आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

साइपालमा दुईसय १६ मेगावाटको जलविद्युत् निर्माण हुँदै, ४१ अर्ब ६४ करोड लागत अनुमान

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २१ २०७९
साइपालमा दुईसय १६ मेगावाटको जलविद्युत् निर्माण हुँदै, ४१ अर्ब ६४ करोड लागत अनुमान

आयोजना निर्माण हुने ठाउँ इंगल्दारर र सेती खोलाको वरिपरी ५८ दशमलव १५ हेक्टर वन नोक्सान हुनेछ।

बझाङ- साइपाल गाउँपालिका-४ धुली क्षेत्रमा समृद्धि इनर्जी लिमिटेडले दुईसय १६ मेगावाटको जलविद्युत् परियोजना निर्माण गर्ने तयारी गरेको छ।

‘बझाङ माथिल्लो सेती जलविद्युत् आयोजना’ निर्माणका लागि कम्पनीले वातावरणीय प्रभाव मूल्यांकनको (ईआइए) सार्वजनिक गरी रामुखोलामा बन्ने विद्युत्‌गृह र सेती-इंगल्दारको दोभानमा बाँध बन्ने ठाउँमा प्रारम्भिक परीक्षणका काम गरिरहेको छ।

आयोजना संयोजक विश्वनाथ कँडेलका अनुसार अहिले सुरूवाती काम भइरहेको छ। 'आयोजनाअन्तर्गत वातावरण प्रभाव मूल्यांकनको मस्यौदामाथि सार्वजनिक सुनुवाइ, पानीको सुरूङमार्गका लागि माटो, ढुंगा परीक्षणका साथै अन्य प्रारम्भिक काम भइरहेको छ', उनले भने। 

प्रारम्भिक अध्ययनका लागि आयोजनास्थल र साइपाल गाउँपालिका सडक सञ्जालमा नजोडिएको हुँदा परीक्षण गर्ने सामग्री तथा उपकरण पनि हेलिकप्टरमार्फत् ढुवानी गरेर काम गरिरहेको छ। 

जलविद्युत् आयोजना साइपाल-४ धुलीको सेती नदी र इंगल्दारर खोलाको संगमबाट करिब एकसय ५० मिटर तल सेती नदीमा ३९ मिटर लामो र १३ दशमलव चार मिटर उचाइको बाँध बनाइ सुरूङमार्फत् विद्युतगृहमा पानी पठाउने र विद्युत् निकाल्ने कम्पनीका इञ्जिनियर सुधीर देवकोटाले बताए। देवकोटाका अनुसार धुलीमा ईआइएबारे सार्वजनिक सुनुवाइ गरेपछि कम्पनीले हाल बाँधस्थल र विद्युत्गृहस्थलमा नियमित अध्ययन गरिरहेको छ।

स्थानीयवासीद्वारा स्वागत

आफ्नो ठाउँमा जलविद्युत् आयोजना बन्ने भएपछि स्थानीय उत्साहित भएका छन्। जिल्लाको सबैभन्दा अग्लो ठाउँमा ठूलो विद्युत् बनेपछि सबै पूर्वाधारमासमेत विकास हुने भन्दै उत्साहित भएका हुन्। धुलीका कपिल बोहराका अनुसार आयोजनाले साइपालको समृद्धि, विकास र जनताको जीवनस्तर सुधार हुने अपेक्षा स्थानीयवासीले गरेका छन्। 

'ठूलो जलविद्युत् बन्नु भनेको विकासको मूल फुट्नुजस्तै हो,' बोहराले भने, 'यति ठूलो आयोजना बनेपछि सडक बन्छ, भौतिक पूर्वाधार पनि बन्छन्। स्थानीयवासीलाई रोजगारी मिल्छ। जमिनको पनि उचित मूल्य पाइन्छ।'

निर्माण कम्पनीका अनुसार बझाङ माथिल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि ४१ अर्ब ६४ करोड ६० लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ। जसमा ७० प्रतिशत अर्थात् २९ अर्ब निर्माण कम्पनीले विभिन्न बैंकमार्फत् लगानी जुटाउनेछ भने ३० प्रतिशत अर्थात् १२ अर्ब रूपैयाँ सर्वसाधारणको हुनेछ। कम्पनीका अनुसार विसं २०९० सम्ममा आयोजनाको निर्माण पूरा भएर बिजुली उत्पादन हुनेछ। 

वन कति मासिन्छ?

आयोजना निर्माण हुने ठाउँ इंगल्दारर र सेती खोलाको वरिपरी ५८ दशमलव १५ हेक्टर वन नोक्सान हुनेछ। निर्माण कम्पनीका इन्जिनियर सञ्जिव बुढाथोकीका अनुसार सामुदायिक २८ दशमलव ८० सरकारी र १२ दशमलव ५५ सामुदायिक वन गरी ४१ दशमलव २५ हेक्टर वन स्थायी संरचनाका लागि मासिनेछ।

एक दशमलव ४० हेक्टर सरकारी र १५ दशमलव ४० सामुदायिक वन गरी १६ दशमलव ८० हेक्टर अस्थायी संरचनाका लागि वन मासिने बुढाथोकीले बताए। परियोजना निर्माणका क्रममा मासिने रूख बिरूवाको सट्टामा ५४ हजार बिरूवा वरिपरि रोपिने कम्पनीले जनाएको छ। धुलीमा ईआइए सार्वजनिक गर्दै बुढाथोकीले भन्नुभयो, 'वन नियमावली २०७९ अनुसार क्षति पुग्ने वन क्षेत्रको सट्टा ५३ हजार ६ सय ७० बिरूवा निर्माण कम्पनीले लगाउने र संरक्षण गर्नेछ।'

वातावरणीय प्रभाव अभिवृद्धि तथा विभिन्न सीप विकासका तालिमका लागि २३ लाख ९० हजार र प्रभाव न्यूनीकरणका लागि दुई करोड १० लाख रूपैयाँ विनियोजन गरेको उनले बताए। रासस


प्रकाशित : मंगलबार, चैत २१ २०७९०८:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend