सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

कालीगण्डकी करिडोरको कामले जगाएको आशा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख १४ २०८०
कालीगण्डकी करिडोरको कामले जगाएको आशा

दुई वर्षको समयावधी पाएको कम्पनीले निर्धारित समयमा काम सक्नेगरी संरचना निर्माणको काम गरिरहेको छ। बलेवा विमानस्थलदेखि हर्मिचौरसम्म सबैभन्दा लामो दुरीको खण्ड छ।

बलेवा- कालीगण्डकी करिडोरको मालढुङ्गा-रुद्रवेणी खण्डमा भइरहेको कालोपत्रको कामले प्रभावित क्षेत्रका सर्वसाधारणमा आशा जगाएको छ। बागलुङ र छिमेकी जिल्ला गुल्मीका अधिकांश स्थानीय तहको मुख्य सडकको रुपमा रहेको करिडोरको काम धमाधम हुँदा सर्वसाधारणमा आशा जागेको हो। 

कोरिडोर गैँडाकोट-राम्दी-मालढुङ्गा सडक आयोजना पाल्पाले मालढङ्ंगादेखि रुद्रवेणीसम्म तीन खण्डमा कालोपत्रको काम गरिरहेको छ। गुल्मीको रुद्रवेणीदेखि हर्मिचौर सम्मको १४ किलोमिटर खण्डमा कालोपत्रको काम अन्तिम चरणमा छ।

आगामी वर्ष यो खण्डको कालोपत्र सकिने आयोजना कार्यालय पाल्पाका प्रमुख शङ्कर पौडेलले बताए। बागलुङको मालढुगादेखि बलेवा विमानस्थलसम्मको १० किमी सडक कालोपत्रका लागि संरचना बनाउने काम भइरहेको छ। निर्माण व्यवसायी खड्का कृष्ण जेभीले सम्झौता भएको छ महिनाको अवधिमा २५ प्रतिशत काम सकेको पौडेलले बताए। 

दुई वर्षको समयावधी पाएको कम्पनीले निर्धारित समयमा काम सक्नेगरी संरचना निर्माणको काम गरिरहेको छ। बलेवा विमानस्थलदेखि हर्मिचौरसम्म सबैभन्दा लामो दुरीको खण्ड छ। ४४ किमी खण्डमा एकै पटक काम सुरु भएको हो। यहाँ १२ प्रतिशत भौतिक प्रगति छ। यो खण्डको कामले समेत समयमा नै तीव्रता पाएको पौडेल बताउँछन्। करिडोरले सदरमुकाम बागलुङ बजारदेखि बलेवा क्षेत्र र जैमिनी नगरलाई प्रभाव पार्छ। 

यो सडक कालोपत्र हुँदा जिल्लाको दक्षिण क्षेत्रलाई बुटवल भैरहवाहुँदै भारतीय नाका पुग्न सहज हुने स्थानीयवासी बताउँछन्। बागलुङ र गुल्मीको केही क्षेत्र मात्रै समेट्ने ५४ किलोमिटर खण्ड कालोपत्र गर्न झण्डै पाँच अर्ब खर्च हुँदै छ। दश किलोमिटर खण्ड खड्का कृष्ण जेभीले दुईवर्ष र ४४ किलोमिटर खण्ड कालिका कन्स्ट्रक्सनले तीन वर्षभित्रमा कालोपत्र सक्ने सम्झौता छ। 

'करिडोरमा भइरहेको कामले छिट्टै कालोपत्र सडकको यात्रा गर्न पाउँछौंँ” जैमिनी-८ छिस्तीका राजेन्द्र शर्मा भन्छन्, 'बागलुङ-गुल्मीसँग जोडिएको छिस्ती पुग्न सडकले सहज बनाउँछ।'

कालीगण्डकी करिडोरको निर्माण भएसँगै सुदूरपूर्वका गुल्मेली जनताहरुले यसैमा समृद्धिका आशा र सपना देखिरहेका छन्। करिडोरले रुरुक्षेत्र, सत्यवती, कालीगण्डकी गाउँपालिकालाई समेट्दै बागलुङ जोडेको छ। कालीगण्डकी नदिका तटमा रहेका धार्मिक तथा पर्यटकीयस्थललाई जोडेर चीन र भारत जोड्ने भएकाले सर्वसाधारण उत्साहित भएका हुन्।

करिडोरको बागलुङ मालढुङ्गादेखि बुटवलसम्मको सबै खण्डमा काम चलिरहेकाले अबको दुई वर्षमा कालोपत्र सडकमा यात्रा गर्न सकिने आयोजना कार्यालयले जनाएको छ। कुल चार सय ३५ किलोमिटर लम्बाइ रहेको यो आयोजनाको मालढुङ्गा-बेनी-जोमसोम सडकखण्डअन्तर्गत एक सय १० किलोमिटर सडकपर्छ भने बाँकी सडक गैँडाकोट-राम्दी-मालढुङ्गा खण्डमा पर्छ। 

करिडोरहुँदै पालिका मुकाम र गाउँबस्तीमा पुग्ने सडकको स्तरोन्नतिमा समेत स्थानीय तहले ध्यान दिन थालेका छन्। करिडोर कालोपत्र हुँदा पहुँच मार्ग विस्तार गरेका स्थानीय तहका मुकाममा कालोपत्र सडक पुर्‍याउन सहज हुनेछ। रासस


प्रकाशित : बिहीबार , वैशाख १४ २०८००९:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend