सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

मुग्लिन-पोखरा सडक : पूर्वी खण्डमा परीक्षण कालोपत्र सुरु

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ५ २०८०
मुग्लिन-पोखरा सडक : पूर्वी खण्डमा परीक्षण कालोपत्र सुरु

पूर्वीखण्डअन्तर्गत ‘टेस्टिङ पिच’का रूपमा आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्र गरिएको छ।

तनहुँ- पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ। मुग्लिन-पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा बिहीबारदेखि कालोपत्र गर्न सुरु गरिएको हो।
 
पूर्वी भागको आँबुखैरेनी गाउँपालिका-१ सत्रसयस्थित कालोपत्र गर्न सुरु गरिएको मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड)का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए। 'गत बिहीबारदेखि पृथ्वी राजमार्गको परीक्षण चरणको कालोपत्र गर्न थालिएको हो, सत्रसयस्थित एक सय मिटर सडक कालोपत्र गर्न सुरु गरेका छौँ', उनले भने।
 
'पहिलो चरणको परीक्षण कालोपत्र सुरु भएको छ, गर्दै जाने हो, यति नै गर्नेछौँ, यति समयमा भन्ने योजना छैन, माटोअनुसार कालोपत्र गर्नुपर्ने हुन्छ, परीक्षण गर्दै काम गर्दै जानेछौँ', प्रमुख सुवेदीले उल्लेख गरे।
 
तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको सडकखण्डअन्तर्गत परीक्षण कालोपत्र गरिएको उनले बताए। यस खण्डमा सडक विस्तारका क्रममा फराकिलो बनाउन र पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको जानकारी प्रमुख सुवेदीले दिए। साथै सबवेस र फेसको काम पनि भइरहेको छ।
 
पूर्वीखण्डअन्तर्गत ‘टेस्टिङ पिच’का रूपमा आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्र गरिएको छ। उनका अनुसार चालु आर्थिक वर्षभित्रै सात किमी सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ। ठेक्का तोकिएको समयमा सम्पन्न गर्ने गरी कामलाई तीव्र पारिरहेका प्रमुख सुवेदीले बताए।
 
यस्तै जामुनेबाट पोखरासम्मको पश्चिमखण्डको काम भने धिमा गतिमा भएको छ। पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। एकचालीस दशमलव ४५ किमी यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद विसं २०८१ वैशाखसम्म छ।
 
पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ। यस खण्डको म्याद विसं २०८१ भदौसम्म छ।
 
विसं २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारीको चाप बढेसँगै एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको छ। पूर्वी खण्डको ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ७ अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ।
 
चार लेनको बनाउँदा सडक सीमा दुईतर्फी २५-२५ मिटर हुनेछ भने बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ। सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ। दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ ५ २०८००७:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend