बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

भारतमा आक्रामक हुँदै एमजी : ईभी सेलदेखि हाइड्रोजन फ्युल सेलसम्म उत्पादन गर्ने, लगानी ५० अर्ब भारु

शुक्रबार, वैशाख २९ २०८०
भारतमा आक्रामक हुँदै एमजी : ईभी सेलदेखि हाइड्रोजन फ्युल सेलसम्म उत्पादन गर्ने, लगानी ५० अर्ब भारु

कम्पनीले ५ वर्षमा ४ देखि ५ वटा नयाँ पूर्णविद्युतीय कार भारतीय बजारमा ल्याउने घोषणा गरेको छ। गुजरातमा बन्ने नयाँ प्लान्टबाट ब्याट्री समेत उत्पादन हुनेछ। 

काठमाडौं- चिनियाँ सवारी उत्पादक समूह एसएआईसीको स्वामित्वमा रहेको एमजी (मोरिस ग्यारेज) मोटरले भारतमा आफ्नो उत्पादन पोर्टफोलियोलाई व्यापक रुपमा विस्तार गर्ने योजना अघि सारेको छ। आगामी ५ वर्षका लागि कम्पनीले वृहत योजना सार्वजनिक गरेको हो। 

‘२०२८ स्ट्राटेजी’ अन्तर्गत एमजीले भारतमा व्यवसायलाई थप स्थानीयकरण गर्ने नीतिलाई उच्च प्राथमिता दिएको छ। भारतमै प्रोडक्ट विस्तारदेखि प्रविधि विकाससम्मका लागि आगामी ५ वर्ष भित्र एमजीले ५० अर्ब भारु लगानी गर्ने बताएको छ। 

उक्त लगानीसँगै भारतको गुजरातमा नयाँ उत्पादन प्लान्ट स्थापना गर्ने र वार्षिक कार उत्पादन क्षमता ३ लाख वटा पु¥याउने एमजीले जनाएको टाइम्स अफ इन्डियाले लेखेको छ। योसँगै भारतमा एमजीले २० हजार जनालाई प्रत्यक्ष रोजगारी दिनेछ। एमजीले भारतमा विद्युतीय सवारीका लागि चाहिने ईभी सेल उत्पादन गर्ने छ। त्यतिमात्र होइन एमजीले भारतमा अन्य पक्षसँगको सहकार्यमा हाइड्रोजन फ्युलसेल प्रविधिको सम्भावित अवसरमा समेत काम गर्ने जनाएको छ। 

एमजी इन्डियाले २०२८ सम्ममा विद्युतीय सवारीको संख्यासमेत बढाउने बताएको छ। कम्पनीले ५ वर्षमा ४ देखि ५ वटा नयाँ पूर्णविद्युतीय कार भारतीय बजारमा ल्याउने घोषणा गरेको छ। गुजरातमा बन्ने नयाँ प्लान्टबाट ब्याट्री समेत उत्पादन हुनेछ। 

अबको केही वर्षमा एमजी इन्डियाले विद्युतीय सवारीको बिक्रीबाट आफ्नो कुल आम्दानीको ६५ देखि ७५ प्रतिशत हिस्सा आउने अपेक्षा राखेको छ। यसैलाई लक्षित गरेर एमजीले विद्युतीय सवारी उत्पादनलाई उच्च प्राथमिकता दिएको हो। 

कार उत्पादनलाई प्राथमिता दिने नीतिका साथै एमजी इन्डियाले आगामी ५ वर्षमा ५० संस्थासँगको सहकार्यमा १ लाख विद्यार्थीलाई तालिम गराउने छ। विद्यार्थीहरुलाई नयाँ प्रविधि, विद्युतीय कार, कनेक्टेड कार र एडीएएस सिस्टमबारे अवगत गराउने घोषणा गरेको हो। यसले नयाँ पुस्ताको अटोमोबाइल उत्पादनबारे दक्ष र क्षमतावान जनशक्ति तयार हुने विश्वास एमजी इन्डियाले लिएको छ। 

एनजीका विद्युतीय कार नेपाली बजारमा पनि उल्लेख्य रुपमा बिक्री हुँदै आएको छ। हाल एमजीका विद्युतीय कार चीनबाट आयात भइरहेको छ भने हेक्टरलगायत कार भारतबाट आयात भइरहेको छ। भारतमा उत्पादन हुन थालेपछि एमजीका विद्युतीय कार त्यहीबाट नेपाल आउने छन्। 

एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ड मोटर्सले जेडएस ईभी आक्राम मूल्यका साथ सार्वजनिक गरेर बिक्री सुरु गरिसकेको छ। विगतका सन्तुस्ट एमजी जेडएस ईभीका उपभोक्ताका कारण नयाँ विद्युतीय कार बिक्री उल्लेख्य रुपमा बढ्ने अपेक्षा कम्पनीको छ।


प्रकाशित : शुक्रबार, वैशाख २९ २०८००४:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend