आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

कञ्चनपुर : खेलाडी उत्पादन निरन्तर, मैदान निर्माण अलपत्र

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत ८ २०७९
images
कञ्चनपुर : खेलाडी उत्पादन निरन्तर, मैदान निर्माण अलपत्र

दुई वर्षअघि एक करोड रकम क्रिकेट मैदानका लागि आए पनि त्यहाँ माटो भरानबाहेक अरु काम अघि बढ्न सकेको छैन।

images
images

महेन्द्रनगर- कञ्चनपुर क्रिकेटको इतिहास नियाल्ने हो भने, विगतदेखि अहिलेसम्म क्रिकेटका परिचित खेलाडी उत्पादनको हब भए पनि यहाँ खेल संरचनाको अवस्था भने दयनीय छ।

images
images
images

नेपाली क्रिकेटका परिचित नाम विनोद भण्डारी, प्रदीप ऐरी, दीपेन्द्रसिंह ऐरीदेखि भीम सार्कीको गृह जिल्ला कञ्चनपुरमा क्रिकेटको क्रेज ग्रामीणस्तरसम्म रहे पनि यहाँ खेल मैदानस्तरीय बनाउने विषय भने प्राथमिकतामा परेको छैन।

images
images

दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्ड हल परिसरमा आधुनिक क्रिकेट मैदान निर्माण थालनी गरिए पनि सो कार्य अहिले अलपत्र छ। अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा राष्ट्रिय खेलकुद परिषद्ले रकम विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थालिएको थियो। मैदानमा निर्माणको पहिलो चरणमा माटो भरान र ‘चेन्जिङ रुम’ मा ३९ लाख रूपैयाँ खर्च भएको थियो। त्यसपछि सोही आर्थिक वर्षमा ३३ लाख रूपैयाँको माटो भरानसमेत भयो।

images
images

दुई वर्षअघि एक करोड रकम क्रिकेट मैदानका लागि आए पनि त्यहाँ माटो भरानबाहेक अरु काम अघि बढ्न सकेको छैन। सोही निर्माणस्थलमा केही वर्षअघि जिल्ला खेलकुद विकास समितिले माछापालनका लागि जग्गा दिँदा अहिले सो क्षेत्र कुरुप बनाएर छाडिएको छ।

'क्रिकेट मैदानका लागि आएको रकमले माछा पोखरी पुर्नुपरेको छ', क्रिकेटका एक सिनियर खेलाडीले भने, 'हचुवाका भरमा खेलकुदको जग्गा अनावश्यक भाडामा दिँदा समस्या भएको छ।' पछिल्लो समय यु-१९ को राष्ट्रिय टिममा पनि कञ्चनपुरबाट सन्दीप जोरा, हेमन्त धामी, आकाश चन्द र मिलन बोहरा छन्।

कञ्चनपुरमा झण्डै डेढ दशक क्रिकेटको स्वयंसेवक प्रशिक्षकका रुपमा प्रशिक्षण गराएका वीरेन्द्र शाहीले कञ्चनपुरलाई क्रिकेटको भूमिभन्दा फरक नपर्ने बताउँछन्। 'विगतदेखि नै यहाँका खेलाडी राष्ट्रिय टिममा परेर अन्तर्राष्ट्रियस्तरमा आफ्नो परिचय बनाउँदै आएकै छन्', हाल सुर्खेतमा प्रशिक्षण गराइरहेका प्रशिक्षक शाहीले भने, 'यहाँ हरेक समय क्रिकेटका गतिविधि तथा आयोजना प्रसस्त भइरहेका हुन्छन्।'

यहाँस्थित खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले प्रदेश सरकारको रातो किताबमा क्रिकेट मैदानका लागि रकम राखिएको बताए। 'प्रदेशको मन्त्रिमण्डलले पूर्णताः पाएपछि यहाँ बजेट आउने कुरो छ', उनले भने, 'यहाँ २०६६ सालमा छैटौँ राष्ट्रिय हुँदा क्रिकेट मैदान बनेको थियो।'

यता सुदूरपश्चिम प्रदेश सरकारको पहलमा भने कञ्चनपुरको महेन्द्रनगरमा २६ करोड रूपैयाँको लागतमा बहुउद्देश्यीय कभर्ड हल बन्ने तयारी छ। यस क्षेत्रबाट निर्वाचित प्रदेशसभाका सदस्य एवं पुर्व प्रदेशमन्त्री प्रकाश रावलको पहलमा यहाँ सो कभर्ड हल निर्माणको सुरुआतका लागि आठ करोड रूपैयाँ बजेट विनियोजन भएको छ।

'कभर्ड हलको डीपीआरमा समस्या आएपछि संशोधनको प्रक्रियामा छ', प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री रावलले भने, 'यस चालु आर्थिक वर्षमा ठेक्का भएर काम भने सुरू भइसक्छ।' उनले उक्त हल निर्माण भए यहाँ खेलकुद गतिविधिमा अझ बढी बढावा मिल्नेमा आशावादी रहेको बताए।

कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष वीरेन्द्र चन्दले चालु आवमा क्रिकेट मैदानका लागि ५० लाख रूपैयाँ बजेट विनियोजन भएको बताए। 'राष्ट्रिय खेलकुद परिषद्बाट सो रकम विनियोजन भएको हो', उनले भने, 'यो माटो भरानको काम पुनः होला।' उनले यहाँ राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालनका बेला ‘टर्प पिच’ नभएको बताए। 

'छैटौँ राष्ट्रियका बेला क्रिकेट मैदान बने पनि त्यसको संरक्षण नुहँदा त्यहाँ फुटबल, हक्कीदेखि मर्निङवाकसम्म हुन थाले', उनले भने, 'क्रिकेट संघलाई संरक्षणका लागि मैदान दिन खेलकुद समिति मञ्जुर भएन।' रासस 


प्रकाशित : बुधबार, चैत ८ २०७९०९:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend