपछि राजमार्गले महत्व पाएको छ। ललितपुरको सबैभन्दा विकट क्षेत्रमा पर्ने क्षेत्र नं १ को विकासको आधारका रुपमा पनि यो राजमार्ग रहेको छ। सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहको निर्वाचनमा उम्मेदवारले यो सडकको स्तरोन्नति सबैभन्दा उठाउने मुद्दा बन्दै आएको छ। रासस 


प्रकाशित : शुक्रबार, जेठ १९ २०८००९:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend