सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

दुई वर्षमा १४ प्रतिशत प्रगति : बिजुलीबजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १४ २०७९
दुई वर्षमा १४ प्रतिशत प्रगति : बिजुलीबजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी

विसं २०७८ जेठमा एक वर्षमा सम्पन्न गर्ने गरी सो सडक निर्माणका लागि सम्झौता भएको थियो।

काठमाडौं- निर्माण सुरू भएको दुई वर्ष बित्न लाग्दासमेत प्रगति न्यून रहेको बिजुलीबजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी अघि बढाइएको छ।

सडक वारपार गर्न बनाइएको पुलमुनिको सडक निर्माण सुरू भएको दुई वर्षमा प्रगति जम्मा १४ प्रतिशत मात्रै छ।

निर्माणमा ढिलाइ भएको कारण देखाउँदै निर्माण व्यवसायीको घरमा सूचना टाँस्नाका साथै ठेक्का तोड्न केही समय दिइएको काठमाडौं उपत्यका विकास प्राधिकरणका इन्जिनियर सज्जन कुँवरले बताए। 'निर्माण कम्पनीको कामको मूल्यांकन भइरहेको छ,' उनले भने, 'मूल्यांकन सकिएपछि नै ठेक्का तोडिनेछ।' 

विसं २०७८ जेठमा एक वर्षमा सम्पन्न गर्ने गरी सो सडक निर्माणका लागि सम्झौता भएको थियो।

वारिपारि दुवैतर्फ पुलमुनिको भागमा ढलान गर्ने गरी ठेक्का भए पनि काम सम्पन्न नभएकाले गत जेठमा तीन महिनाका लागि अवधि थप भएको इन्जिनियर कुँवरले बताए। 'तीन महिनामा पनि काम राम्रो हुन नसकेपछि अवधि थप नभएकाले ठेक्का तोड्न प्रक्रिया अघि बढाइएको छ,' उनले भने, 'अहिलेसम्म काम राम्रो भइरहेको छैन। व्यावसायीले अहिलेसम्म काम नै नगरेको पाइएकाले ठेक्का तोड्न लागिएको हो।'

निर्माण कम्पनीले काम नगरेकाले कालोसूचीमा राख्न सूचना पनि निकालिएको इन्जिनियर कुँवरले बताए। पुलमुनि दुवैतर्फ काम गर्नेगरी ठेक्का सम्झौता गरिएकामा वडा नं २९ को बानेश्वरतर्फ स्थानीयवासीले खोला सार्न नदिने भनेकाले काम नसकिएको उनले जानकारी दिए। स्थानीयवासीबाट अवरोध र निर्माण व्यवसायीले पनि काम नगरेकाले निर्माण अलपत्र नै रहेको छ।

बबरमहलतर्फ भने ग्राभेल गरेर ढलान गर्नुपर्ने भए पनि काम भएको छैन। बाटो खुलाइसकेको भए पनि थप काम अघि नबढेकाले यो ठेक्का तोडिसकेपछि नयाँ ठेक्काबाट निर्माण अघि बढाइने इन्जिनियर कुँवरले जानकारी दिए। सो सडकको निर्माण सक्सेस कन्स्ट्रक्सन एण्ड बिल्डर प्राइभेट लिमिटेडलाई दिइएको थियो। 

धोबीखोला करिडोर निर्माण गर्दा ठाउँठाउँमा पुल निर्माण हुँदासँगै पुलमुनि सडक खुलाइएको थियो। क्रसिङको काम गर्ने यी पुलमुनिको सडक वर्षामा पानी जमेर नियमित सञ्चालन हुन कठिन भए पनि अरु समयमा मुख्य सडकको चाप कम गरिरहेका छन्। धोबीखोला पुलमा फरक फरक रंग लगाइएको छ। फरक रंगका आधारमा ठाउँको समेत नाम रहन गएको छ। त्यसअघि हनुमानस्थानमा सिम्रिक पुल, मैतीदेवीमा सेतो पुलका साथै त्यहाँभन्दा माथि चवहिलसम्म रातो पुल, कालो पुल, पहेँलो पुल (पहिलेको भत्केको पुल) र बैजनी पुल निर्माण भएर पुलमुनिका सडक समेत सञ्चालनमा छन्। रासस


प्रकाशित : मंगलबार, चैत १४ २०७९०७:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend