सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

यो वर्ष पनि बर्सातमा काठमाडौंमा नआउने भयो मेलम्चीको पानी

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १९ २०७९
images
यो वर्ष पनि बर्सातमा काठमाडौंमा नआउने भयो मेलम्चीको पानी
मेलम्ची। फाइल तस्बिर

तीन वर्ष पहिले मेलम्चीमा गएको ठूलो बाढीका कारण क्षति भएको संरचना पुनःनिर्माणका लागि कुनै निर्णय नहुँदा यो वर्ष पनि हिउँदपछि मात्रै मेलम्चीको पानी आउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। बर्खा सुरु भएपछि बन्द गर्नुपर्ने अवस्था छ।

images
images

काठमाडौं- तीन वर्षदेखि बर्सेनि हिउँदको समयमा काठमाडौं ल्याइएको मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै आउने भएको छ। वर्षामा समेत पानी ल्याउने गरी तयारी अघि बढेको छैन।

images
images
images

तीन वर्ष पहिले मेलम्चीमा गएको ठूलो बाढीका कारण क्षति भएको संरचना पुनःनिर्माणका लागि कुनै निर्णय नहुँदा यो वर्ष पनि हिउँदपछि मात्रै मेलम्चीको पानी आउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। गत वर्षजस्तै यस वर्ष पनि बर्खा सुरु भएपछि बन्द गर्नुपर्ने अवस्था रहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। 

images
images

वर्षाको समयमा सञ्चालनका लागि केही गर्न सकिएको छैन। केही साना संरचना थपेर बाह्रै महिना चलाउन सकिन्छ कि भनेर डिजाइन गरिएको भए पनि निर्णय हुन नसकेर काम हुन नसकेको उनले बताए।

images
images

वैकल्पिक प्रणालीको गेट नम्बर १ मा केही साना संरचना राख्न सकिएमा वर्षायाममा पनि चलाउन सकिने देखिएको आयोजनाले जनाएको छ। संरचना थप गरेर वर्षामा सञ्चालनका लागि डिजाइन फाइनल भए पनि त्यसको मूल्यांकन गरेर बजेट व्यवस्थापन भएपछि मात्रै ठेक्का लगाइने उनको भनाइ छ। हेडवक्रस पूरै क्षति भएको हुँदा मर्मत मात्रै गरेर काम हुनसक्ने अवस्था छैन।

आयोजनास्थलभन्दा माथिल्लो भागमा अझै पनि पहिरोको जोखिम छ। हेडवक्रस पहिले भएको ठाउँमा बनाउने हो भने त्यसको रोकथामको काम पहिले गर्नुपर्ने उनले बताए। 

विसं २०७८ असारमा आयोजनाको निर्माण थोरै मात्रै बाँकी हुँदा बाढीले अम्बाथानस्थित आयोजनास्थलमा ठूलो क्षति गराएको थियो। केही दिन पहिले मात्रै सुरुङ बन्द गरिएकाले त्यहाँ क्षति पुग्न नपाएपछि हेडवक्रसलगायत त्यहाँका अरु भौतिक संरचनामा क्षति पुगेको थियो। हेडवक्रस सम्पन्न नभएकाले त्यतिबेला अस्थायी बाँधमार्फत पानी पथान्तरण गरिएको थियो। 

दुई वर्ष पहिलेको बाँकी काम अहिलेसम्म पूरा भएको छैन। त्यतिबेला गेटको फ्रेम जडान भइसकेर त्यसको प्यानल जोड्न बाँकी थियो। फ्रेम जोड्ने ठाउँ नै क्षति भएकाले थप काम हुन नसकेको सूचना अधिकारी पन्तले बताए।

अहिले हेडवक्रस पुनःनिर्माण गर्नुपर्नेछ। हेडवक्रस कस्तो बनाउने भन्नेमा नै त्यसको लागत फरक हुने उनले बताए। पहिलेको जस्तो बनाउन झण्डै एक अर्ब रूपैयाँ लाग्ने देखिएको छ। 

हेडवक्रस कस्तो र कहिलेसम्म बनाउने भन्ने नीतिगत निर्णय हुनुपर्ने भएपनि अहिलेसम्म छलफल नै नभएको सूचना अधिकारी पन्तले बताए। दातृ निकाय एशियाली विकास बैंकले संरचनामा पुगेको क्षतिका विषयमा अध्ययन गरिसकेको र अध्ययन प्रतिवेदन खानेपानी मन्त्रालयमा दिएपछि निष्कर्षका आधारमा निर्णय हुनसक्ने उनको भनाइ छ।

'एडीबीबाट निष्कर्ष आएपछि नै सरकारले पुनःनिर्माणका लागि निर्णय गर्नसक्छ', उनले भने। मेलम्चीको पानी काठमाडौंमा गत मङ्सिरदेखि पुनःवितरण सुरु गरिएको थियो। रासस 


प्रकाशित : आइतबार, चैत १९ २०७९१०:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend