आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

तामाकोशी पाँचौँ जलविद्युत आयोजना अघि बढ्यो, जुट्यो २१ अर्ब १३ करोड लगानी

सञ्चयकोषले मात्रै १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने

आइतबार, जेठ ७ २०८०
तामाकोशी पाँचौँ जलविद्युत आयोजना अघि बढ्यो, जुट्यो २१ अर्ब १३ करोड लगानी

काठमाडौं- दोलखामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोशी पाँचौँ जलविद्युत आयोजना निर्माणले अन्ततः गति लिने भएको छ। २१ अर्ब १३ करोड ९६ लाख लागत अनुमान गरिएको आयोजना निर्माणका लागि ऋण जुटेसँगै अगाडि बढ्ने भएको हो।

ऋण लगानीका लागि आइतबार त्रिपक्षीय सम्झौता भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतको उपस्थितीमा नेपाल विद्युत प्राधिकरण, आयोजनाको प्रवर्द्धक तामाकोशी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच सम्झौतापत्रमा सम्झौता भएको हो। यसअघि एमओयू मात्रै भएको थियो। 

निर्माण अवधिको ब्याजसहित आयोजनाको अनुमानित लागत २१ अर्ब १३ करोड ९६ लाख रुपैयाँ रहेको आयोजनामा ६५ प्रतिशत ऋणबाट र ३५ प्रतिशत सेयरबाट जुटाइएको छ। कम्पनीमा नेपाल विद्युत प्राधिकरणको ६८ प्रतिशत संस्थापक सेयर लगानी रहेको छ। जसका लागि सञ्चयकोषले सञ्चय कोषले १३ अर्ब ७४ करोड रुपैयाँ लागानी गर्ने गरी सम्झौता गरेको हो। 

तामाकोशी पाँचौँ ४५६ मेगावाटको  मेगावाटको माथिल्लो तामाकोशीको क्यास्केड आयोजना हो। त्यसैले तामाकोशी पाँचौँले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु नपर्ने भएकोले आयोजनालाई आकर्षक मानिएको छ। 

माथिल्लो तामाकोशीको विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान भइसकेको छ। आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युतगृह, करिब २ किलोमिटर २२० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्नु पर्ने छ।

विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) स्वीकृत भइसकेको आयोजनाले विद्युत उत्पादनको अनुमति २०७४को जेठमै पाइसकेको छ। आयोजनाको निर्माण २०८४ भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ।

माथिल्लो तामाकोशीको विद्युत् गृहमा बिजुली निकालेर निस्किएको पानीलाई उपयोग गरेर सुरीदोभान पुर्‍याइनेछ। आयोजनामा कुल आठ किलोमिटर लामो सुरुङ निर्माण गर्नुपर्नेछ। माथिल्लो तामाकोशी निर्माणका क्रममा नै केही संरचनासमेत तयार भएकाले आयोजनालाई थप सहज हुने अनुमान गरिएको छ। 

यसमा बाँध निर्माण गर्नुनपर्ने भएकाले पनि थप सहज भएको छ। माथिल्लो तामाकोशीको टेलरेस टनेललाई अर्को टनेलमा स्थानान्तरण गर्न मिल्ने गरी भूमिगत इन्टेक बनाइएको छ।

तामाकोशी पाँचौमा २५ मेगावाट क्षमताका चार युनिट रहनेछ। आयोजनाको कुल लागतका आधारमा प्रतिमेगावाट लागत २१ करोड पर्ने अनुमान गरिएको छ। आयोजनाका लागि पहुँचमार्ग निर्माण गर्नुपर्ने छैन। माथिल्लो तामाकोशीको सबै संरचनासमेत प्रयोग गर्न सकिन्छ।


प्रकाशित : आइतबार, जेठ ७ २०८०१३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend