बिहीबार , साउन १० गते २०८१    
images
images
images

प्राधिकरणले मात्रै बिजुली खरिदको सम्झौता गर्न नसक्ने, पीपीए अब प्रतिस्पर्धामा मात्रै

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक १५ २०७८
images
images
प्राधिकरणले मात्रै बिजुली खरिदको सम्झौता गर्न नसक्ने, पीपीए अब प्रतिस्पर्धामा मात्रै

१० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारी लक्ष्यमा नदी प्रवाही आयोजनाको सीमा मात्रै ५ हजार २ सय मेगावाट बराबर थियो तर प्राधिकरणले ६ हजार मेगावाट क्षमताका आयोजनाको लगानीकर्तासँग सम्झौता गरिसकेको छ।  

images

काठमाडौं- सरकारले अब प्रतिस्पर्धाका आधारमा मात्रै विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने भएको छ। कुल नौ हजार मेगावाट क्षमताका आयोजनाले विद्युत् खरिद सम्झौता लागि तयार भई नेपाल विद्युत् प्राधिकरणमा आवेदन दिएका छन्। मुलुकको एकमात्र सरकारी स्वामित्वको नेपाल विद्युत् प्रधिकरणमा पीपीएका लागि चाप बढेपछि प्रतिस्पर्धाको व्यवस्था गर्न लागिएको हो। 

images
images

आवेदन दिइएका जति सबै आयोजनाको लगानीकर्तासँग कुनै ठोस नीतिगत निर्णय नभईकन अब सम्झौता गर्न नसक्ने अवस्थामा प्राधिकरण पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल(इपान)ले भने यस्तो व्यवस्थाले आफूहरुको लगानी सङ्कटमा पर्ने भन्दै आपत्ति जनाउँदै आएको छ।

images

१० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारी लक्ष्यमा नदी प्रवाही आयोजनाको सीमा मात्रै ५ हजार २ सय मेगावाट बराबर थियो तर प्राधिकरणले ६ हजार मेगावाट क्षमताका आयोजनाको लगानीकर्तासँग सम्झौता गरिसकेको छ।  

images

सरकारको ठोस निर्णय नहुँदा अब प्राधिकरण एक्लैले बिजुली खरिदका लागि सम्झौता गर्न नसक्ने अवस्थामा पुगेको हो। सोही कारण अब प्रतिस्पर्धाका आधारमा मात्रै पीपीए गर्नुपर्ने निष्कर्षमा प्राधिकरण पुगेको छ। सरकारले राष्ट्रियसभामा पेश गरेको विद्युत् विधेयकमा समेत अब प्रतिस्पर्धाका आधारमा मात्रै पीपीए र जलविद्युत् आयोजनाको अनुमतिपत्र जारी गर्ने विषय समेटिएको छ।

images

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि अब जो पहिला आउँछ त्यसै आधारमा नभई प्रतिस्पर्धाका आधारमा मात्रै पीपीए गर्नुपर्छ कि भन्ने अवस्थामा पुगेको बताए। 'अब हामीलाई पुग्यो भन्ने कोणबाट यो विषय आएको होइन, यसलाई व्यवस्थित गर्न भने खोजिएको हो। कुनै न कुनै रुपमा हामी अगाडि बढ्छौँ', उनले भने, 'देशभित्रैको क्षेत्रीय सन्तुलन मिलाउने हिसाबले पनि यसमा काम गर्न खोजिएको हो।'

प्राधिकरणका अनुसार मध्यपश्चिम र सुदूरपश्चिममा बिजुलीको माग क्रमशः बढ्दै गएको छ तर ती क्षेत्रमा जलविद्युत् आयोजना निर्माण हुने क्रम असाध्यै न्यून छ। सो क्षेत्रमा निर्माण हुने आयोजनाको हकमा प्राधिकरणले सहजीकरण गर्न सक्ने कार्यकारी निर्देशक घिसिङको भनाइ थियो। 

हाल दुई हजार मेगावाट क्षमता बराबरको बिजुली मुलुकको प्रणालीमा जोडिएको छ। तीन हजार ५०० मेगावाट बराबरका आयोजना निर्माणका विभिन्न चरणमा छन्। यस्तै आठ हजार मेगावाट क्षमताका आयोजनाले उत्पादन अनुमतिपत्र लिएका छन् भने १७ हजार मेगावाट क्षमताका आयोजना अध्ययनका विभिन्न चरणमा छन्।

कुनै आयोजना प्रतिमेगावाट १५ करोड रुपैयाँमा निर्माण हुन्छ भने कुनै आयोजनाको लागत प्रतिमेगावाट ३५ करोड रुपैयाँसम्म पर्ने गरेको छ। प्रतिफलका हिसाबले ती आयोजनालाई एउटै हिसाबले बुझ्न नहुने बुझाइको विकास भएको छ। माग बढाउने विषयमा पछिल्ला दिनमा छलफल भएको भए पनि त्यसलाई गलत कोणबाट नबुझ्नसमेत उनले आग्रह गरे। गत असोजको पहिलो साता मुख्यसचिवको संयोजकत्वमा बसेको बैठकले ऊर्जा क्षेत्रमा केही दीर्घकालीन निर्णय गरेको भन्दै ऊर्जा उद्यमीले आपत्ति जनाएका थिए।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ऊर्जा क्षेत्रलाई थप समृद्ध बनाउनका लागि प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव सबै तहमा छलफल भइरहेको समेत जानकारी दिए। हुन त नेपालमा यसअघि नै प्रतिस्पर्धाका आधारमा जलविद्युत् आयोजनाको अनुमति दिने क्रम सुरु भएको थियो। सुपर सिक्स नाम दिइएका आयोजना त्यसरी नै लगानीकर्तालाई दिइएको थियो। प्रसारण लाइन निर्माणको अभावमा ती आयोजनाले समयमा निर्माण सम्पन्न गर्न सकेका छैनन्। समयमा काम नहुँदा प्राधिकरणले हर्जना तिर्नुपर्ने अवस्था आएको छ।

प्राधिकरणले पछिल्लो दुई वर्षदेखि पीपीए गरेको छैन। पन्ध्र हजार मेगावाटमध्ये पाँच हजार मेगावाट निर्यात गर्ने सरकारको लक्ष्य छ। त्यसमा अर्धजलाशय र जलाशययुक्त आयोजनाको हिस्सा समेत रहेको छ। नदी प्रवाही आयोजनाको मात्रै हिस्सा बढ्दै जाँदा मनसुनको समयमा पूर्ण क्षमतामा बिजुली उत्पादन हुने तर हिँउदको समयमा एक तिहाइ मात्रै उत्पादन हुने अवस्था छ। त्यसलाई सन्तुलनमा राख्न पनि अर्धजलाशय र जलाशयुक्त आयोजना निर्माणमा जोड दिनुपर्ने अवस्था छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालले पनि समयले प्रतिस्पर्धा माग गरेको बताए। नदी पवाही आयोजना धमाधम अगाडि बढे पनि ऊर्जा सुरक्षाका हिसाबले जलाशय र अर्धजलाशयुक्त आयोजना अगाडि नबढ्दा हाम्रो लक्ष्य पूरा भए पनि हिउँदमा समस्या पर्न सक्ने अवस्था कायमै रहेकाले सरकारले केही पहलकदमी लिन खोजेको उनको भनाइ थियो। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आइतबार आयोजना गरेको कार्यक्रममा समेत सहसचिव भेटवालले सोचेजसरी जलाशययुक्त र अर्धजलाशयुक्त आयोजना अगाडि बढाउन नसकिएको बताए।

प्राधिकरणको सहायक कम्पनीले १४० मेगावाट क्षमताको अर्धजलाशयुक्त आयोजना तनहुँ सेती अगाडि बढाएको छ। यस्तै ६३५ मेगावाट क्षमताका दूधकोशी,  माथिल्लो अरुण र अरुण चारजस्ता आयोजना अगाडि बढाउने तयारी गरिएको उनले जानकारी दिए।

माथिल्लो सदनमा पुगेको विद्युत् विधेयकमा समेत प्रतिस्पर्धालाई केन्द्रबिन्दुमा राखिएको छ। लगानी पनि नदी प्रवाही आयोजनाको तुलनामा बढी हुने भएकाले जलाशयुक्त आयोजनामा निजी क्षेत्रले लगानी गर्न आँट गरिहालेको अवस्था छैन। सरकारले प्रतिस्पर्धात्मक क्षमता बढाउनका लागि पीपीए र अन्य अनुमतिका लागि पनि प्रतिस्पर्धात्मक व्यवस्था गर्न लागेको जनाएको छ। यसमा प्रत्यक्षरुपमा जोडिएका निजी क्षेत्रले भने आपत्ति जनाएका छन्। रासस


प्रकाशित : सोमबार, कात्तिक १५ २०७८०७:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend