आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

अरुण तेस्रो मुआब्जा विवाद : छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २३ २०७९
अरुण तेस्रो मुआब्जा विवाद : छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो

विसं २०४६ मा मुआब्जा वितरण भएको तर २०५१/५२ मा नापी हुँदा सरकारी स्वमित्वमा लगत कट्टा हुनुपर्नेमा व्यक्तिको नाममा भएपछि विसं २०६६/६७ मा लगत कट्टा हुदाँको छुट जग्गाको मुआब्जा दिइने भएको हो।

सङ्खुवासभा- सङ्खुवासभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग छयाङ्कुटी-दिदिङ सडकखण्डको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको छ। 

छयाङ्कुटी-दिदिङ २४ किमी प्रवेशमार्गको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको हो। आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कुमार वीरेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले अरुण तेस्रो छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

विसं २०४६ मा मुआब्जा वितरण भएको तर २०५१/५२ मा नापी हुँदा सरकारी स्वमित्वमा लगत कट्टा हुनुपर्नेमा व्यक्तिको नाममा भएपछि विसं २०६६/६७ मा लगत कट्टा हुदाँको छुट जग्गाको मुआब्जा दिइने भएको हो। छुट जग्गाको मुआब्जा दिन १५ दिने सूचनासमेत प्रकाशन गरिसकिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए।  

पन्ध्र दिने सूचना प्रकाशनपछि मुआब्जा निर्धारण समितिको बैठकले मूल्य तोकेपछि मुआब्जा वितरण सुरु हुने बताइएको छ। प्रवेशमार्गको ‘एलाइमेन्ट चेन्ज’ हुँदा कतिपय मुआब्जा नै नलिएका व्यक्तिको जग्गाबाट समेत सडक खनिएको थियो। छुट भएको चार सय ५१ रोपनी जग्गाको मुआब्जा दिइने मुआब्जा निर्धारण समितिका संयोजक सहायक प्रजिअ मोहनमणि घिमिरेले बताए। 

मुआब्जा निर्धारण समितिको प्रतिवेदनका आधारमा विसं २०७८ चैत १७ गतेको मन्त्रिपरिषद् बैठकले छुट जग्गाको मुआब्जा दिने निर्णय गरेको थियो। छ्याङ्कुटीबाट विद्युतगृह पुखुवासम्मको छुट जग्गाको मुआब्जा नपाएको भन्दै स्थानीयले पटक-पटक अवरोध गर्दै आइरहेका छन्।

अरुण तेस्रोे आयोजनाको करिब ६५ प्रतिशत काम सम्पन्न भइसक्दा पनि प्रवेशमार्गको मुआब्जा विवाद अझै समाधान हुन सकेको छैन।

सङ्खुवासभाको मकालु गाउँपालिका-५ फ्याक्सिन्दामा बाँधस्थल निर्माणधीन छ भने चिचिला गाउँपालिका-३ पुखुवामा विद्युतगृह निर्माण भइरहेको छ। नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम भारतीय सतलज कम्पनी (एसजेभिएन)ले गरिरहेको छ। आयोजनाको कुल लागत एक खर्ब चार अर्ब रूपैयाँ हुने अनुमान गरिएको छ। रासस


प्रकाशित : बिहीबार , चैत २३ २०७९१२:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend