सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

तिवारीभञ्याङ-अधेँरीघाट सडक : स्तरोन्नितको काम तीव्र

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २७ २०८०
तिवारीभञ्याङ-अधेँरीघाट सडक : स्तरोन्नितको काम तीव्र

पौवादुङमा गाउँपालिकाको मुख्यमार्गका रूपमा रहेको तिवारीभञ्याङ-अधेँरीघाट सडक गाउँपालिका, प्रदेश सरकार र केन्द्र सरकारको लागत साझेदारीमा निर्माण भइरहेको छ।

भोजपुर- पूर्वी क्षेत्रबाट भोजपुरलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग तिवारीभञ्याङ-अधेँरीघाट ३५ किलोमिटर सडकको स्तरोन्नतिले गति लिएको छ। पौवादुङमा गाउँपालिकाको तिवारीभञ्याङ, च्याङ्ग्रे, मानेडाँडाहुँदै भोजपुर र धनकुटाको सिमाना अधेँरीघाटसम्म सडक निर्माणले गति लिएको हो।

पौवादुङमा गाउँपालिकाको मुख्यमार्गका रूपमा रहेको यो सडक गाउँपालिका, प्रदेश सरकार र केन्द्र सरकारको लागत साझेदारीमा निर्माण भइरहेको हो। यसवर्ष प्रदेश सरकारको एक करोड, केन्द्र सरकारको एक करोड २० लाख रूपैयाँ र गाउँपालिकाको एक करोड ५० लाख रूपैयाँ लागतमा निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको गाउँपालिकाले जनाएको छ।

आगामी दिनमा कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको यो सडक खण्डअन्तर्गत ११ किलोमिटरमा ग्रेडिङ मिलाउने, चौडा गर्ने, रिटेनिङ वाल निर्माण गर्ने, ड्रेन बनाउनेलगायतको काम सकिएको प्रशासकीय अधिकृत भट्टराईले बताए।

'यो हाम्रो गाउँपालिकाको मुख्य सडक हो', उनले भने, 'एघार  किलोमिटरमा स्तरोन्नतिको काम भइरहेको यो सडकलाई आगामी दिनमा कालोपत्र गर्ने लक्ष्य छ ।'

सडक विस्तारपछि वडा नं ५ सानोदुम्माका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने वडा अध्यक्ष बोमप्रसाद राईले बताए। सडक विस्तारपछि स्थानीयले उत्पादन गरेका कृषि उपजको बजारीकरणमा टेवा पुग्ने उनको भनाइ छ। 

गत आर्थिक वर्षमा १३ किलोमिटर ग्राभेल, कजवे निर्माण, ग्याबियन, मेसिनरी पर्खाललगायतको गरिएको थियो। रासस

गाउँपालिकाको मुख्य सडकको रूपमा रहेकाले कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए। यो सडक गाउँपालिकाबासीसँगै भोजपुरका नागरिकका लागि सबैभन्दा छोटो मार्ग हुने भएकाले विस्तारलाई प्राथमिकताका दिइएको बताए। आगामी पाँच वर्षमा सडक कालोपत्र गर्ने लक्ष्य रहेका गाउँपालिकाको भनाइ छ। साथै भोजपुर र धनकुटा जोड्ने अधेँरीघाटमा पक्की पुल निर्माणका लागिसमेत पहल गरिरहेको गाउँपालिका अध्यक्ष राईको भनाइ छ। 

यहाँ पुल बनेपछि पूर्वबाट धरान, धनकुटासँगै तराईका जिल्लासँगको दुरी २३ किलोमिटर छोटो हुनेछ। 'अधेँरीघाटमा पुल बन्नेवित्तिकै यातयातमा धेरै सहजता हुन्छ', अध्यक्ष राईले भने, 'पुल निर्माणका लागि हामीले केन्द्र सरकार तथा प्रदेश सरकारसँग माग गरिरहेका छौँ। यो पुल  निर्माण भएपछि स्थानीयलाई झनै सहजता हुनेछ।'

सडकलाई गुणस्तरीय तवरबाट सम्पन्न गराउन गाउँपालिकाका प्राविधिक तथा इन्जिनियरले नियमित अनुगमन गरिरहेको जनाइएको छ। रासस


प्रकाशित : बुधबार, वैशाख २७ २०८००७:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend