आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

राष्ट्रिय प्रसारण लाइनमा जोडियो ५४ मेगावाटको बिजुली

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २४ २०८०
राष्ट्रिय प्रसारण लाइनमा जोडियो ५४ मेगावाटको बिजुली

५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

लमजुङ- दोर्दी गाउँपालिका-६ ढोडेनीमा निर्माण भएको ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

'पिपुल हाइड्रोपावर कम्पनीले  निर्माण गरेको सो  आयोजनाबाट उत्पादित बिजुलीेको परीक्षण सफल भएसँगै केही दिन अघिदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो', आयोजनाका साइट इञ्चार्ज रमेश सिग्देलले भने, 'हामीले एक महिनाअघि निर्माण गरेर आयोजनाको डिसेन्टर टनेलमा दुई तीन पटक पानी हालेर परीक्षण गर्‍यौँ, त्यसमा सफल भयौँ अनि १५ दिन जति उत्पादित बिजुली प्राधिकरणका कर्मचारीले परीक्षण गर्दा पनि सफल भयौँ।'

'अब करिब १५ दिन पछि व्यावसायिकरुपमा बिजुली उत्पादन थालिने छ,' उनले भने, '५४ मेगावाट क्षमताको बिजुली भए पनि दोर्दी खोलामा पानीको अभाव भएकाले हाल २०/२२ मेगावाट बिजुली उत्पादन भइरहेको छ।'

प्राधिकरणका पदाधिकारी, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, प्रमुख जिल्ला अधिकारीलगायत टोलीले आयोजनाको उत्पादित बिजुली अवलोकन गरेका थिए। यस आयोजनाले निर्माण थालनी गरेको करिब नौ वर्षपछि बिजुली उत्पादन गर्न थालेको हो। 

विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पीपीए) गरी विसं २०७२ असोज महिनादेखि  निर्माण थालेको यस आयोजनाले सम्झौताअनुसार विसं २०७५ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो। निर्धारित समयमा आयोजना सम्पन्न नभएपछि समय थप गर्दै विसं २०७७ असारसम्मका लागि म्याद थप गरिएको थियो। सो अवधिमा समेत निर्माण कार्यमा ढिलाइ भएपछि विसं २०७८ असारसम्म निर्माण सक्ने सम्झौता गरिएको थियो। पटकपटक म्याद गर्दै गत पुस महिनाभित्रै बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य रहे पनि सो समयमा पनि बिजुली उत्पादन हुन नसकेको थिएन।

आयोजनाका अनुसार यसअघि भारतले गरेको नाकाबन्दी, दोर्दी खोलामा आएको बाढी-पहिरो, कोरोना सङ्क्रमण, लकडाउनलगायत कारणले निर्माण अवधि लम्बिएकोे थियो। आयोजनाको पाँच दशमलव एक किलोमिटरको मुख्य सुरुङ छ। त्यस्तै सबै गरेर १० दशमलव तीनसय ५० किलोमिटर सुरुङ मार्ग रहेको छ।

कुल आठ अर्ब ८० करोड रूपैयाँको लगानीमा उक्त आयोजनाको निर्माण कार्य अघि बढाइएकामा  निर्माण अवधि लम्बिँदा करिब १० अर्ब ३९ करोड देखि ५० करोड रूपैयाँसम्म लागत पुगेको छ।

उक्त आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका थिए। ७० प्रतिशत ऋण लगानी र बाँकी  प्रवर्द्धन लगानीमा आयोजना निर्माण भएको हो। आयोजनाबाट असर पर्न सक्ने जिल्लावासीको मात्र २७ करोड रूपैयाँ लगानी रहेको छ।

पानीको बहावमा आधारित यो आयोजनाको कुल ग्रस हेड ६ सय ४० मिटर रहने छ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ। उक्त आयोजनाले सुक्खायाममा आठ रूपैयाँ ४० पैसा र बर्खायाममा चार रूपैयाँ ८० पैसामा विद्युत् बिक्री गर्ने (पीपीए) सम्झौता गरेको छ। दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पालिकाभित्र आधा दर्जन आयोजना रहेको र यस आयोजनाको राजस्वले समृद्ध पालिका निर्माणमा टेवा पुग्ने बताएका छन्। रासस


प्रकाशित : आइतबार, वैशाख २४ २०८००७:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend