सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

हिमाली उत्पादनको प्रशोधन र ब्रान्डिङमा बढ्दै चासो, आयआर्जनमा जोडिँदै महिला

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १५ २०७९
images
हिमाली उत्पादनको प्रशोधन र ब्रान्डिङमा बढ्दै चासो, आयआर्जनमा जोडिँदै महिला

स्थानीय उत्पादन प्रशोधन तथा ब्रान्डिङमा स्थानीय पालिकाले पनि जोड दिँदै विभिन्न तालिम दिन थालेका छन्।

images
images

गण्डकी- हिमालपारिको जिल्ला मुस्ताङ कृषि उत्पादनका धेरै सम्भावनायुक्त जिल्ला हो। यहाँ उत्पादन हुने स्याउ, खुपार्नी, फापर, उवा, आलुदेखि जिम्बुलगायतका वस्तुको बजारमा निकै माग हुने गरेको छ।

images
images
images

समुद्री सतहबाट दुई हजार पाँच सय मिटरभन्दा माथि उत्पादन हुने यहाँका हरेक फलफूल, अन्न तथा जडीबुटी स्वास्थ्यवर्द्धक एवं बहुपोषणयुक्त मानिन्छ। विगतमा यहाँका उत्पादनले बजार नपाउँदा गाउँमै कुहिएर फाल्नुपरेको वास्तविकतामा स्थानीय जागरुकतासँगै गर्न थालिएको तिनीहरूको प्रशोधन तथा प्याकेजिङ यतिखेर मुस्ताङ्गीका लागि बरदान सावित भएको छ।

images
images

स्थानीय उत्पादन प्रशोधन तथा ब्रान्डिङमा स्थानीय पालिकाले पनि जोड दिँदै विभिन्न तालिम दिन थालेका छन्। स्थानीय उत्पादनको प्याकेजिङ तथा ब्रान्डिङका कारण यहाँका स्थानीयवासी आयआर्जजमा जोडिएको कुच्छपतोरङ्गा महिला लघु उद्यम समूह घरपझोङ्ग गाउँपालिका-५ का अध्यक्ष श्यामु थकालीले बताए।

images
images

‘प्याकेजिङ तथा ब्रान्डिङ नहुँदा स्याउ, खुर्पानीजस्ता फलफूल कुहिएर फाल्नुपर्ने अवस्था थियो’, उनले भने, ‘अहिले भने यहाँ हुने गरेका हरेक उत्पादनलाई सुकाएर प्याकिङ तथा कतिपय जुस बनाएर बजारमा पठाउने गरेका छौँ।’ मुस्ताङमा आउँदा पर्यटकले यहाँका उत्पादनलाई कोसेलीस्वरुप लैजाने गरेको बताउँदै उनले बजारको कुनै समस्या नरहेको बताए।

उत्पादनको ब्रान्डिङसँगै स्थानीय महिला आयआर्जनमा जोडिएको बताउँदै उनले आफूहरूको समूहमा १४ जना आबद्ध भएको बताए। उत्पादन प्रशोधनका लागि गाउँपालिकाले पाँचदिने तालिम दिएको बताउँदै थकालीले त्यसयता फापरको सागको धुलो, झिलिङ्गा आदि तयार गरी बजारमा पठाउने गरेको बताए।

ब्रान्डिङ र प्याकेजिङ नहुँदा अन्य ठाउँको उत्पादन पनि मुस्ताङको भनेर बिक्री गर्ने गरेको पाइएपछि गाउँपालिकाले यहाँको उत्पादनलाई ब्रान्डिङ गर्न थालेको स्थानीयवासी बताउँछन्। मुस्ताङको आलुको पहिचान जोगाउन घरपझोंग गाउँपालिकाले आलु ब्रान्डिङ गर्न थालेको छ। गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/८० का लागि यहाँका पाँचवटै वडामा उत्पादित आलुको ब्रान्डिङ तथा प्याकेजिङ सुरु गरेको हो।

स्याउका बगैँचामा आलु लगाएर यहाँका स्थानीयले स्याउ र आलु दुवैको उत्पादन लिने गरेका छन्। स्याउ, खुर्पानीजस्ता वस्तु सुकाएर प्याकिङ गर्नुका साथै यिनीहरूको जुस बनाएर पठाउने गरिएको बताउने अर्का स्थानीयवासी वित्ती थकाली प्रशोधनले उत्पादित वस्तु कुहिएर जाने समस्या हटेको बताउँछन्। पछिल्लो समयमा यहाँको फापरको पिठो, सिस्नुको धुलोलगायतका वस्तुको बजारमा निकै माग हुने गरेको उनले बताए।

मुस्ताङमा आउने जो-कोही पर्यटकले यहाँ तयार गरिएका जुस, जाम, अचार, क्यान्डी, सुकुटी आदिलाई कोसेलीका रूपमा लैजाने गरेको उनले बताए। उत्पादन प्रशोधनले स्थानीयलाई आयआर्जनमा जोडेको भुग्मोर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कमला लालचन बताउँछन्। आफूले संस्थागतरूपमा प्रयास अघि बढाएको बताउँदै उनले सात वर्षअघिदेखि संस्था दर्ता गरी यसमा लागिएको बताए।

हिमाली उत्पादनको मौलिकता एवं यहाँको पहिचानलाई कायम राख्दै स्थानीयलाई आयआर्जनसँग जोड्न उत्पादनको ब्रान्डिङमा गाउँपालिकाले जोड दिएको घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन बताउँछन्। पछिल्लो समयमा स्थानीयको जागरुकतासमेत बढ्दै गएको उल्लेख गर्दै उनले यसले आफूहरूलाई थप उत्साहित बनाएको बताए।

मुस्ताङवासी वर्षौँदेखि नै अतिथिदेवो भवःको मन्त्रलाई आत्मसात गर्दै आएको बताउनुहुने जिल्ला समन्वय समिति प्रमुख माया गुरुङले यहाँका स्थानीय उत्पादन प्रशोधन गर्दै कोसेलीका रूपमा पठाउन सक्रियता बढेको बताए। मुस्ताङको आफ्नै पर्यटकीय विशष्टिता रहेको र यहाँ हुने उत्पादनको डिजिटल बजार विस्तारका लागि पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले फागुनको अन्तिम साता स्थानीयलाई बजारीकरण सम्बन्धी तालिम दिएको अध्यक्ष कमला गिरीले जानकारी दिए।

‘मुस्ताङमा हुने उत्पादनको बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्यका साथ हामीले तालिम दिएका हौँ’, उनले भने, ‘भौगोलिक विविधतासँगै यहाँ हुने उत्पादन पनि मुस्ताङको विशिष्टता हो।’ रासस


प्रकाशित : बुधबार, चैत १५ २०७९०६:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend