काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी चैत्र २८ र २९ गते हुने ५७औँ वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने पहल सुरु गरेका छन्।
महासंघको वरिष्ठ उपाध्यक्षमा तीन जना आकांक्षी रहेका छन्। ढकाल आगामी साधारणसभाबाट स्वतः अध्यक्ष बन्दै छन्। बुधबार काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालयमा वरिष्ठ उपाध्यक्षका तीनजना आकांक्षी उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठलाई एकै ठाउँमा राखेर ढकालले सर्वसम्मत नेतृत्वको पहल गरेका हुन्।
उनले भने, 'महासंघलाई सबै उद्योगी व्यवसायीहरूको साझा प्लेटफर्म बनाउनुपर्छ भन्ने मेरो धारणा हो। त्यसैले मैले महासंघमा सकेसम्म सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने परम्परा बसालौँ भन्ने गरेको छु। यसै शिलशिलामा महासंघका ७ वटै प्रदेशको निर्वाचन सकिएको छ र, सबै प्रदेशमा अधिकांश पदहरूमा सर्वसम्मत नेतृत्व निर्वाचित पनि भएका छन्। यसले महासंघमा राम्रो संस्कारको पनि विकास गरेको छ। यसै शिलशिलामा महासंघको केन्द्रको नेतृत्व पनि सर्वसम्मत हुनुपर्छ भनेर मैले पहल गरेको हो।'
उनले अहिले मुलुकको अर्थतन्त्र र व्यवसायीहरू समस्यामा रहेको बताउँदै यस्तो अवस्थामा निजी क्षेत्रबीच एकता र सहमतिको झनै ठूलो महत्व रहने बताए।
'हामी एक भयौ भने मात्र निजी क्षेत्र बलियो हुन्छ। हाम्रो महत्व बढ्छ। हाम्रा माग सम्बोधन गराउन सकिन्छ। अहिलेको अवस्थामा झन हामी एक हुनुको विकल्प छैन,' उनले भने।
उनले भने, 'निजी क्षेत्रलाई चौतर्फी संकटले घेरिरहेको अवस्थामा हामी बिभाजन नहौऔँ। एकता र सहकार्यबाट समाधान खोजौँ। मैले त अहिलेको विधानमा रहेको तीनवर्षे कार्यकालको व्यवस्थालाई दुईवर्षमा झारेर अहिलेको दुई कार्यकालमै तीनैजना आकांक्षीहरूलाई मिलाउन सकिन्छ भनिरहेको छु। यसमा तपाईहरूको साथ र सहयोग अपेक्षा गरेको छु।'