सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

पूर्व-पश्चिम राजमार्ग : कसरी भइरहेको छ स्तरोन्नतिको काम?

शनिबार, चैत १८ २०७९
पूर्व-पश्चिम राजमार्ग : कसरी भइरहेको छ स्तरोन्नतिको काम?

कमला-कञ्चनपुर खण्डमा करिब १६ अर्ब लागतमा ठेक्का सम्झौता हुने चरणमा छ भने काँकडभिट्टा-लौकही सडकमा ३५ अर्बको लागत अनुमान गरिएको छ। 

काठमाडौं- पूर्व-पश्चिम राजमार्ग स्तरोन्नतिको काम धमाधम भइरहेको छ। पूरै खण्डमा एकै पटक गर्न राज्यको स्राेत-साधनले नभ्याउने भएका कारण खण्ड-खण्डमा विभाजन गरेर काम भइरहेको सडक विभागका महानिर्देशक शुशीलबाबु ढकालले जानकारी दिएका छन्। 

महानिर्देशक ढकालका अनुसार अहिले नारायणगढ-बुटवल सडकखण्डमा स्तरोन्नतिको काम भइरहेको छ। यसैगरी कमला-कञ्चनपुर (सिराहा-सप्तरी) को ८७ किलोमिटर सडकको पनि काम भइरहेको छ।

काँकडभिट्टा-लौकही ९५ किलोमिटरको ठेक्का सम्झौता प्रक्रियाको अन्तिम चरणमा छ। कमला-ढल्केवगरबाट पथलैया १ सय ३० किलोमिटर खण्डको डिजाइन अन्तिम चरणमा पुगेको छ। पथलैयाबाट हेटाैँडा-नारायणगढ सडक पनि डिजाइनको चरणमा छ। बुटवलबाट गोरुसिंहे ठेक्का लाग्ने तयारीमा रहेको महानिर्देशक ढकालले बताए। चनोटबाट पश्चिमको हकमा भने विस्तृत सम्भाव्यता अध्ययन भइरहेको उनले जानकारी दिए। समग्रमा करिब ६६ अर्ब लागतको ठेक्का सम्झौता भइ काम भइरहेको छ।

करिब १७ अर्ब लागतमा बुटवल-नारायणगढ खण्डमा काम भइरहेको पनि उनले जानकारी दिए। कमला-कञ्चनपुर खण्डमा करिब १६ अर्ब लागतमा ठेक्का सम्झौता हुने चरणमा छ भने काँकडभिट्टा-लौकही सडकमा ३५ अर्बको लागत अनुमान गरिएको छ। उनका अनुसार समग्रमा प्रतिकिलोमिटर ४० करोड रुपैयाँको लागतमा यो सडकखण्डको स्तराेन्नति गरिँदैछ। 

सरकारले पूर्व-पश्चिम राजमार्ग एसियाली राजमार्गको मापदण्डमा विस्तारको काम अघि बढाएको छ। विभिन्न खण्डमा कतै विस्तार अघि बढिसकेको छ भने कतै विस्तारको तयारी अघि बढेको छ। विसं २०७५ मा सो सडक निर्माण सुरु भएको थियो।


प्रकाशित : शनिबार, चैत १८ २०७९१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend