आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

नीलगिरि जलविद्युत् आयोजना अन्तिम चरणमा, ८० प्रतिशत काम सकियो

बुधबार, जेठ १० २०८०
नीलगिरि जलविद्युत् आयोजना अन्तिम चरणमा, ८० प्रतिशत काम सकियो

नीलगिरि हाइड्रोपावरका इन्जिनियर रत्न बमजन तामाङले सुरुङ, विद्युत्‌गृह, बाँध र प्रशारण लाईन निर्माणलाई पूर्णता दिन धमाधम काम भइरहेको जानकारी दिए।

म्याग्दी- म्याग्दीको नारच्याङस्थित नीलगिरि खोलामा ११० मेगावाट क्षमताका दुई वटा जलविद्युत् आयोजना निर्माणको ८० प्रतिशत काम सकिएको छ।

अन्नपूर्ण र नीलगिरि हिमालबाट बगेर आउने नीलगिरि खोलामा ३८ मेगावाट क्षमताको नीलगिरि पहिलो र ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत् आयोजना निर्माणाधीन छन्। विस २०७६ देखि सुरू भएको दुई वटै आयोजनाको प्रर्वद्धक कम्पनी नीलगिरि हाइड्रोपावरले संरचना निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ।

नीलगिरि हाइड्रोपावरका इन्जिनियर रत्न बमजन तामाङले सुरुङ, विद्युतगृह, बाँध र प्रसारण लाइन निर्माणलाई पूर्णता दिन धमाधम काम भइरहेको जानकारी दिए। 'दुवै आयोजनाको बाँधस्थल, सुरुङ खन्ने र विद्युतगृह निर्माण काम सकिएको छ,' उनले भने, 'भौतिक संरचनालाई अन्तिम रुप दिनेसँगै इलोक्ट्रोमेकानिकलको काममा केन्द्रित भएका छौँ।'

नीलगिरि पहिलोको दुई हजार मिटर र दोस्रोको चार हजार दुई सय मिटर सुरुङ खन्ने काम सकिएर ढलान भइरहेको छ। पेनस्टक टनेल खन्ने काम सकिएर पहिलोको आठ सय मिटर र दोस्रोको १५ सय मिटर पेनस्टक पाइप जडानको काम थालिएको तामाङले जानकारी दिए।

नीलगिरि पहिलोको विद्युतगृहबाट निस्कने पानीलाई बाँध बनाएर नीलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण गरिएको छ। नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युतगृह निर्माण गरिएको छ।

क्यासकेडको विद्युतगृह दोभानदेखि नीलगिरि पहिलोको बाँध हुमखोलासम्म अक्करे पहाड र विकट क्षेत्रमा दुई वर्ष लगाएर १४ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको थियो। आगामी ६ महिनाभित्रमा दुवै आयोजना एकसाथ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाका इन्जिनियर केशव वाग्लेले बताए।

'हिमालको फेदीमा आयोजना निर्माण गर्नु हाम्रासामु ठूलो चुनौती थियो,' उनले भने, 'हामीले सबै चुनौती र समस्यासँग जुधेर आयोजना निर्माण करिब अन्तिम चरणमा पुर्‍याउन सफल भएका छौँ।'

आयोजनामा हाल पाँच सय जना प्राविधिक जनशक्ति र मजदुर परिचालन भएका छन्। यी दुई आयोजना नारच्याङको दुर्गम भेगमा पर्दछन्। कठिन भीरपहरा छिचोलेर आयोजनाको निर्माणस्थलसम्म पुग्न सडक निर्माण गरिएको छ। भौगोलिक विकटता, हिउँद याममा हिमपात हुँदा काम गर्न नसक्नु र कोरोना महामारी यो आयोजना निर्माणमा देखिएका चुनौती हुन्।

निजी क्षेत्रको लगानीबाट निर्माण गरिएको यो म्याग्दी जिल्लाकै ठूलो आयोजना हो। पहाडको खोचमा आयोजनाका संरचना निर्माण भएका छन्। करिब १६ अर्ब लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर' प्रकृतिका हुन्।

नीलगिरि खोलाबाट उत्पादन भएको बिजुली २२० केभीए क्षमताको दाना सबस्टेसनबाट केन्द्रीय ग्रिडमा जोडिने छ। छोटेपा-दोबिल्ला हुँदै दाना सबस्टेसन जोड्ने ८ दशमलव ५ किलोमिटर दुरीको २२० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि २४ वटामध्य २३ वटा टावर निर्माण गरी तार तान्ने काम सकिएको छ। रासस


प्रकाशित : बुधबार, जेठ १० २०८००८:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend