सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

बेनीमा ५० करोड लागतमा ८ नदी नियन्त्रण योजना सञ्चालन, कहाँ-कहाँ हुँदैछ काम?

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत ९ २०७९
बेनीमा ५० करोड लागतमा ८ नदी नियन्त्रण योजना सञ्चालन, कहाँ-कहाँ हुँदैछ काम?

परियोजनाका प्रमुख विदुर श्रेष्ठले नदी कटानको उच्च जोखिममा रहेको बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न आठ प्याकेजमा काम भइरहेको जानकारी दिए।

म्याग्दी- सदरमुकाम बेनीमा यस वर्ष कटान र बाढी नियन्त्रण गर्न ५० करोड रूपैयाँ लागतमा ८ योजना सञ्चालन भएका छन्।

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनीलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले यसपाली बेनी र आसपासका क्षेत्रमा करिब ५० करोड रूपैयाँ लागतमा नदी नियन्त्रण योजना कार्यान्वयन भएको जनाएको छ।

परियोजनाका प्रमुख विदुर श्रेष्ठले नदी कटानको उच्च जोखिममा रहेको बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न आठ प्याकेजमा काम भइरहेको जानकारी दिए।

‘एक वटा गत वर्षको र सात यस वर्षकामध्ये छ प्याकेजको ठेक्का सम्झौता भएर काम सुरु भइसकेको छ’, उनले भने, ‘म्याग्दी नदी किनारमा तीन र कालीगण्डकीमा पाँच ठाउँमा कटान नियन्त्रण गर्ने संरचना निर्माण गर्न लागिएको हो।’

नौ करोड ४५ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको रौताह-बीएनबी कन्ट्रक्सन जेभीले कालीगण्डकी किनारमा एकसय ६४ मिटर लामो र ८ मिटर अग्लो काउन्टर फोर्ट प्रविधिको पक्की पर्खाल निर्माण गरिरहेको छ। सो ठेक्कामार्फत गत वर्ष कालीपुलको कालीगण्डकी किनारमा ८० मिटर पक्की र मंगलाघाटको म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोजिट पर्खाल निर्माण भएको थियो। 

मंगलाघाटस्थित म्याग्दी नदीको किनारमा दुई प्याकेजमा दुईसय ६२ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल बनाउन पाँच करोड ७७ लाख रूपैयाँमा सुप्रिम कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको परियोजनाका इन्जिनियर कृष्ण विश्वकर्माले जानकारी दिए।

बेनी नगरपालिकाको वडा नं २ स्थित बेनी-बागलुङ सडकको भसभसे पहिरो र म्याग्दी नदी कटान नियन्त्रणका लागि ७५ मिटर लामो कम्पोजिट पर्खाल बनाउन दुई करोड ३० लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको हिमालयन कन्ट्रक्सनले तीव्रताका साथ काम गरिरहेको छ।

पर्वतको जलजला गाउँपालिका-३ वारीबेनीस्थित कालीगण्डकी किनारमा ८० मिटर पर्खाल बनाउन तीन करोड २० लाख रूपैयाँ लागत अनुमान गरिएकामा ठेक्का सम्झौताको प्रक्रियामा छ। बेनी नगरपालिका-९ स्थित राहुघाट नदी किनारमा ९० मिटर लामो पर्खाल बनाउन भाग्यलक्ष्मी बीआरटीले दुई करोड ६८ लाख रूपैयाँमा ठेक्का लिएको छ। 

जलजलाको बगरफाँटमा कालीगण्डकी किनारमा ८५ मिटर लामो पर्खाल बनाउन तीन करोड २० लाख रूपैयाँमा ठेक्का लिएको माछापुच्छ्रे निर्माण सेवाले पनि काम गरिरहेको छ। कालीगण्डकी र राहुघाट नदीको दोभानस्थित जलजला-२ को राममन्दिरमा पक्की पर्खाल बनाउन माछापुच्छ्रे निर्माण सेवाले चार करोड ३२ लाख रूपैयाँमा ठेक्का लिएको छ। 

मंगलाघाटका ठेकेदारले केही दिनमा कार्यक्षेत्रमा आउने तयारी गरेको र अन्य ठाउँको ठेक्का लिएका निर्माण कम्पनीले बर्खाअघि नै सम्पन्न गर्ने लक्ष्यसहित मजदुर र उपकरण परिचालन गरिएको जनाएका छन्। रातिको समयमा पनि काम गरिरहेका छन्। 

योजनालाई छिटो, छरितो र गुणस्तरीय बनाउन परियोजनाका प्राविधिकको निगरानीमा काम भइरहेको छ। बेनीका नगर प्रमुख सुरत केसीले नदी नियन्त्रण योजनालाई महत्व र प्राथमिकता दिएर अनुगमन, सहजीकरण र निगरानी गरिएको बताए। रासस 


प्रकाशित : बिहीबार , चैत ९ २०७९१०:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend