आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सौर्य ऊर्जाबाट उत्पादित १० मेगावाट विद्युत् परीक्षणका लागि राष्ट्रिय प्रसारण लाइनमा जोडियो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २३ २०७९
सौर्य ऊर्जाबाट उत्पादित १० मेगावाट विद्युत् परीक्षणका लागि राष्ट्रिय प्रसारण लाइनमा जोडियो

सोलार विद्युत् परियोजनाबाट उत्पादन गरेको विद्युत् थप १० मेगावाट उत्पादन अन्तिम चरणमा रहेको छ।

नेपालगञ्ज- बाँकेको खजुरामा सौर्य ऊर्जाबाट १० मेगावाट विद्युत् उत्पादन भएको छ। उक्त विद्युत् राष्ट्रिय प्रसारण लाइनमा आजदेखि परीक्षणका लागि जोडिएको रेनरगो डेभलपर्स प्रालिका नेपाल प्रमुख शुभम गुप्ताले जानकारी दिए।

प्रालिका खजुरा गाउँपालिका-८ रनियापुरस्थित घियागाउँमा सोलार विद्युत् परियोजनाबाट उत्पादन गरेको विद्युत् थप १० मेगावाट उत्पादन अन्तिम चरणमा रहेको उनले बताए।

‘हामीले विद्युत् कोहलपुर सबस्टेशनमा जोडेका छौँ, दुई दिनपछि मात्रै वितरण हुन्छ’, गुप्ताले भने। तेत्तीस केभी विद्युत् कोहलपुर सबस्टेसनमा जोडिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कोहलपुरले जनाएको छ। सोलार विद्युत् परियोजनाको निर्माण गत वर्षदेखि सुरु भएको थियो।

उक्त ३३ केभी प्रसारण लाइन बैजनाथ-६, कोहलपुर-३, कोहलपुर-४, बेलनपुरवा, कोहलपुर-६ रझेना, कोहलपुर-८, गोल्छा, कोहलपुर-१० मन्नापुर नहर हुँदै निर्माण भई चटार हुँदै कोहलपुर सबस्टेसनसम्म परीक्षण गरिने ट्रान्समिटर सुपरभाइजर लीलाधर चापागाईँले बताए।

रनियापुरस्थित घियागाउँमा सोलार विद्युत् परियोजनाबाट उत्पादन भएको विद्युत् परीक्षण भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कोहलपुरका प्रमुख सुरज रेग्मीले बताए। 

गर्मी समय सुरु भएसँगै हुने विद्युत् समस्या केही समाधान हुने उनको भनाइ छ। ‘अब गर्मी बढ्यो, यतिबेला अलि बढी विद्युत् चाहिन्छ’, उनले भने। सो सोलारबाट विद्युत् उत्पादन हुन एक अर्ब रूपैयाँ खर्च भएको छ। थप १० मेगावाटका लागि पनि एक अर्ब रूपैयाँ खर्च हुने कम्पनीले जनाएको छ।

गोल्यान समूह र रेनरगो डेभलपर्स प्रालिको मुख्य लगानी रहेको पियोर इनर्जी लिमिटेडले उक्त उत्पादन गरेको हो।


प्रकाशित : बिहीबार , चैत २३ २०७९१२:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend