बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

भेस्पा अप्रिलिया ब्रान्ड अब डेल्टा अटोकर्पले बेच्ने

आइतबार, चैत २६ २०७९
भेस्पा अप्रिलिया ब्रान्ड अब डेल्टा अटोकर्पले बेच्ने

भेस्पा अप्रिलिया ब्रान्डको आधिकारिक बिक्रेता बनेसँगै कम्पनीले शोरुम विस्तार तथा ब्रान्डिङमा लाग्ने जनाएको छ। 

काठमाडौं- दुगड समूहले फेरि अर्को सवारी ब्रान्ड गुमाएको छ। केही वर्षदेखि इटालियन ब्रान्डका भेस्पा र अप्रिलियाका स्कुटर दुगड समूहले बिक्री गर्दै आएको थियो। अब भने नेपाली बजारमा भेस्पा र अप्रिलिया ब्रान्ड भिमसरिया समूहले बिक्री गर्ने भएको छ। 

भिमसरिया समूहअन्तर्गतको डेल्टा अटोकर्पले अब भेस्पा अप्रिलिया स्कुटर नेपाली बजारमा आधिकारिक रुपमा ल्याउने भएको छ। दुगड समूहअन्तर्गतको विवेक अटोमोबाइलसँग रहेको आधिकारिक बिक्रेता अब भिमसरिया समूहअन्तर्गतको डेल्टा अटोकर्पमा सरेको छ। 

यसअघि मोबाइल तथा अन्य विद्युतीय उपकरणको व्यवसाय गर्दै आएको भिमसरिया समूहले आटोमोबाइल व्यवसायमा हात हालेको हो। ‘अहिले हामीले सूचना प्रविधिसँग सम्बन्धित मोबाइल डिभाइसको काम गर्दै आएका छौं,’ भिमसरिया समूहका सञ्चालक पुलकित भिमसरियाले भने, ‘अब भेस्पा अप्रिलिया ब्रान्डका दुई पांग्रे सवारीको व्यवसायमा प्रवेश गरेका छौं।’ 

भेस्पा अप्रिलिया ब्रान्डको आधिकारिक बिक्रेता बनेसँगै कम्पनीले शोरुम विस्तार तथा ब्रान्डिङमा लाग्ने जनाएको छ। 

नेपालमै स्कुटर एसेम्बल गर्ने योजनामा थियो दुगड समूह

दुगड समूहले नेपालमै सवारी एसेम्बल गर्ने योजना बनाएको थियो। दुगड समूहले मकवानपुरमा दुईपांग्रे तथा तीनपांग्रे सवारी उत्पादन गर्ने गरी उद्योग दर्ता गरेको थियो। 

दुगड समूहले इटालियन ब्रान्डका भेस्पा तथा अप्रिलिया ब्रान्डको स्कुटर बिक्री आएको बेला एसेम्बल गर्ने बताएको थियो। त्यस्तै दुगडले नै पियाजियोको तीनपांग्रे रिक्सा पनि बिक्री गर्दै आइरहेको छ। 

दुगड अटो क्लिनिकले दुई तथा तीन पांग्रे सवारी उत्पादन गर्न ३० करोड रुपैयाँ लगानी प्रस्ताव गरेको थियो। कम्पनीले वार्षिक २४ हजार दुईपांग्रे र ४ हजार वटा तीन पांग्रे सवारी उत्पादन गर्ने प्रस्ताव गरेको थियो। 

तर अब ब्रान्ड नै खोसिएपछि उक्त एसेम्बल प्लान्टको योजना के हुने भन्नेबारे कम्पनीले केही बताएको छैन। 


प्रकाशित : आइतबार, चैत २६ २०७९१०:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend