सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सवा ३ अर्बभन्दा बढीको लागतमा पुल सेक्टर पोखराले बनाउँदैछ १८ पुल, कुन पुलको काम कति?

शुक्रबार, चैत २४ २०७९
सवा ३ अर्बभन्दा बढीको लागतमा पुल सेक्टर पोखराले बनाउँदैछ १८ पुल, कुन पुलको काम कति?

काठमाडौं- सडक विभागअन्तर्गतको पोखरा पुल सेक्टरले अहिले १८ वटा पुल निर्माणमा काम गरिरहेको छ। सेक्टर आयोजना कार्यालयले कुल ३ अर्ब १० करोड रूपैयाँमा विभिन्न कम्पनीसँग सम्झौता गरेर पुल निर्माण गरिरहेको हो।

१८ वटा पुल मध्ये ३ वटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। दुईवटा पुलको काम भने स्थानीयको अवरोधका कारणले अगाडि नबढेको आयोजना प्रमुख इन्जिनियर नवराज बास्तोलाले जानकारी दिएका छन्। 

२०७५ असारमा सम्पन गर्नेगरी २०७२ असारमा सम्झौता भएको कालीगण्डकी नदी हुँमुग सडक पुल निर्माणको काम भने सकिएको छ। यस पुलको कुल लागत १३ करोड २३ लाख रूपैयाँ रहेको छ।

यसैगरी कालीगण्डकी नदी पुल, देवघाट नवलपरासी पुलको काम २०७६ असारमै सकिनु पर्ने भए पनि अहिले आएर बल्ल काम सकिएको छ। यो पुलको निर्माणको लागत २१ करोड १९ लाख ३९ हजार रूपैयाँ रहेको छ।

कालीगण्डकी नदी पुल ,पाख्रेबगर बेनी-जोमसोम सडक र कालीगण्डकी नदी पुल, तिप्लल्याङ, बेनी जोमसोम सडकको काम भने सकिएको छ। यो दुईवटा पुल निर्माणको लागत भने १५ करोड १० लाख रूपैयाँ रहेको छ।

seti nadi pul nadipur pokhara.jpg
सेतीनदी पुल नदीपुर पोखरा

अन्य १४ वटा पुल निर्माणको काम भने सम्झौताअनुसार समयमा नसकिने निश्चित भएको छ। कतिपय पुल निर्माणको समय थप भइसकेको छ भने कतिपयको थप गर्नु पर्न अवस्थामा रहेको छ।

यसैगरी निर्माण सम्पन्न हुनपर्ने समयमा दुई पुल निर्माण स्थानीय अवरोधका कारण रोकिएको छ। २०७५ पुसमा निर्माण सम्पन्न गर्नेगरी सेती नदी पुल बगर पोखराको २०७३ असारमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो। तर अहिलेसम्म पुल निर्माणका काम नै सुरु हुने सकेको छैन। यो पुल निर्माणको लागत १४ करोड २० लाख रूपैयाँ रहेको छ।

यसैगरी मस्यादङ्दी खोला पुल, देउराली ३, गोपलिंङ गाउँ र तनहुँ आबुखैरेनी-३ एक्लेफाँट, गोरखा तनहुँको काम पनि स्थानीय अवरोधकै कारण अहिलेसम्म सुरु हुन सकेको छैन। २३ करोड ६० लाख रूपैयाँको लागतमा निर्माण गर्न लागिएको पुल २०८० फागुनमा सम्पन्न गर्ने गरी २०७७ भदौमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो। 

tinau nadi pul magarghat.jpg
तिनाउ नदी पुल मगरघाट

अन्य पुलको अवस्था

७ करोड ४० लाख ६४ हजार रूपैयाँमा निर्माण भइरहेको म्याग्दी पाल्पाको बेगखोला पुलको ७० प्रतिशत काम सम्पन्न भएको छ। यो पुलको निर्माण सम्पन्न हुनपर्ने समय २०८० चैत रहेको छ।

यसैगरी ३४ करोड ४ लाख रूपैयाँमा निर्माण भइरहेको दाङको ककरहवा खोला पुलको भने ९० प्रतिशत काम सकिएको छ। यसको समय अवधि २०८० फागुनसम्म रहेको छ।

कालीगण्डकी नदी पुल, बेल्टारी ,स्याङ्गजाको भने ७ प्रतिशत मात्रै काम भएको छ। यो पुलको लागत १३ करोड ६४ लाख रूपैयाँभन्दा बढी रहेको छ। यो पुल २०८० को बैशाखमा निर्माण सम्पन्न हुने पर्ने हो। तर अहिलेसम्म ७ प्रतिशत मात्रै काम भएको छ।

यसैगरी १३ करोड १२ लाख ८४ हजार रूपैयाँमा २०८० जेष्ठसम्म निर्माण सम्पन्न गर्ने गरी निर्माण सुरु भएको मर्स्याङ्दी खोला पुल, सत्रसयफाँट तनहुँ र दुवाकोट ५, गोरखाको पनि ३५ प्रतिशत मात्रै काम भएको छ।

साथै २२ करोड ९८ लाख ८० हजार रूपैयाँमा २०७७ को मंसिरसम्ममा निर्माण सम्पन्न गर्ने गरी काम सुरु भएको कालीगण्डकी-सुन्धार-रोकुवा तनहुँ नवलपरासी जोडने पुलको काम अहिलेसम्म ३० प्रतिशत मात्रै काम भएको छ।

marsyangdi nadi pul turture.jpg
मर्स्याङ्दी नदी पुल तुरतुरे

२०७६ बैशाखमै सम्पन्न गर्नेगरी २३ लाख ६५ करोड रूपैयाँमा सुरु भएको कालीगण्डकी नदी पुल ,गडगडिघाट तनहुँको काम अहिलेसम्म ४० प्रतिशत सम्पन्न भएको पुल सेक्टर पोखराले जनाएको छ।

साथै २०७६ पुसमा नै निर्माण सम्पन्न गर्नेगरी निर्माण सम्झौता भएको सेती नदी पुल वामनया पथ याम्दी, सेती नदी पुल तिकलाङ मुसेटुडा पावरहाउस र सेती नदी पुल कोत्रेबजार कास्की गरी ३ वटा पुल निर्माणको काम अहिलेसम्म ८५ प्रतिशत मात्रै सम्पन्न भएको छ। यो तीनवटा पुल निर्माणको लागत क्रमश: १२ करोड १५ लाख, १२ करोड ८९ लाख र  १३ करोड ८१ लाख रूपैयाँ रहेको छ।

यसैगरी कालिगण्डकी नदी पुल, अधिघाट बर्दले स्याङजा र कालिगण्डकी नदी पुल, कृष्णगण्डकी ४ बासटारफ स्याङ्जा र यम्घा पाल्पाको काम २०७७ मंसिरमा सम्पन्न गर्नेगरी क्रमश: २५ करोड १७ लाख र २२ करोड ६९ लाख रूपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो। तर यो पुल निर्माणमा अहिलेसम्म ४० प्रतिशत मात्रै काम भएको छ।

यसैगरी पुल सेक्टर पोखरा अन्तर्गत नै काम भइरहेको कालिगण्डकी नदी पुल, पुट्टारघाट तनहुँ र पाल्लाको भने ५५ प्रतिशत काम सम्पन्न भएको छ। २०७८ असारमा काम सम्पन्न गर्नेगरी यो पुल निर्माणका लागि २०७४ मंसिरमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो। यो पुलको लागत २२ करोड ३० लाख रूपैयाँ रहेको छ। 


प्रकाशित : शुक्रबार, चैत २४ २०७९०४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend