सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

हिउँद सकिएसँगै मनाङमा थालियो पूर्वाधार निर्माणका काम

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत ८ २०७९
हिउँद सकिएसँगै मनाङमा थालियो पूर्वाधार निर्माणका काम

हिउँदमा हिमापात कम भए पनि अत्यधिक चिसोका कारण रोकिएका विकास निर्माणका काम अहिले सुरू भएको छ।

मनाङ- हिउँद सकिएसँगै हिमाली जिल्ला मनाङमा पूर्वाधार निर्माणका कार्य गर्न थालिएको छ। चिसो बढेसँगै रोकिएका विकास निर्माणका कार्य थालिएको पूर्वाधार कार्यालयले जनाएको छ। 
 
हिउँदमा हिमापात कम भए पनि अत्यधिक चिसोका कारण रोकिएका विकास निर्माणका काम अहिले सुरू भएको पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले जानकारी दिए। चिसोका कारण गत वर्ष निरन्तरको वर्षाले क्षति पुर्‍याएका भौतिक संरचना निर्माणका कार्य रोकिएका थिए। 
 
विशेषगरी माथिल्लो मनाङको सडक, पुल, हाइड्रो लगायतका विकास निर्माणका कार्य रोकिएकामा अहिले कामले निरन्तरता पाएको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले बताए।

‘चिसोका कारण रोकिएका कामले निरन्तरता पाएको छ, हिमापात कम भए पनि चिसोले रोकिएका काम अहिले निन्तर भइरहेको छ, सदरमुकाम चामे, नासों गाउँपालिका क्षेत्रमा केही कार्य निर्माण भइरहेको थियो, तर ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा विकास निर्माण तथा पूर्वाधारको कार्य पूर्ण रुपमा ठप्प थियो’, उनले भने।
 
जिल्लाका चामे, नासों, नार्पाभूमि र ङिस्याङ गाउँपालिकामा विकास निर्माणको काम भइरहेको प्रमुख इन्जिनियर विष्टले बताए। ‘हिउँदमा चिसोले माथिल्लो मनाङतर्फको पूर्वाधार निर्माणका काम गर्न सकिँदैन, अहिले सुरूवात भएको छ, यहाँको काम वर्षमा जम्माजम्मी तीन महिना मात्रै गर्न पाइन्छ’, विष्टले भने।
 
सडक निर्माणको कामअन्तर्गत रिटर्निङ वाल लगाउने, नाला निर्माण, सडक सम्याउने लगायतका कार्य भइरहेको उनले जानकारी दिए। चिसोले रोकिएका काम अहिले वर्षायाम सुरू हुनु अगावै केही सहज बनाउने उद्देश्यले तीव्रताका साथ काम भइरहेको उनले बताए।
 
मनाङको मेरुदण्डका रुपमा रहेको चामे-बेँसीसहर सडकखण्डको निर्माण कार्य पनि मौसम अनुकूल भएपछि कामले तीव्रता पाएको उनले बताए। उक्त सडक खण्डको निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत वार्षिक रुपमा बजेट विनियोजन हुँदै आएको छ। यहाँको सहज यातायातका लागि सरकारले विशेषरुपमा सडक निर्माण तथा विकास निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ। 
  
सडक खण्डअन्तर्गतको जोखिम क्षेत्रको मर्मतसम्भारका लागि छ/छ करोड रूपैयाँमा नाना कन्सल्टेन्सीले ठेक्का लिएको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ। डुम्रे-बेँसीसहर-चामे सडकखण्डको पक्की र दीर्घकालीन बनाउन संघ सरकारले ६० करोड रूपैयाँ विनियोजन गरेको छ।

आगामी पाँच वर्षको अवधिमा डुम्रे-बेँसीसहर-चामे सडकखण्डलाई चौडा, कालोपत्र, पक्की नालासहित सुरक्षित बनाउने योजनाअनुसार बजेट विनियोजन भएको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ। रासस 


प्रकाशित : बुधबार, चैत ८ २०७९१०:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend