आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

भारतमा बिजुली निर्यात सुरू, यो वर्ष २५ अर्बको बिक्री गर्ने लक्ष्य

शनिबार, जेठ १३ २०८०
भारतमा बिजुली निर्यात सुरू, यो वर्ष २५ अर्बको बिक्री गर्ने लक्ष्य

गत वर्ष ११ अर्ब आम्दानी गरेको प्राधिकरणले यो वर्ष २५ अर्बको निर्यात गर्ने लक्ष्य राखेको छ। 

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले लक्ष्यभन्दा दुई दिन आगाडिदेखि नै बिजुली भारतमा निर्यात गर्न सुरु गरेको छ।

शनिबारबाट नदीमा पानीको बहाव बढेपछि उत्पादन १३ सय मेगावाट पुगेसँगै बिजुली निर्यात सुरु गरिएको हो। 

अब उत्पादन बढ्दै जाने भएकोले निर्यात पनि बढ्दै जाने प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए। ‘शनिबार १०० मेगावाट पठाइएको छ, अब बढ्दै जान्छ,’ प्रवक्ता भट्टराईले भने। 

प्राधिकरणले शनिबार करिब ७ रुपैयाँ प्रतिवाट हाराहारीमा निर्यात गरेको हो। हिउँद लागेपछि पुस ३ देखि भारतमा बिजुली निर्यात बन्द गरेर दैनिक ४ सय मेगावाटसम्म आयात गरिएको थियो।

नेपालबाट ४५२ मेगावाट बिजुली निर्यातको अनुमति रहेको छ। तर यो वर्ष उत्पादन असारसम्म २८ सय मेगावाट पुग्ने छ। खपत १६ सय मेगावाट मात्रै भएकोले पनि दैनिक १२ सय मेगावाट भारतले निर्यात अनुमति नदिए दैनिक झन्डै ८ सय मेगावाट बिजुली खेर जानेछ।

यसै सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी असार १७ गते चार दिने भारत भ्रमणमा जाँदैछन्। प्रधानमन्त्री दाहालले भ्रमणमा प्रमुख एजेन्डाका रुपमा उर्जालाई प्राथमिकता दिँदै दैनिक ३ हजार मेगावाट बिजुली निर्यातको अनुमतिका लागि प्रस्ताव गर्दैछन्।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष १२ सय मेगावाट बिजुली निर्यात गर्ने बताउँदै आएका छन्।

'अहिले ढल्केबरबाट ८ सय मेगावाट निर्यात गर्न सक्ने क्षमतामा रहेका छौँ। पूर्वतिर पनि काबेली र इनरुवा करिडोरबाट निर्यात गरिनेछ। यता विहारको लाइनबाट पनि बिजुली निर्यातको तयारी गरेका छौँ', कार्यकारी निर्देशक घिसिङले भने', 'यो वर्ष १२ सय मेगावाट बिजुली निर्यात गर्नेछौँ।'

नयाँ १४ वटा आयोजनाको बिजुली निर्यात गर्ने उनले बताए। जेठको पहिलो साताबाट सुरु गरेर बढीमा १२ सय मेगावाट बिजुली निर्यात गर्ने योजना रहेको उनको भनाइ छ।

गत वर्ष ११ अर्ब आम्दानी गरेको प्राधिकरणले यो वर्ष २५ अर्बको निर्यात गर्ने लक्ष्य राखेको छ। 


प्रकाशित : शनिबार, जेठ १३ २०८०१२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend