सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सम्झौताको म्याद सकिन लाग्दासमेत अघि बढेन निर्माण प्रक्रिया

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख २ २०८०
सम्झौताको म्याद सकिन लाग्दासमेत अघि बढेन निर्माण प्रक्रिया

चालु आवमा मनाङमा पाँच पुल निर्माण गर्न बजेट विनियोजन भएको छ, दुई पुलको काम सकिएको छ, अन्यको प्रक्रिया नै अगाडि बढेको छैन।

मनाङ- हिमाली जिल्ला मनाङमा वर्षायाममा बर्सात र हिउँदमा हिमपातका कारण विकास निर्माणका काममा बाधा पुग्ने गरेको छ। वर्षमा करिब पाँच-छ महिना मात्र काम गर्न मौसम अनुकूल रहन्छ। जिल्लामा विकासका योजना धेरै छन्। केही निर्माणका क्रममा छन् भने केही सम्झौता सकिने बेलासम्म प्रक्रियामा नै पुगेका छैनन। 

मनाङका विभिन्न नदी खोला नदीमाथि बन्न लागेका पुलका लागि बजेट आए पनि काम हुन सकेको छैन। मर्स्याङ्दी नदीमाथिको पुल, दूधखोलालगायत नदी खोलामाथि पुल निर्माण गर्न बजेट विनियोजन भए पनि कामले गति लिन नसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले जानकारी दिए। ठेकेदार कम्पनीको लापरवाहीका कारण काम अगाडि बढ्न नसकेको हो।

'चालु आर्थिक वर्षमा जिल्लामा पाँच पुल निर्माण गर्न बजेट विनियोजन भएको छ, दुई पुलको काम सकिएको छ, अन्यको प्रक्रिया नै अगाडि बढेको छैन', विष्टले भने, 'एउटा पुल निर्माण सम्पन्न भए पनि बाढीपहिराका कारण भत्किएको छ, त्यसलाई पुनःनिर्माण गर्नुपर्ने छ।'

निर्माणमा संलग्न कम्पनीका प्रतिनिधिलाई प्रमुख जिल्ला अधिकारीमार्फत ताकेता गर्ने काम भइरहेको उनले बताए। मनाङमा बन्ने सबै पुल निर्माणका लागि प्रतिपुल दुई करोड रूपैयाँका दरले बजेट विनियोजन भएको छ। सबै पुलको सम्झौता असार मसान्तमा सकिन्छ, तर काम भने अगाडि बढ्न सकेको छैन। 

चिसो बढ्दै गएपछि हिमाली जिल्ला मनाङमा विकास निर्माणका कार्य पूर्णरूपमा रोकिन्छन्। गत वर्ष निरन्तरको वर्षाले क्षति पुर्‍याएको भौतिक संरचना निर्माणकार्यका काम थपिएको छ। विशेषगरी माथिल्लो मनाङको सडक, पुल, हाइड्रोलगायतको विकास निर्माणका कार्यमा समस्या हुन्छ।

यतिबेला मनाङमा मौसम अनुकूल रहेको छ। यसले गर्दा कामले गति लिनुपर्ने हो। तर त्यस्तो हुन नसकेको प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुंगेल खनालले बताइन्। 'केही निर्माणका कार्य भइरहेका छन्, पुलको काम अगाडि बढाउन ठेकेदारलाई सम्पर्क गर्ने काम भइरहेको छ', उनले भनिन्।

हिउँदमा हिमपातका कारण सदरमुकाम चामे, नासों गाउँपालिका क्षेत्रमा केही कार्य निर्माण गर्न सकिन्छ। तर ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा विकास निर्माण तथा पूर्वाधार निर्माणकार्य पूर्णरूपमा रोकिने गर्दछ। हिउँदमा जिल्लाको चामे, नासों, नार्पाभूमि र ङिस्याङ गाउँपालिकामा विकास निर्माणको काम गर्न सकिँदैन। मनाङको मेरुदण्डको रूपमा रहेको चामे-बेँसीसहर सडकखण्डको निर्माण पनि मौसम अनुकूल भएपछि निर्माणको काम भइरहेको छ। प्रायःजसो मनाङको विकास निर्माणको काम तीनदेखि पाँच महिनासम्म गर्न सकिन्छ।

उक्त सडकखण्डको निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत वार्षिकरूपमा बजेट विनियोजन हुँदै आएको छ। मनाङको सहज यातायातका लागि सरकारले विशेषरूपमा सडक निर्माण तथा विकास निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ। मनाङको तिमाङमा २२ करोड रूपैयाँको लागतमा सडक ढलान गरिएको छ।

सडकखण्डअन्तर्गतको जोखिम क्षेत्रको मर्मतसम्भारका लागि छ/छ करोड रूपैयाँमा नाना कन्सल्टेन्सीले ठेक्का लिएको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ। 

डुम्रे-बेँसीसहर-चामे सडकखण्डको पक्की र दीर्घकालीन बनाउन पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङको पहलमा संघ सरकारले कुल ६० करोड रूपैयाँ विनियोजन भएको छ। आगामी पाँच वर्षको अवधिमा डुम्रे-बेँसीसहर-चामे सडकखण्डलाई चौडा, कालोपत्र, पक्की नालासहित सुरक्षित बनाउने योजनासहित बजेट विनियोजन भएको डुम्रे-बेँसीसहर-चामे सडक योजना रहेको कार्यालयले जनाएको छ। रासस 


प्रकाशित : शनिबार, वैशाख २ २०८००८:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend