आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

चिनियाँले अर्घेल्याइँ गरेपछि ७५६ मेगावाट क्षमताको तमोर आयोजना पनि भारतीय कम्पनीलाई दिने तयारी

कतार र जापानको कम्पनीलाई पन्छाएर चिनियाँलाई दिइएको आयोजना अलपत्र

बिहीबार , जेठ १८ २०८०
चिनियाँले अर्घेल्याइँ गरेपछि ७५६ मेगावाट क्षमताको तमोर आयोजना पनि भारतीय कम्पनीलाई दिने तयारी

काठमाडौं- ७ सय ५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजना निर्माणको जिम्मा पाएको पावर चाइनाले साढे तीन वर्षसम्म बेवास्ता गरेपछि सरकारले भारतीय कम्पनीलाई जिम्मा दिनेगरी प्रक्रिया अगाडि बढाएको छ। 

१ अर्ब ७१ करोड अमेरिकी डलर लागत अनुमान गरिएको आयोजनामा चिनियाँ कम्पनीले लापरबाही गरेपछि सरकारले यो आयोजना पनि भारतीय कम्पनीलाई नै दिनेगरी प्रक्रिया अगाडि बढाएको छ।

२०७६ असोज २६ गते लगानी बोर्डले आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी पावर चाइनालाई दिएको थियो। चिनियाँ राष्ट्रपति सी जीनफिङ नेपाल भ्रमणमा रहेको सयममा तमोर निर्माण गर्ने सहमति भएको थियो। 

बोर्डले आयोजनाको लागि पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड तथा नेब्रास पावर कतार होल्डिङसँग जेभी रहेको फुजी इलेक्ट्रिक कम्पनी लिमिटेड जापानसँग प्रस्ताव माग्ने निर्णय गरेको थियो। अन्तिम चरणमा छानिएका कम्पनीबाट आएका प्रस्ताव मूल्यांकनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा प्राविधिकसहितको समिति गठन पनि गरिएको थियो। सोही कमिटिको सिफारिसअनुसार चिनियाँ कम्पनीलाई जिम्मा दिइएको थियो।

तत्कालिन समयमा समझदारीपत्रमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत छवीराज पोखरेल र पावर चााइनाका चतर्फबाट उपध्यक्ष पान देङ युले हस्तक्षर गरेका थिए। तर वर्षौंसम्म आयोजनाको प्रगति हुने नदेखिएपछि बोर्डले चिनियाँ कम्पनी पावर चाइनालाई ३० दिनको समय राखेर पत्र लेख्ने निर्णय गरेको छ। 

बोर्डले तमोर जलविद्युत आयोजनाको नेपाली कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) सँगको साझेदारीमा तमोर जलविद्युत आयोजनाको काम गर्ने सम्झौता गरेको पावर चाइनालाई पत्र पठाउने निर्णय  समेत गरेको थियो। कम्पनीलाई ३० दिनको समय दिएर पावर चाइनालाई पत्र लेख्ने निर्णय भएको हो।

‘पत्रको जवाफ आएपनि चित्तबुझ्दो नआउने निश्चित रहेकोले अब सम्झौता रद्दको प्रक्रियामा जाने हो,’ लगानी बोर्डकै एक अधिकारीले भने।

यता चिनियाँले एकपछि अर्को आयोजनाबाट पछाडि फर्केका बेला भारतीयले भने एकपछि अर्को आयोजना लिएका छन्। तमोरमा पनि भारतीय कम्पनी एनएचपीसीले चासो दिएको छ। 

tamor.jpg

पावर चाइनासँग रोल्पाको १५६ मेगावाटको माडी बहुउद्देश्यीय आयोजना पनि मिलेर आयोजना विकासका गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको थियो। यसमा २६ प्रतिशत लगानी जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको र ७४ प्रतिशत हुनेगरी सम्झौता भएको थियो। 

२०७० साउन १६ गते प्राधिकरणले विद्युत् विकास विभागबाट तमोर जलाशययुक्त आयोजना अध्ययनका लागि अनुमतिपत्र पाएको थियो। सन् १९८५ मा जाइकाले प्रारम्भिक अध्ययन गरेको यो आयोजना ऊर्जा उत्पादनका हिसाबले महत्वपूर्ण मानिएको छ। तमोर आयोजनाको बाँध तेह्रथुमको ओख्रे र पाँचथरको स्याबरुम्बाको सीमा भएर बग्ने लम्बुदोभानबाट डेढ किलोमिटर ताल बन्नेछ। यो आयोजना पूर्वपश्चिम ४ सय केभीको प्रशरणलाइनबाट ७५ किलोमिटरको दुरीमा छ।

आयोजनामा २०५ मिटरको ड्याम बनाए ७६२ मेगावाट बिजुली उत्पादन हुने प्राधिकरणको अध्ययनले देखाएको छ। त्यसलाई बढाएर ३ सय मिटर पुर्‍याए तमोरबाट २५ सय ६५ मेगावाट बिजुली उत्पादन हुनेछ। तमोरमा २०५ मटिर बाँध लगाउँदा जम्मा १२६ घरपरिवारमात्रै विस्थापित हुनेछन्। यो जलाशयमा जम्मा डुबानमा पर्ने जग्गामध्ये ५ प्रतिशतमात्रै खेतीयोग्य हुनेछ। 


प्रकाशित : बिहीबार , जेठ १८ २०८००४:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend